उनीहरू बालाजुको सडक छेउमा पाल टाँगेर बस्दै आएका थिए। काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा ओगटेर बसेको भन्दै सोमबार पाल हटाइदिएपछि उनीहरूको बिचल्ली भएको छ।
मंगलबार बिहान हामी पुग्दा उनीहरू सडकछेउ खाना खाँदै थिए। नजिकै खाना पकाउन आगो बालेको देखिन्थ्यो जुन निभेको पनि थिएन। स-साना बच्चाहरू कोही थालमा खाना खाँदै थिए, कोही ठूला बाटामा। केही ओढ्नी-ओछ्याउनी पोको पार्न बाँकी थियो भने केही यत्तिकै भुइँमा छरपस्ट थिए।
उनीहरू सिलौटा बनाउने सिलिपकार समुदायका हुन्। करिब पाँच वर्षदेखि बालाजु आसपासका विभिन्न ठाउँमा यसैगरी अस्थायी रूपले बस्दै आएको उनीहरू बताउँछन्। सोमबार भने बिहानको खाना खाँदै गरेका बेला महानगरका नगर प्रहरी आएर पाल भत्काइदिनुका साथै मालमत्ता खोसेर आगो लगाइदिएको उनीहरूको भनाइ छ।
'हामी खाना खाँदै थियौं, प्रहरी आएर हाम्रो सामान निकाल्न थाल्यो,' ३० वर्षीया बढी सिलिपकारले भनिन्, 'खाना पनि खान पाएनौं। बच्चाहरू भोकभोकै भए। महानगरले हाम्रो ओत लाग्ने ठाउँ खोसिदियो।'
किन सार्वजनिक ठाउँमा पाल टाँगेर बसेको त भन्ने प्रश्नमा उनले भनिन्, 'हामी पनि कहाँ यसरी बस्न चाहन्छौं र, तर कोठा खोज्न जाँदा बच्चा धेरै देखेर घरबेटीहरूले कोठै दिँदैनन्। कसैले कोठा नदिएपछि हामी कता बस्ने? छ जना बच्चा छ, तिनीहरूलाई कता लिएर जानु?'
महानगरका नगर प्रहरीले आफूहरूको सामान फाल्नुका साथै ओढ्ने-ओछ्याउनीमा आगो लगाइदिएको उनको दाबी छ। सामानमा आगो लगाउँदा आफ्नो पाँच महिने बच्चालाई झिल्काले पोलेको उनले बताइन्।
'हामी आफ्नो सामान जोगाउनतिर लाग्यौं, बच्चा हेर्ने होसै भएन,' उनले भनिन्, 'त्यही बेला मेरो बच्चालाई आगोको झिल्काले पोलेछ।'
त्यही ठाउँ बस्ने १७ वर्षीया सजिता सिलिपकारले पनि महानगरका नगर प्रहरीले आफ्नो सामान जथाभाबी मिल्काएको र आगो लगाएको बताइन्।
'फोहोर जलाउने भन्दै आगो सल्काएर हाम्रो लत्ताकपडा र अरू धेरै सामान जलाइदियो। खाना पकाउन राखेको दाउरा पनि सबै जलाएर सक्काइदियो,' उनले भनिन्।
सजिताका अनुसार यहाँ करिब ५० जना बस्छन्। हरेक परिवारमा तीनदेखि छ जना बच्चा छन्। कतिपय बर्दियास्थित सीमावर्ति क्षेत्रबाट आएका छन् भने कोही भारतीय मूलका समेत छन्। धेरैजसो प्लास्टिक बाटाको व्यापार गर्छन्। दिनभर व्यापार गरेर गुजारा चलाउँदै आएको उनले बताइन्। बिक्रीका लागि भनेर साहुबाट ल्याएको प्लास्टिकका बाटासमेत महानगरले खोसेको उनको भनाइ छ।
'बर्दियामा बाढी आएर हाम्रो घरखेत डुबानमा परेपछि पेट पाल्न यता आएका हौ,' उनले भनिन्, 'यहाँ पनि बस्न पाएनौ भने अब हामी कहाँ जाने?'
आफूहरूलाई भारतीय भनेर धेरैले कोठा दिन नमान्ने गरेको र प्रहरीले पनि हेपेको ४२ वर्षीय रमेश सिलिपकारले बताए। 'हामीलाई भारतीय भनेर हेप्छन् तर हामी नेपालकै हो,' उनले भने।
हामीले यो घटनाबारे महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई सोधेका थियौं। उनले सार्वजनिक जग्गा मिचेर बसेकाले पाल हटाएको स्वीकार गरे पनि उनीहरूका सामान भने नजलाएको दाबी गरे।
'हामीले उहाँहरूको कुनै पनि सामान जलाएका छैनौं,' उनले भने, 'उहाँहरूले आफ्ना सामान आफैं लिनुभएको थियो। त्यहाँ फोहोरहरू जम्मा भएको थियो, हामीले ती फोहोर मात्र जलाएका हौं।'
बाटोछेउको सार्वजनिक जग्गा ओगटेर बसेको र स्थानीयलाई दुःख दिएको भन्ने गुनासो आएपछि आफूहरूले उक्त कारबाही गरेको पनि उनले बताए।