कास्कीको माछापुच्छे गाउँपालिका २ च्याङलुङबाट कास्की प्रहरीले २ जनालाई बाघको छाला र बन्दुकसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका २ च्याङलुङका ४० वर्षिय गमबहादुर गुरूङ र ३१ वर्षिय चन्द्र बहादुर पौडेल छन्।
कास्की प्रहरीलाई आएको गोप्य सूचनाका आधारमा प्रहरी टोली र अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरी टोलीले गम बहादुर गुरूङको घरमा खानतलासी गर्दा एक थान चितुवाको छाला, एक थान भरूवा बन्दुक, बन्दुकमा लाग्ने छर्रा र खाली खोका २७ थान सहित पक्राउ गरको कास्की प्रहरी प्रमुख अशोक सिंहले बताए।
पहिले उनीहरुलाई अन्नपूर्ण संरक्षण क्षेत्रले कारबाही गर्ने र त्यस पछि जिल्ला प्रहरी कार्यालयले बन्यजन्तु अंग तस्करी तथा हतियार तस्करीमा मुद्दा चलाउने सिंहले बताए ।
प्रहरीले अनुसन्धान तथा सोधपुछ गर्दा चन्द्र बहादुर पौडेलले चितुवा मारी त्यसको छाला गम बहादुर गुरूङलाई राख्न दिएको प्रहरीको भनाई छ।