काठमाडौं महानगरपालिकाले अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामाथि डोजर चलाएको भोलिपल्टै नयाँ बानेश्वरको युएफओले पसलको सिसामा एउटा सूचना टाँस्यो, जसमा लेखिएको थियो- 'कामनपाको सूचना अनुसरण गर्दै अन्डरग्राउन्ड पार्किङको व्यवस्था हुँदैछ, धन्यवाद!'
उता राहदानी विभागले पनि महानगरको कारबाहीपछि आफ्नो बेसमेन्ट सेवाग्राहीहरूलाई पार्किङ निम्ति खुला गर्ने निर्णय गर्यो। त्यसअघि विभागका सेवाग्राहीहरू बाहिर सार्वजनिक स्थल वा सडक किनार मोटरसाइकल पार्किङ गर्थे।
नक्साविपरीतका संरचना हटाउने महानगर अभियानको प्रशंसा गरिरहेका धेरैले युएफओ र राहदानी विभागको निर्णयलाई स्वागत गरे। सबैले यसरी सहयोग गरे डोजर चलाउनुपर्ने स्थिति नआउने कतिपयको भनाइ थियो।
काठमाडौंका मेयर बालेन शाहले नै युएफओ र राहदानी विभागको सूचनाको फोटो राख्दै शुक्रबार सामाजिक सञ्जालमा लेखे- 'चाहेको यत्ति हो, जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस्।'
त्यसयता महानगर टोलीले न्यूरोड, मखन, वसन्तपुर लगायत काठमाडौंका विभिन्न स्थानका डिपार्टमेन्ट स्टोर निरीक्षण गरिसकेको छ। मखनस्थित सुरज आर्केड, विशालबजार लगायत कतिपय स्टोरलाई चौबीस घन्टाभित्र बेसमेन्ट खाली गराउन निर्देशन दिएको छ।
महानगरले निर्देशन दिएका ती स्टोरमा अहिले के भइरहेको छ? ती निर्देशन पालना भए कि भएनन्?
महानगर टोली पुगेका अधिकांश ठाउँको स्थिति हेर्न हामी त्यहाँ गएका छौं।
सबभन्दा पहिला हामी नयाँबानेश्वरको युएफओ पुग्यौं। मूलढोकाको सिसाबाहिर सेतो ब्यानरमा रातो अक्षरले लेखिएको सूचना जस्ताको तस्तै छ। तल बेसमेन्टमा पसल हटाउने तयारी भइरहेको छ। हामी जाँदा सामानहरू असरल्ल छरिएका थिए। कोही फर्निचरका सामान निकाल्दै थिए भने कोही प्याक गर्दै थिए। कतिपय दोकानदारले आफ्ना सामान ठूल्ठूला बोरामा कोच्दै थिए।
यहाँ युएफओले बेसमेन्टसहित दुई तला भाडामा लिएको छ। बेसमेन्टमा पहिले केटाकेटी र महिलाहरूका कपडा लगायत सामग्री थिए। अहिले बेसमेन्टको त्यही पसल हटाउने काम भइरहेको युएफओका व्यवस्थापक सुमन प्रधानले जानकारी दिए।
'हामीले पसल चलाएको सात वर्ष भइसक्यो,' उनले भने, 'जहाँ पसल चलाइरहेका थियौं, त्यो नक्साविपरीत रहेछ। थाहा पाउनासाथ महानगरले डोजर चलाउनुभन्दा पहिले नै आफ्नो सामान आफैं निकाल्नु राम्रो हुन्छ भनेर हटाएका हौं।'
अल्फाबिटामा डोजर चलेको भोलिपल्टै सूचना टाँसेर काम सुरू गरेको उनले बताए।
रातारात सामान हटाउनुपर्दा र सबै सामान एकैठाउँ थुपार्नुपर्दा पसल भद्रगोल भए पनि नियम सबैले पालना गर्नुपर्ने प्रधान बताउँछन्। चाडबाडको मुखमा परेकाले व्यवसायमा असर परेको पनि उनले बताए। तर ढिलोचाँडो सबैले नियम पालना गर्नुपर्ने भएकाले दु:ख नलागेको उनको भनाइ छ।
'हामीले पसल खाली गर्ने काम गरिसक्यौं,' उनले भने, 'बाँकी काम घरबेटीको हो। उहाँहरूले पार्किङको काम कहिलेसम्म भ्याउनुहुन्छ, त्यो थाहा छैन। इञ्जिनियर आएर काम गरिरहेको देख्छु, छिट्टै पार्किङ खुल्छ होला।'
बानेश्वरको युएफओबाट हामी पुग्यौं न्यूरोड, रञ्जना गल्लीको बिरा कम्प्लेक्स जहाँ सोमबार महानगर टोलीले निरीक्षण गरेको थियो।
यहाँ भर्याङ ओर्लिने ठाउँमा राखिएको 'अन्डरग्राउन्ड होलसेल' ब्यानर हटाइएको छ। पहिलेझैं सामानहरू डिस्प्लेमा छैनन्। पहिले डिस्प्लेमा राखिएका सबै सामान प्याक गरिएको बिक्रेताहरूले बताए। उनीहरूले महानगरले बिनासूचना जबर्जस्ती सामान हटाउन लगाएको गुनासो भने गरे।
'उहाँहरू (महानगर) घरबेटीलाई सूचना दिइसकेको छ, घरबेटीसँग कुरा भइसकेको छ भन्नुहुन्छ तर सामान हाम्रो अनि घरबेटीसँग मात्र कुरा गरेर हुन्छ त?' बिरा कम्प्लेक्सका एक बिक्रेताले भने, 'आजको भोलि नै जा भनेर हामी यत्रा सामान लिएर कहाँ जाने? कम्तिमा ३५ दिनको सूचना त दिन सक्छ नि!'
बिरा कम्प्लेक्सले बेसमेन्टमा स्टोर राख्ने भनेर नक्सा पास गराएको तर पसल नै भाडामा लगाएको महानगरको भनाइ छ। व्यवसायीहरू भने यो कुरा मान्दैनन्। स्टोरको परिभाषा के हो भन्नेमै महानगर स्पष्ट नरहेको उनीहरू बताउँछन्।
'हामीले स्टोर केलाई भनिन्छ र स्टोर मान्ने आधार के हो भनेर महानगरलाई सोधेका थियौं। उहाँहरूसँग स्पष्ट व्याख्या छैन?' करिब १६ वर्षदेखि पसल चलाइरहेका जीवन संग्रौलाले सेतोपाटीसँग भने, 'हामीले स्टोरको अर्थ हेर्यौं। त्यसअनुरूप त हाम्रो पसल पनि स्टोर नै हो।'
'डिपार्टमेन्ट स्टोरलाई चाहिँ स्टोर भन्न मिल्ने तर हाम्रो पसललाई किन स्टोर भन्न नमिल्ने?' उनको प्रश्न छ।
महानगरको आग्रहमा सामानका डिस्प्ले हटाए पनि स्टोरको प्रस्ट परिभाषा बुझाइदिन महानगरसँग आग्रह गरेको संग्रौलाले बताए।
उनले अगाडि भने, 'विश्वव्यापी रूपमा जेलाई स्टोर भनिन्छ, त्योभन्दा हाम्रो पसल के कारणले भिन्न भयो? यो कुरा महानगरले प्रस्ट पार्नैपर्छ। नभए स्टोरकै लागि नक्सा पास गरिएको ठाउँबाट हामीलाई उठिबास लगाउनु अन्याय हो। हामी पनि आफ्नो पसललाई स्टोर नै भन्छौं।'
उता मखनस्थित सुरज आर्केडको बेसमेन्टमा हामीले एउटा मात्र सटर खुल्ला देख्यौं। त्यहाँ फर्निचरका सामान निकाल्ने काम हुँदै थियो। निरीक्षणका लागि खटिएका सुरज आर्केडका प्रबन्धक रन्जित झाले आफूहरू नक्साअनुरूप काम गरिरहेको बताए।
'नक्सामा जे छ, त्यहीअनुसार काम गरिरहेका छौं,' उनले भने, 'मूल सडकबाट बेसमेन्टमा आउने जुन फराकिलो भर्याङ छ, त्यो नक्सामा छैन। हामी त्यसलाई हटाउँछौं। नक्सामा पछाडि चारफुटे बाटो छ, त्यो बाटो खोल्छौं।'
नक्सामा बेसमेन्ट भनी उल्लेख भएकाले त्यसलाई आगामी दिनमा गोदामका रूपमा प्रयोग गरिने झाले बताए।
महानगरले भने सुरज आर्केडको बेसमेन्टलाई पार्किङ स्थलका रूपमा प्रयोग गराउन खोजिरहेको छ। इन्द्रचोकसँग जोडिएको मखन क्षेत्र एकदमै भीडभाड हुने व्यापार केन्द्र हो। यहाँ पार्किङको समस्या भएकाले सुरज आर्केडको बेसमेन्ट खोल्न सके केही हलुका हुने महानगरका अधिकारीहरूको मनसाय बुझिन्छ।
सुरज आर्केड रहेको २४ नम्बर वडाध्यक्ष विनोदकुमार राजभण्डारी यो ठाउँको सवारी व्यवस्थापन गर्न सुरज आर्केडको बेसमेन्टमा पार्किङ खोल्न पहल गर्नुपर्ने बताउँछन्।
महानगरले साँच्चिकै सुरज आर्केडको बेसमेन्टमा पार्किङ खोल्न चाहेको हो भने त्यो आफैंमा गैरकानुनी कदम हुने यहाँका व्यवसायी बताउँछन्। बेसमेन्टका लागि नक्सा पास गरिएको ठाउँमा पार्किङ खोल्नु पनि नक्साविपरीत काम हुने उनीहरूको भनाइ छ।
'नक्साअनुरूप भएन भनेर पसल हटाउन लगाउने अनि पसल हटाएर गाडी पार्किङ गराउनु त न्यायोचित भएन नि?' सुरज आर्केडका एक व्यवसायीले भने, 'नक्साविपरीत पार्किङ खोल्नु थियो त हामीलाई किन हटाएको? के मान्छेको जीविकाभन्दा पार्किङ ठूलो हो?'
न्यूरोडको विशालबजारमा भने महानगरको निर्देशनअनुरूप कुनै काम भएका छैनन्। महानगरले विशालबजारको नक्सा पेस गर्न २४ घन्टाको समय दिएको थियो। समय बितिसक्दा पनि विशालबजारले वडा र महानगरलाई नक्सा पेस नगरेको वडाध्यक्ष राजभण्डारीले जानकारी दिए।
'२४ घन्टाभित्र नक्सा त पेस भएन तर त्यो समयभित्रै विशालबजारको व्यवस्थापक पक्ष महानगरमा उपस्थित भयो,' उनले भने, 'घरको नक्सासहित अन्य कागजपत्र अख्तियारले लग्यो भनेका छन्। ढिलोचाँडो नक्सा हेरेर निर्णय गर्छौं।'
विशालबजारमा मूलगेटबाट छिर्नासाथ दायाँ र बायाँतर्फका संरचना अनधिकृत बनाइएको भन्दै महानगरले नक्सा खोजी गरेको राजभण्डारीले बताए।
'हामीले गणपति भवन र देब्रेतर्फ रहेको दुईतले भवनको नक्सा पास नगरी बनाएको भन्ने सूचना पाएका थियौं,' उनले भने, 'त्यसैले नक्सा हेर्न गएका थियौं। तर उहाँहरूले देखाउन सक्नुभएको छैन।'
न्यूरोडस्थित नबिल बैंकले भने आफ्नो बेसमेन्ट खाली गरिसकेको छ। महानगरले गत बुधबार नबिल बैंकको बेसमेन्टमा बनाइएका संरचना हटाउन निर्देशन दिएको थियो।
उता वसन्तपुर प्लाजामा रहेको 'नाइन्टी-नाइन' बजार बन्द गरिएको छ। गोदाम हुनुपर्ने ठाउँमा पसल चलाएको भन्दै महानगरले हटाउन निर्देशन दिएको थियो। त्यहाँ अहिले डोरी लगाएर भित्र छिर्न निषेध गरिएको छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी