महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले गरिबीको रेखामुनि रहेकालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने प्रस्ताव राखेका छन्।
बुधबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्।
उनले हाल वितरण गरिरहेको तरिकाले सामाजिक सुरक्षा भत्ता दिँदा नेपालको आर्थिक स्थितिले धान्न नसक्ने बताए।
उनले उच्च पदस्थ व्यक्ति र उनीहरूका परिवारलाई सामाजिक सुरक्षा भत्ता किन चाहियो? भन्दै प्रश्न समेत गरे।
विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुन लागेको छिमेकी देश भारतले समेत मासिक ५ सय रुपैयाँ सामाजिक भत्ता दिने गरेको उनको भनाइ छ।
नेपालमा भने राजनीतिक दलहरूले आफ्नो फाइदाको लागि सामाजिक सुरक्षा भत्ता वृद्धिमा प्रतिस्पर्धा गर्ने गरेको उनले बताए।
उनले सामाजिक सुरक्षा भत्ता ४ हजार रुपैयाँको सट्टामा ६ हजार रुपैयाँ दिन पनि सकिने उल्लेख गर्दै तर उक्त भत्ता गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई मात्रै दिनुपर्ने बताए।
उनले भने, ‘नेपालमा २० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको छ। सामाजिक सुरक्षा भत्ता पहिला उसले भेट्नुपर्ने। विनोद चौधरीको आमालाई, बुबालाई किन सामाजिक सुरक्षा? मेरो आमा, बुबा, श्रीमतीलाई किन सामाजिक सुरक्षा भत्ता? सामाजिक सुरक्षाको बजेट हेर्नुहोस् त खराबमा छ। के नेपालले धान्न सक्ने हो? धान्न सक्ने आर्थिक स्थिति छ? खाली आफ्नो पार्टीको हकहितको लागि १ सयदेखि सुरू भयो। मेरो पार्टी आयो २ सय, तपाईंको पार्टी आयो ५ सय, अर्को पार्टी आयो १ हजार, अर्को आयो ४ हजार।’
उनले अगाडि भने, ‘नेपालको आर्थिक स्थितिले यो धान्न सक्दैन, सक्दैन, सक्दैन। छिमेकी देश भारतमा विश्वमा तेस्रो आर्थिक समृद्धिमा आइराखेको छ। उसले ५ सय रुपैयाँ दिन्छ, सामाजिक सुरक्षामा। तर म रुपैयाँ घटाउन भन्दिनँ, ४ हजार रुपैयाँ दिनुहुन्छ भने ६ हजार दिनुस्। तर २० प्रतिशत जो गरिबीमुनि छ, त्यसलाई दिनुस्।’
उनले नेपाल सरकारको बजेट र आर्थिक स्थितिले सामाजिक सुरक्षा धान्न मुस्किल पर्ने बताए।
हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता, लोपोन्मुख जाति, बाल पोषण, भत्ता लगायतका शीर्षकमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ। –न्युज एजेन्सी नेपाल