प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दाङ आउँदा विगतमा राजाको सवारी हुँदाको जस्तै अनुभूति भएको सर्वसाधारणले बताएका छन्।
प्रधानमन्त्री दाहाल हेलिकप्टरमामार्फत सवा दश बजेतिर दाङ तुलसीपुरस्थित बेलझुण्डी आइपुगेका थिए। नेपाल संस्कृत विश्व विद्यालयको १२ वर्षपछि भएको पाँचौं दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्न प्रचण्ड आउँदा दर्जनौं सुरक्षाकर्मी विश्वविद्यालय परिसरमा तैनाथ थिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी ठूलो संख्यामा परिचालन मात्रै गरिएका थिएनन् प्रधानमन्त्री मध्याह्न १२ बजेतिर खाना खान उपकुलपतिको निवासतर्फ लाग्दा तुलसीपुर – घोराही सडक खण्ड दश मिनेट बन्द नै गरिएको थियो।
सर्वसाधारण सडक खण्डमै रोकिनु परेको थियो। सुरक्षाकर्मीले पश्चिममा सक्राम खोला पुल पारि र पूर्वमा दुभरासमा आवतजावत रोकेका थिए। त्यतिखेर सुरक्षाकर्मीले कतिपयलाई पैदल जान बाध्य पारेका थिए। परिचय पत्र देखाउँदा समेत पत्रकारका सवारी पनि रोकिएका थिए।
‘यो प्रचण्ड गर्मीमा प्रचण्डको सवारी झनै पीडा थप्यो,’ सक्राम खोलावारि रोकिएका एक सर्वसाधारणले भनेका थिए, ‘यो त विगतको राजाको सवारीको झझल्को दिने जस्तै भयो।’
संस्कृत विश्व विद्यालयको दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्न आएका प्रधानमन्त्री दाहालले नेसंविकै आयुर्वेद चिकित्सालयको भवनमा आफ्नो पार्टीका अगुवा कार्यकर्तासँगको भेटघाट सकेर झन्डै डेढ सय मिटरको उपकुलपति निवासमा जाँदा दश मिनेट सडक खण्ड बन्द गरिएको थियो।
आफू सडकमा रोकिनु पर्दा अर्का एक जनाले यात्रुले–काठमाडौंजस्तो व्यस्त सडकमा राष्ट्रपतिको सवारी हुँदा त सर्वसाधारणलाई रोकिएन भने यस्तो खुला ठाउँमा किन तपाईंहरूले सडक बन्द गर्नु परेको हो भनेर सुरक्षाकर्मीसँग प्रतिवाद गरेका थिए।
सडकमा मात्रै हैन विश्वविद्यालय परिसर प्रवेश गर्दा पनि सवारी चेक उत्तिकै कडा थियो।
परिपत्र वा पास भएकाहरूले मात्रै प्रवेश पाएका थिए।
पत्रकारलाई परिचय पत्र देखाउँदा पनि सबै चेकजाँच गरिएको थियो।
'देशभित्रै गुणस्तरीय शिक्षामा हाम्रो जोड छ'
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास र प्रवर्द्धनका लागि जोड दिए।
उनले विश्वविद्यालय बीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको स्पष्ट पारे।
‘विश्वविद्यालयको अध्ययन/अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको छ,’ उनले भनेका थिए, ‘ नेपालकै दोस्रो ठूलो विश्वविद्यालय स्थापनाको उद्धेश्य अरूभन्दा फरक छ।’
संस्कृत भाषा प्राचीन भाषा मात्र नभई पाश्चात्य दर्शन र चिन्तनको अपार ज्ञान भण्डार रहेको दाहालले बताए।
विश्वविद्यालयका कार्य योजनालाई सघाउन सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्री दाहालले मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउन शिक्षा आवश्यक रहेको चर्चा गरेका थिए ।