अमेरिकाले साउदी अरेबियालाई करिब १४२ अर्ब डलर मूल्यको हतियार बिक्री गर्न सहमति गरेको छ।
मंगलबार साउदी अरबको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो मूल्य बराबरको हतियार बिक्री गर्ने सम्झौता गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ट्रम्प मंगलबारदेखि खाडी मुलुकहरू साउदी अरेबिया, कतार र युएई भ्रमणमा निस्किएका छन्।
सम्झौताअनुसार साउदी अरबलाई मिसाइल, क्षेप्यास्त्र, लडाकु विमान, समुद्री सुरक्षासँग सम्बन्धित हतियारहरू अमेरिकाले बेच्नेछ।
' यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो रक्षा सहयोग सम्झौता हो, जसले हाम्रो साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ,' ह्वाइट हाउसले विज्ञप्ती जारी गरी भनेको छ।
रोयटर्सका अनुसार लकहिड मार्टिन सी-१३० परिवहन विमान, मिसाइल र रडार बिक्री गर्ने अपेक्षा गरिएको छ। तर कुन-कुन हतियार साउदी अरबलाई बिक्री गर्ने हो भन्ने विषयमा ह्वाइट हाउसले खुलाएको छैन।
साउदी अरबले लकहिडको एफ-३५ लडाकु विमान खरिद गर्न वर्षौंदेखि चासो देखाएको छ। सम्झौतामा त्यो विमानबारे उल्लेख छ/छैन भन्ने पनि खुलिसकेको छैन।
सुत्रहरूले बैठकमा एफ-३५ बारे पनि छलफल भएको तर वाशिङ्टनले स्पष्ट जबाफ नदिएको भनेर रोयटर्सले जनाएको छ।
त्यो हतियार ९ वर्षदेखि इसराइलले प्रयोग गर्दै आएको छ। यदि ट्रम्पले मंगलबारको छलफलमा त्यसमा सहमति जनाएको भए साउदी अरेबिया इसराइलपछि मध्यपूर्वमा एफ-३५ सञ्चालन गर्ने दोस्रो देश बन्नेछ।
साउदी अरब अमेरिकी हतियारको प्रमुख ग्राहक हो। सन् हो। सन् २०१७ मा ट्रम्पले साउदीलाई ११० अर्ब डलरको बिक्री प्रस्ताव गरेका थिए। सन् २०१८ सम्म १४.५ अर्ब डलरको बिक्री भएको भनेर रोयटर्सले लेखेको छ।