प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
मंगलबारको प्रतिनिधि सभाको रोष्टमबाट खतिवडाले समिति सभापतिको पदबाट राजीनामाको घोषणा गरेका हुन्।
आफू एक इमान्दार जनप्रतिनिधि भएको पनि उनले बताए।
‘निजामती विधेयक (कुलिङ पिरियड) मा जुन दिन त्रुटि भएको बाहिर आएको थियो, त्यसै दिन मैले गाडीलगायत सुविधा बुझाइसकेको थिएँ,’ खतिवडाले भने, ‘२ वर्षे कुलिङ पिरियड राख्नुपर्छ भनेर सुरूदेखि नै मैले अडान लिएको थिएँ, समितिले पनि अडान लियो र समितिबाट पारित गरेर संसदमा पठाइएको थियो।’
विधेयक प्रतिवेदन लेख्ने क्रममा त्रुटि हुन पुगेको देखिएको उनले बताए। ‘मबाट र समितिबाट त्रुटि भएको होइन,’ उनले भने, ‘यस्ता त्रुटि अब अन्तिम हुनेछन् भन्ने विश्वास छ।’ विधेयकमाथि विशिष्ट श्रेणीका कर्मचारीको चलखेल भएको उनले बताए।
उनले यस विषयमा आफ्नोमात्र कि संसदकै यसमा त्रुटि रह्यो भन्ने प्रश्न पनि गरेका छन्। कुलिङ पिरियड २ वर्ष रहने समितिको मनसायअनुसार राष्ट्रिय सभाबाट पारित भएर आउनेमा आफू विश्वस्त रहेको उनले बताए।
कुलिङ पिरियडमा आफ्नो कुनै स्वार्थ नभएको र छानबिन समितिले पनि आफूलाई दोषी नठहर्याएको उनको भनाइ छ।
‘रामहरि खतिवडा दोषी भनेर किटान गरेको छैन तर किसुनजीबाट दीक्षित हो म। आजको दिनमा पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेरेको छु सभामुख महोदय,’ उनले भने, ‘राज्य व्यवस्था समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु सभामुख महोदय।’
संघीय निजामती सेवा विधेयकमा सरकारका उच्च पदस्थ कर्मचारीका लागि लागू हुने गरी राखिएको ‘कुलिङ पिरियड’ निष्प्रभावी हुने गरी समितिले प्रतिवेदन तयार पारेको थियो।
विधेयकमा त्रुटि भएको विषय सार्वजनिक भएपछि नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वमा छानबिन समिति गठन भएको थियो। उक्त समितिले सभापति खतिवडालाई राजनीतिक र नैतिक जिम्मेवार ठहर्याएको थियो।
‘प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेस भएको देखिँदा कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले उत्तरदायीपूर्ण भूमिका वहन गरेको देखिएन’, प्रतिवदेनमा भनिएको थियो।
परियार नेतृत्वको समितिलले कुलिङ पिरियडसँग सम्बन्धित विषयमा संघीय निजामती सेवा विधेयकको उपसमितिको मस्यौदादेखि नै विषयवस्तु र त्यससँग सम्बन्धित तादात्म्यता नमिलेर त्रुटि भएको उल्लेख गरेको थियो।
‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको उक्त विधेयकमा "कुलिड अफ पिरियड" राखे पक्षमा उपसमिति र समितिको बैठकमा सकारात्मक भूमिका रहेको भन्ने सदस्यहरूको भनाइ रहेको देखियो’, समितिको प्रतिवेदनमा भनिएको छ, ‘मिति २०८२ जेठ २ मा समितिको परिमार्जनसहित सर्वसम्मत पारित गरेको निर्णय र मस्यौदा प्रतिवेदनमा सभापतिको हस्ताक्षर भएको र परिमार्जित मस्यौदा प्रतिवेदन समितिका सदस्यहरूलाई देखाई छलफल गरी सभामा पेस गर्नु पर्नेमा सो नगरी निश्चितव्यक्तिहरूबीच अनौपचारिक बैठक बसी मिति २०८२।०२।१३ मा प्रतिवेदन पठाएको देखिँदा सभापतिको समन्वयकारी भूमिकामा कमी भएको देखियो।’
प्रतिवेदन सार्वजनिक हुँदा पनि खतिवडाले राजीनामा दिएका थिएनन्। पार्टीको निर्देशनअनुसार आफू अघि बढ्ने उनले बताउँदै आएका थिए। खतिवडाले राजीनामा दिनुपर्छ भन्ने विषय कांग्रेसभित्र पनि उठेको थियो। सभापति शेरबहादुर देउवाले मंगलबार बिहान पनि खतिवडालाई पदबाट राजीनामा दिन आग्रह गरेपछि खतिवडाले संसदबाटै राजीनामा दिएका हुन्।
कांग्रेसको हालैको पदाधिकारी बैठकमा पनि खतिवडाले राजीनामा दिनुपर्ने विषय उठेको थियो। नेता शेखर कोइरालाले पनि कुलिङ पिरियडमा सभापति खतिवडा र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूको कमजोरी रहेको बताएका थिए।
कुलिङ पिरियडमा त्रुटि भएको पाइएपछि नेकपा (एमाले) का सांसदहरूले खतिवडालाई सभापति पदमा बसिराख्न नमिल्ने बताएका थिए।