राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन मिति तोक्न माग गर्दै उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शम्शेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएका छन्।
२०७८ मंसिरमा महाधिवेशन भएकोले त्यसको चार वर्ष २०८२ मंसिरभित्रै महाधिवेशन सुनिश्चित गरिनुपर्ने उनीहरूको भनाइ छ।
‘साझा, प्रजातान्त्रिक संस्थाको रूपमा पार्टीलाई सुचारू गर्न, पार्टी एकतालाई सर्वोपरी राखेर, समयमै महाधिवेशन सम्पन्न गर्नु पर्दछ,’ बुधबार अध्यक्ष लिङ्देनलाई पाण्डे र राणाले पठाएको पत्रमा भनिएको छ, ‘चार–चार वर्षको अन्तरालमा ताजा जनादेश प्राप्त गर्ने विधानको परिकल्पना अनुकूल महाधिवेशनको मिति तोक्न अब विलम्ब गर्न नहुने हामी सबैको एकमत छ। हामीबीच कुनै समस्या भए ती सबै महाधिवेशनबाट निर्क्योल भइ पार्टी सशक्त रूपमा अगाडि बढ्छ भन्नेमा हामी विश्वस्त छौं।’
राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा लिङ्देन पुन: दोहोरिन चाहन्छन् भने पाण्डे र राणा पनि अध्यक्षका आकांक्षी छन्।
साथै उनीहरूले ४० वर्ष मुनिका युवाहरूलाई गुण्डाको ट्याग भिराउने पूर्वाग्रही काम अध्यक्ष लिङ्देनबाट भएको उल्लेख गरेका छन्।
‘साउन २८ गते सम्पन्न राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनको क्रममा नेतृत्वबाटै कार्यकर्तालाई गुटगत स्वार्थबाट ‘तेरो र मेरो गर्ने’ गम्भीर गल्ती कमजोरी भएको सर्वत्र अनुभूत गरिएको छ। त्यति मात्र नभएर उद्घाटनको खुला सत्रमा सहभागी ४० वर्ष मुनिका युवाहरूलाई गुण्डाको ट्याग भिराउने पूर्वाग्रही कार्यबाट तमाम राष्ट्रवादीहरूको मन भाँचिएको छ,’ पत्रमा भनिएको छ।
महामन्त्री राणाले यसअघि अध्यक्ष लिङ्देनलाई पत्र पठाएर तत्काल केन्द्रीय कार्यसम्पादन समिति बैठक राख्न माग गरे पनि अध्यक्षले नराखेकोले दोस्रो पत्र लेख्नुपरेको उनीहरूको भनाइ छ।
उनीहरूले अध्यक्ष लिङ्देनलाई लेखको पत्रको बोधार्थ संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्ष पशुपतिशम्सेर जबरा र पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनीलाई पनि दिएका छन्।
यस्तो छ पत्र;
श्री अध्यक्षज्यू,
राष्ट्रिय प्रजातन्त्र पार्टी
केन्द्रीय कार्यालय, काठमाडौं ।
पार्टी एकता र पार्टीभित्र सबैलाई समेटेर अगाडि बढ्नुपर्छ भन्ने बुँदामा हामी प्रतिबद्ध छौं। एकतालाई बल पुर्याउन विधानको सीमाको सम्मान जरूरी छ। नेतृत्व त्यही बेला बलियो हुन्छ जब उसले विधानको परिधिमा रहेर काम गर्दछ। पार्टीभित्र यही कुराको अभाव देखिन थालेको छ, आफूलाई जो मन पर्दैन उसलाई हुकुमी शैलीमा हटाउने र अपमान गर्ने शैली कसैलाई स्वीकार्य हुँदैन।
यसबारे निर्वाचित महामन्त्री डा. धवलशम्सेर राणाले पार्टीमा मौलाएको स्वेच्छाचारीता, पार्टी एकता र पार्टी हित विपरीत विधान मिचेर नेताहरूलाई गरिएको कारबाही र निष्कासन लगायतका निर्णयबाट देशभरीका कार्यकर्ताहरू चिन्तित र सशंकित रहेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको गत साउन १८ गते ध्यानाकर्षण गर्नुभएको विदितै छ।
पार्टीभित्रका समस्याहरू समाधानको निमित्त अविलम्ब कार्यसम्पादन समितिको बैठक बोलाउन अनुरोध गर्दै महामन्त्री राणाले पत्र लेखेको दुई हप्ता बितिसक्दा पनि पार्टी अध्यक्षबाट कुनै प्रतिक्रिया प्राप्त भएन, समस्याहरू सम्बोधन हुन सकेन। जबकी पार्टीभित्रको प्रजातन्त्र, विधिवत सञ्चालन, परिचालन, एकता र भविष्यलाई लिएर देशव्यापी चिन्ता र चासो बढ्दो छ।
साउन २८ गते सम्पन्न राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनको क्रममा नेतृत्वबाटै कार्यकर्तालाई गुटगत स्वार्थबाट ‘तेरो र मेरो गर्ने’ गम्भीर गल्ती कमजोरी भएको सर्वत्र अनुभूत गरिएको छ। त्यति मात्र नभएर उद्घाटनको खुला सत्रमा सहभागी ४० वर्ष मुनिका युवाहरूलाई गुण्डाको ट्याग भिराउने पूर्वाग्रही कार्यबाट तमाम राष्ट्रवादीहरूको मन भाँचिएको छ।
संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्यका आदर्शप्रति प्रतिवद्ध भएर, व्यक्तिको देवत्वकरण हैन, राप्रपा जिन्दावादको उत्साहप्रद नारामा अभ्यस्त युवा उर्जालाई विरानो ठान्ने प्रवृत्तिले राष्ट्रवादी मनमा चिसो पसेको छ। यसैबीच पार्टी र संगठन भनेर रातोदिन खट्ने पार्टी नेता तथा युवाहरूमाथि कारबाहीको आतंक सिर्जना गरिनु दुर्भाग्यपूर्ण छ। पार्टीभित्र यी सवालमा छलफल तथा पुनरावलोकन आवश्यक छ।
मौजुदा अनुशासन समितिको अध्यक्षलाई हटाउने वा नयाँ राख्ने पार्टीको आधिकारिक तहले कुनै निर्णय गरेको छैन।
अनुशासन समितिको अध्यक्षलगायत कारबाही र निष्कासनका विषयहरू निर्वाचन आयोगमा विचाराधीन छ।
संवैधानिक अंगको अवमूल्यन हुने गरी यसबीच पार्टीबाट गलत निर्णय गर्न नहुनेमा सम्बन्धित सबैको हामी ध्यानाकर्षण गर्दछौं। पार्टी पदाधिकारीले दिएको लिखित राजीनामा विधिपूर्वक स्वीकृत भएपछि मात्र पद खाली हुने विधानले स्पष्ट व्यवस्था गरेको छ।
राजीनामा नदिएको पदमा सम्बन्धित पदाधिकारीलाई सूचनासम्म नगरी नयाँ नियुक्ति गर्नु विधि, विधान विपरीत हुन्छ। परम्परा भन्दै विधि मिच्ने, अनुशासन समिति अध्यक्ष केन्द्रीय सदस्य हुनुपर्ने वैधानिक व्यवस्थाविरुद्ध बलमिचाइँ भए, ती गल्ती कमजोरी तथा विसंगतिका भागीदार नेतृत्व नै हुने अवस्था सिर्जना हुन्छ।
निश्चय पनि स्वेच्छाचारीता र आतंकको परिवेशमा प्रजातन्त्र फस्टाउन सक्दैन। स्वतन्त्र सहभागिता सम्भव नभए महाधिवेशन निष्पक्ष र मर्यादित बन्न सक्दैन। नेतृत्वको गुटगत पक्षधरता र जथाभावी विधि मिच्ने कार्यबाट पार्टी सञ्चालन अवरूद्ध भएको छ भने पार्टी प्रभावकारिता ह्रासोन्मुख छ। पार्टीभित्र विधान विपरीत थिचोमिचो गरेर पार्टी चलाउनुलाई नेतृत्वको क्षमता सम्झने गलत संस्कारले क्षणिक सन्तुष्टि कसैलाई दिए पनि राप्रपाको जनतामाझको छवि र राजनीतिक शक्तिलाई ठूलो क्षति पुर्याएको छ।
यसकारण साझा, प्रजातान्त्रिक संस्थाको रूपमा पार्टीलाई सुचारू गर्न, पार्टी एकतालाई सर्वोपरी राखेर, समयमै महाधिवेशन सम्पन्न गर्नु पर्दछ। चार–चार वर्षको अन्तरालमा ताजा जनादेश प्राप्त गर्ने विधानको परिकल्पना अनुकूल महाधिवेशनको मिति तोक्न अब विलम्ब गर्न नहुने हामी सबैको एकमत छ। हामीबीच कुनै समस्या भए ती सबै महाधिवेशनबाट निर्क्योल भइ पार्टी सशक्त रूपमा अगाडि बढ्छ भन्नेमा हामी विश्वस्त छौं।