नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले तीन वटा वामपन्थी दलका नेताहरुसँग एकताका लागि वार्ता भएको बताएका छन्।
शनिबार दिउँसो माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीनिकट शिक्षक संगठनबीच एकता घोषणा कार्यक्रमा प्रचण्डले राजनीतिक ध्रुविकरणको विषयमा भएको उक्त छलफल सकारात्मक भएको पनि बताएका छन्।
‘आज बिहान मात्रै एकताको सन्दर्भमा, राजनीतिक ध्रुविकरणकै सन्दर्भमा तीन वटा वामपन्थी पार्टीका नेताहरुसँग मेरो संवाद भएको थियो। बढो सकारात्मक संवाद भएको छ,' उनले भने।
अध्यक्ष प्रचण्ड को-को सँग छलफल भएको भन्ने विषय भने खुलाएनन्।
'ती हिजोका माओवादी धारसँग सम्बन्धित पनि हुनुहुन्थ्यो। त्यो भन्दा बाहिरका वामपन्थी समाजवादी धारसँग सम्बन्धित पनि हुनुहुन्थ्यो। उहाँहरु सबैको अब एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन भन्ने एक स्वर थियो,' प्रचण्डले भने।
उनले नेपालको वामपन्थी आन्दोलनको अगाडि, नेपालको लोकतान्त्रिक आन्दोलनको आवश्यकताको अगाडि वा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्ने र त्यसलाई परिमार्जन गर्नका निम्ति पनि एकताको विकल्प छैन भन्ने कुरामा सैद्धान्तिक सहमति भएको बताए।
'बिहानमात्रै तीन वटा राजनीतिक दलसँग एकताको कुरा हुनु सकारात्मक र अहिले दुई शिक्षक संगठन एकतावद्ध हुने घोषणा गर्नु यो संयोग मात्रै मलाई लाग्दैन। यो अहिले देशको लोकतान्त्रिक आन्दोलनको आवश्यकता हो,' उनले भने। (न्युज एजेन्सी नेपाल)