मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाप्रति कटाक्ष गरेका छन्।
पूर्वराजा पोखराबाट काठमाडौं आउँदा आइतबार स्वागत भएको विषयलाई राप्रपा र राप्रपा नेपालले आफूहरूले गरेको जस लिन खोजेकोमा प्रसाईंको आपत्ति छ।
राप्रपा र राप्रपा नेपालले सोमबार पदाधिकारी बैठक गरेर पूर्वराजाको स्वागत सफलतापूर्वक सकिएको र नवीन समझदारी गर्न दलहरूलाई अपिल गरेका थिए भने आन्दोलनका लागि संयुक्त मोर्चा बनाउन अपिल गरेका थिए।
‘२०७२ मा संविधान ल्याउँदा राप्रपा भन्ने पार्टी, त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको थिएन भने नि न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो,’ भक्तपुरस्थित निवासमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई ए हामीले गरेको, काठमाडौं महानगरमा गएर पैसा तिरेर हामीले गरेको, अनि चैत १ गतेदेखि आन्दोलन सुरू गरिहालौं, दुर्गा प्रसाई आउनुपर्यो हामीसँग मिल्नुपर्यो। उहाँहरूले मलाई गोठालोजस्तो पो सम्झनुभएको छ।’
यो पनि: राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना
२०६५ जेठ १५ गते नेपालमा गणतन्त्र आएको थियो।
फरक प्रसंगमा प्रसाईंले आफूले पाँच हजार जनालाई रोजगारी दिएको उल्लेख गर्दै आन्दोलनमा आउनुपर्यो भन्नेले कतिलाई रोजगारी दिएको छ भन्ने पनि प्रश्न गरे।
राप्रपा महामन्त्री धवल शम्शेर राणाले चैत १ गतेदेखि आन्दोलन गर्नुपर्ने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए।
‘म संगत गर्दा राजाको गर्छु, आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गर्छु, गोठालाहरूसँग सडकमा गएर नाटक देखाउँदिनँ,’ प्रसाईंले भने, ‘यो कुरा सबैलाई हेक्का रहोस्। म कसैको गोठालो होइन। राजाले पनि धैर्य भएर सोच्नुहोला। तपाईंले कलियुगमा दुर्गा प्रसाईंजत्तिको अर्जुन भेट्टाउनुहुन्न। तपाईंले सारथीहरू देखिसक्नुभयो। गणतन्त्रमा जाने भोज खाने, केपी शर्मा ओलीसँग फोन गर्ने, माहोल बन्यो भनेदेखि परिहाल्छ कि भनेर ढोक्सा थाप्ने।’
गणतन्त्र आएपछि राप्रपा पटक-पटक सरकारमा गएको थियो। पछिल्लो पटक २०७९ को चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वमा सरकार बन्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री बनेका थिए।
पूर्वराजालाई विगतमा अहिले र भविष्यमा पनि सचिवालयले सिध्याउने उनको भनाइ थियो।
‘होसियार हुनुस्, तपाईंको सचिवालय ठिक छैन,’ उनले भने, ‘प्रधानमन्त्री बन्नुपर्यो भने यो देशमा प्रधानमन्त्रीले बनाउने हो, राजाले होइन। मलाई केही लोभ पनि छैन।’
राप्रपाले पूर्वराजाको स्वागतमा जान भन्दै पूर्वनिर्धारित आमसभा नै स्थगित गरेको थियो। पूर्वराजाको स्वागतमा प्रसाईं, राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागी थिए।