नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्ष्य गर्दै कुनै विचार र लक्ष्य नभएको पार्टी भन्ने टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभामा बोल्दै उनले कुनै विचार, राजनीति, कुनै लक्ष्य, त्याग, बलिदान, जेलनेल नभएका पार्टीको रूपमा रास्वपालाई चित्रण गरेका हुन्।
‘हामी समावेशिता, भौतिक पूर्वाधारका क्षेत्रमा धेरै ठाउँमा परिवर्तन छ। शिक्षा, स्वास्थ्य, मानव अधिकारका सूचकांक हरेक हेर्नुस्, परिवर्तन छ। पञ्चायतको ३०, बाँकी १५—१८ वर्ष यता परिवर्तन भएको छ। यो हामीले आत्मसाथ गर्नैपर्छ। तथ्यले पुष्टि गर्दछ। अहिलेकै अग्रज र नेताहरूले हो गर्ने हो तर फेरि प्रश्न छ, त्यसलाई हामीले कम आँक्नु हुँदैन,’ उनले भने।
हालै खुलेको पार्टीले १० वर्ष लडेर आएको पार्टी माओवादीलाई उछिन्ने ठाउँमा पुगेको उनले बताए।
‘दुई वटा पार्टीहरू सरकार बनेको छ। नेताहरूमाथि प्रश्न किन उठिरहेको छ? कुनै विचार छैन, राजनीति छैन, कुनै लक्ष्य छैन, त्याग छैन, बलिदान छैन। जेल, नेल कहीँ, युद्ध केही पनि बलिदान छैन कसरी यो भइरहेको छ? यो हाम्रो माथि प्रश्न हो। लोकतान्त्रिक गणतन्त्रमाथिको प्रश्न हो। हामीले यो बुझ्नुपर्दछ,’ उनले रास्वपालाई लक्ष्य गर्दै भने।
(न्युज एजेन्सी नेपाल)