नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी, दाङको सेवा आयोगमा प्रमुख दुई राजनीतिक दलका विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन्।
सुरूमा असार ३ गते आयोगको कार्यकक्षमा नेकपा एमाले निकट केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुन्डीको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको कमिटीले तालाबन्दी गरेको थियो। उसले विभिन्न ६ वटा मागहरू राख्दै तालाबन्दी गरेको हो। जसमा शैक्षिक क्यालेन्डर प्रकाशन गर्नुपर्ने, प्रोजेक्टरको माध्यमबाट पढाइ हुनुपर्ने, प्रयोगात्मक कक्षाहरूको गुणस्तर वृद्धि गरिनुपर्नेदेखि प्राचार्यको राजीनामा स्वीकृत गर्नुपर्ने जस्ता विषय मागका रूपमा प्रस्तुत गरिएका थिए।
क्याम्पस कमिटीका कार्यवहाक अध्यक्ष यादव भुसाल, उपाध्यक्ष खड्गबहादुर चन्द र सचिव सुमन ढुंगेलले ती मागसहितको विज्ञप्ति जारी गरी सेवा आयोगमा ताला लगाएका थिए।
त्यसको आठ दिनपछि असार ९ गते नेपाल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, दाङले पनि विभिन्न मागसहितको विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेको थियो।
नेविसंघका दाङ जिल्ला अध्यक्ष कुलराज पोखरेल र विश्वविद्यालय प्रतिनिधि केशव न्यौपानेले जारी गरेको विज्ञप्तिमा सेवा आयोगमा विज्ञ व्यक्तिको पदपूर्ति गर्नुपर्नेमा व्यक्तिवादी चिन्तन हावी भएको तथा विश्वविद्यालयलाई भर्ती केन्द्रका रूपमा प्रयोग गर्नु गलत भएको भन्दै त्यसको विरोध गरिएको छ।
विभिन्न विद्यार्थी संगठनले लगाएको ताला खोल्न तथा उत्पन्न समस्या समाधान गर्न कुनै पहल नभएकाले तत्काल समस्या समाधान गर्न माग पनि नेविसंघले गरेको छ।
यी प्रमुख संगठनले लगाएको तालाका कारण आइतबारदेखि हुने भनिएको शिक्षा आयोगको परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ।
सोही विषयलाई लिएर अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले परीक्षा रोकिनुको सम्पूर्ण दोष नेविसंघमाथि लगाउँदै त्यसको नतिजा राम्रो नहुने चेतावनी पूर्ण भाषासहित विज्ञप्ति जारी गरेका छन्। जबकि शिक्षा आयोगमा सबभन्दा पहिले बडालकै संगठनले तालाबन्दी गरेको थियो।
नेविसंघका एक विद्यार्थी नेताले बडालले जारी गरेको विज्ञप्ति आफैंमा मजाक भएको भन्दै खिल्ली उडाएका छन्।
'अनेरा स्ववियुको चरित्र दोहारो अर्थ लाग्ने भयो,' उनले भने, 'आफ्नो संगठनले ताला लगाएको नदेख्ने अनेरास्ववियुको नेतृत्वको भूमिका कपटयुक्त छ।'
उनले नेविसंघप्रति राजनीतिकभन्दा पनि धम्कीपूर्ण भाषा बोलेको प्रति आपत्ति पनि जनाए।
शिक्षा आयोगका किन ताला लागेको हो भन्ने विषयमा विश्वविद्यालयकै एक कर्मचारीले सबैलाई भागबण्डा चाहिएको टिप्पणी गरे।
'यी सबै संगठनहरूका नाटक मात्रै हुन्,' उनले भने, 'उनीहरूलाई आफूनिकटका मानिस भर्ती गर्नु छ र जागिर खुवाउनुभन्दा अर्को मक्सद छैन।'
जिल्लाका दलगत नेतृत्वको इशारामा विद्यार्थी संगठनका नेताहरूलाई उचालेर सेवा आयोगमा ताला लगाउने खेल भएको उनले दोषारोपण गरे।
'सबैले यसैगरी ताला लगाउँदै आफ्नाहरूलाई भर्ती गर्न दबाब दिँदै जाने हो भने विश्वविद्यालयको स्थिति भविष्यमा कस्तो होला। विश्वविद्यालय बदनाम मात्रै हुने छैन, बेलझुण्डी कि तालझुण्डी भन्ने गलत कुरा सर्वसाधारणमा प्रवाह भइरहेको छ,' उनले भने।
उनले अनेरा स्ववियुको केन्द्रीय नेतृत्वले आफैं दोहोरो चरित्र प्रदर्शन गरेको भन्दै वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरे।