लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ बुधबार हुने भएको छ।
बुधबार बिहान ८ बजेका लागि नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए।
मुख्यमन्त्रीको शपथग्रहण गर्नुअघि नै ११ वटै मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी चलिरहेको छ। मुख्यमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथग्रहण गर्ने तयारी चलिरहेको एमाले प्रमुख सचेतक तुलसी चौधरीले बताए।
तर नेकपा एमाले र नेपाली कांग्रेसबीच क-कसलाई मन्त्री बनाउने टुंगो लागिसकेको छैन।
कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफूहरू काठमाडौंमा पुगेको बताए। उनकाअनुसार सरकारमा कांग्रेसका तर्फबाट कसले नेतृत्व गर्ने भन्ने बारेमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल पछि मात्रै टुंगो लाग्नेछ।
‘सभापतिसँग कुराकानी गरेपछि लुम्बिनी सरकारमा कसको नेतृत्वमा जाने र क-कसलाई पठाउने भन्ने टुंगो लाग्छ। म काठमाडौंमा छु,’ उनले भने।
लुम्बिनीमा पहिले एमाले र त्यसपछि कांग्रेसले आधा-आधा समय सरकारको नेतृत्व गर्ने मौखिक सहमति भएको कांग्रेस नेता चौधरीले बताए।
‘अहिले भएको मौखिक सहमतिमा पहिले एमालेले र त्यसपछि कांग्रेसले आधा-आधा समय नेतृत्व गर्ने भन्ने छ,’ उनले भने, ‘हामी त्यहीअनुसार अगाडि बढ्ने छौं।’
उनले सुरूमा एमालेले पाँच जना र कांग्रेसले पाँच जना मन्त्रालय पाउने गरी सहमति भएको भए पनि साना दलहरूलाई पनि एक-एक मन्त्रालय दिनेबारे छलफल भएको बताए।
लुम्बिनी सरकारमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्रीहरू रहेको हुँदा अहिले पनि त्यो संख्या घटबढ नगरी त्यति नै मन्त्री बनाउने सल्लाह भएको पनि चौधरीले बताए।
कांग्रेसले मन्त्री चयनको मापदण्ड भने बनाएको छैन। माथिबाट जसलाई पठाउने भन्ने निर्देशन हुन्छ सोही अनुसार हुने चौधरीले बताए।
एमालेले पनि माथि कै निर्णयअनुसार मन्त्रिमण्डलमा पठाउने भएको छ।
एमाले प्रमुख सचेतक चौधरीले पनि मन्त्री चयनको लागि प्रदेशमा छुट्टै मापदण्ड नबनाइएको बताए। केन्द्रको निर्देशन अनुसार मन्त्रीहरू छनौट हुने उनले बताए।
‘सकभर भोलि नै ११ जना नै मन्त्रीहरूलाई शपथ गराउनु पर्छ भन्ने ढंगले दलहरूले आन्तरिक अभ्यास गरिरहेका छौं,’ उनले भने, ‘मन्त्रीमा पनि एमाले कांग्रेसले बराबरी भागबण्डा हुन्छ।’
त्यो सम्भव नभए दुई प्रमुख पार्टीबाट मात्रै भए पनि दुईदेखि चार जनासम्म मन्त्रीहरूलाई बुधबार शपथ गराउने तयारी गरिएको उनले बताए।
अन्तिम समयमा आएर संसदीय दलका नेता लीला गिरीलाई हटाइ उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएपछि एमाले भित्र असन्तुष्टि चुलिएको छ। यसले गर्दा पनि छलफलमा केही सकस भएको स्रोत बताउँछ।
साथै साना दलहरूलाई पनि दुई वटासम्म मन्त्री दिने सहमति भएको उनले बताए।
साना दलबाट को-को दल सरकारमा सहभागी हुन्छन् भन्ने प्रश्नमा एमाले सचेतक तुलसी चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीलाई एक-एक मन्त्रालय हुने गरी सरकारमा सहभागी हुने बताए।
लुम्बिनीमा एमाले र कांग्रेसले कति-कति समय सरकारको नेतृत्व गर्ने भन्ने कुरा पनि माथिकै लेगेसी अनुसार हुने उनले बताएका थिए।
‘कसले कति समय नेतृत्व गर्ने भन्ने कुरा पनि माथिकै लेगेसीको आधारमा हुने छ,’ उनले भने, ‘डेढ वर्ष वा दुई वर्ष एमालेले कति समय नेतृत्व भन्ने कुरा केन्द्रकै सहमतिमा हुनेछ।’
पछिल्लो असार १७ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा नयाँ सत्तासमीकरण निर्माण गर्ने सहमति पछि असार २० गते लुम्बिनी सरकारबाट एमाले बाहिरिएको थियो। त्यसपछि अहिलेका मुख्यमन्त्री आचार्यको नेतृत्वमा एमालेका पाँच मन्त्रीले राजीनामा बुझाएका थिए।
स्पष्ट अल्पमतमा परे पनि असार मसान्तका कारण केही समय रोकिएर नेकपा माओवादी केन्द्रका दलका नेता जोखबहादुर महराले साउन ६ गते पदबाट राजीनामा बुझाएका थिए।
त्यसपछि नेकपा एमालेका केन्द्रीय सदस्य तथा लम्बिनीका संसदीय दलका उपनेता आचार्य सोमबार बेलुकी मुख्यमन्त्री नियुक्त भएका हुन्। उनी लुम्बिनीका छैटौं मुख्यमन्त्री हुन्।
प्रदेशको सबै भन्दा ठूलो दल एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी कुल ५६ सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए।
५६ जनाको हस्ताक्षरसहित आचार्यले सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।
कांग्रेसका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रमुख सचेतक जन्मजय तिमिल्सिना, एमाले संसदीय दलका प्रमुख समेतक तुलसी चौधरीसहित प्रदेश प्रमुख कार्यालय पुगेका आचार्यले सोमबार अपराह्न ४ बजे मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। त्यसक्रममा एमाले संसदीय दलका नेता लीला गिरी भने अनुपस्थित थिए।
सोही आधारमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
लुम्बिनी प्रदेशसभा ८७ सदस्य छन्। मुख्यमन्त्री बन्न ४४ सांसद भए पुग्छ। योसँगै आचार्य लुम्बिनी प्रदेशको छैटौं मुख्यमन्त्री बनेका छन्। आचार्य गत निर्वाचनमा अर्घाखाँचीको निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित भएका थिए।
कुल १० वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४-४, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी (विभाजित हुनुअघि) ३-३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ जना र १ स्वतन्त्र गरी ८७ सांसद छन्।
प्रदेश सभामा रहेका १० दलमध्ये यतिखेर नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टी बाहेक सबै दल नयाँ गठबन्धनको पक्षमा देखिएका छन्।