हजुरआमाका कथा:
देवमाया मानन्धरलाई आफू जन्मेको मिति थाहा छैन।
अधिकांश बूढापाकाझैं उनी आफ्नो जन्मबारे भन्छिन्, '९० सालको भुइँचालोमा त्यस्तै १०/१२ वर्षको थियो होला!'
यस हिसाबले देवमायाको उमेर ९६ वर्ष आसपास हुनुपर्छ।
'सम्झनुहुन्छ त भुइँचालोको कुरो?' मैले सोधिहालेँ।
'किन नसम्झिनु! त्यो अहिले पत्रिकाको अफिस छ नि, (गोरखापत्र संस्थान) त्योसँगै मेरो साथीको घर थियो। त्यहीँ सिँढीमा बसेर हामी गट्टा खेल्दै थियो। सिँढी त एक्कासि हुइँहुइँ करायो। ए के भको? के भको? भनेर मेरो साथी माथि जान खोज्छ, फेरि तलै झर्छ। माथि जान्छ, फेरि तलै खस्छ,' धेरै नेवारी थोरै नेपाली मिसिएको लवजमा उनले भनिन्।
देवमायाको जन्म न्यूरोडको पाको, पुखुद्याँमा भएको हो। पीपलबोट पारि उनको घर थियो। त्यस दिन भुइँचालो साम्य भएपछि उनी भित्ता-भित्ता समातेर घर फिरिन्। बाहिर धान सुकाएको थियो। त्यहाँ छानाको सबै इँट्टा छरपस्ट खसेको उनी अझै सम्झन्छिन्।
'म त बलियो भएकोले फुस्केर आयो। मान्छे मर्यो भन्थ्यो! हामी त घरबाट बाहिर गएन,' उनले भनिन्, 'भुइँचालोपछि सिपाहीहरू पालैपालो आए। सिपाहीले मान्छे बोकेर घरमा ल्यायो। हाम्रो घरबेटीको छोरीलाई पनि बोकेर ल्याएको थियो।'
कहाँका सिपाहीले?
'सिपाहीहरू, टुँडिखेलमा बस्थ्यो नि!'
देवमायालाई भुइँचालोबारे अरु खास सम्झना छैन।
गफैगफमा सुनाइन्, 'हिजो पहिलोपटक मरूहिटी पुगेर आएँ। छोरीकहाँ खाएर आएँ। म राम्ररी नघुमेको मान्छे। कस्तो बेग्लै भएछ यहाँ।'
उनी चस्वाँ-डो (चसान) बस्छिन्। मरुहिटी पुगेर आउँदा वरपरको परिवेश फेरिएको भन्दै अचम्म मान्दै थिइन्।
'अहिले पूरै अर्कै भएछ। कति धेरै पसल,' देवमायाले आश्चर्य मान्दै भनिन्, 'चिन्न पनि गाह्रो। पहिले त अलिअलि अँध्यारो भयो भने पनि हिँड्न नहुने। सुनसान। अहिले त बजार भएछ।'
उनको अर्को कुरा सुनेर मलाई अचम्म लाग्यो।
पाकोबाट हिँडेरै १५ मिनेटमा पुगिने चसानमा उनको विवाह भयो। काँठतिरका मानिसले 'सहर' भन्ने बसन्तपुर, मरूहिटीलगायत ठाउँ उनी राम्ररी घुमेकी छैन भन्दै थिइन्।
'धेरै देखेकै छैन। हिँड्न मनलाग्छ। यहाँको मान्छेले पनि बाहिर निस्क, हिँड, यताउता आउन भन्छ। दिउँसो-दिउँसो जान्थे नि! तर के गर्नु मेरो खुट्टा बलियो छैन।'
बोलाउनेहरूलाई पनि उनी आफ्ना खुट्टा दुख्ने र कमजोर भएकाले हिँड्न नसक्ने बताउँछिन्।
'पहिला बलियो हुँदा कहीँ जान पाइन्न्थ्यो,' उनले सुनाइन्।
किन पाइन्नथ्यो?
'घरमा कति काम गर्न पर्थ्यो। तेल पेल्ने कोल थियो। एकछिन कतै गयो भने काम गर्ने मान्छेले तेल चोरेर लान्थ्यो। अनि त कता जाने?
उनी उल्टै प्रश्न तेर्स्याउँछिन्।
कोल रुँघेर बस्दै देवमायाका 'बलिया' दिन गए।
उपत्यकाका 'मानन्धर'हरूको मुख्य व्यापार तेल पेलेर बेच्नु थियो।
देवमायाका श्रीमान कृष्णबहादुर मानन्धरको परिवार पनि यही गर्थ्यो। बिहान तीन बजे नै उठ्नुपर्थ्यो। तोरी निफन्न। एक बोरा तोरी निफनेर सक्न ३ जना चाहिन्थ्यो। एउटाले चाल्ने, अर्काले निफन्ने गरेर उज्यालो हुँदा २०-३० बोरा सकिन्थ्यो। केलाएको तोरी कोलमा राखिन्थ्यो, पेलिन्थ्यो र बेच्न लगिन्थ्यो।
देवमायाको घर वरपर अहिले पनि तीनवटा तेल पेल्ने कोल छन्। उनको घरको कोल भने धेरै अगाडि डल्लु सरिसक्यो।
कोल सार्नेबेलासम्म उनलाई थाहै थिएन रे। श्रीमानले नभनी कोल बेचिदिएछन्।
श्रीमानको निधन भएको वर्षौं भइसक्यो। श्रीमानले बेला बेला दिएका दु:ख, कमाइ नगरेको, घरघरायसी कुरामा आफूलाई पत्तै नदिई निर्णय गरेको भने बिर्सन सकेकी छैनन्।
'मलाई नभनी कोल बेच्यो। अनि मैले आफैं कोल किन्यो,' उनी विगत सुनाउन थालिन्।
आफ्नै पैसाले किनेको?
'आफ्नै पैसा त हो। लोग्नेको होइन,' उनले भनिन्, 'लोग्ने त मेरो आमासँग पैसा माग्न जान्थ्यो। आमासँग गएर यस्तो भयो, उस्तो भयो भन्थ्यो। अनि आमाले के चाहियो त भन्दा मलाई ३ सय चाहियो, ६ सय चाहियो भनेर मागेर ल्याउँथ्यो। बाले चाहिँ गाली गरेर बाहिर पठाउँथ्यो।'
देवमायाको दुःख, हाम्रा दिदीबहिनीका दुःख। कृषि लगायत पेसामा रातदिन खटिने र त्यसबाट आम्दानी गर्ने अधिकांश महिलाका हातका दुःख।
बालीनाली खोस्रेर या वस्तुभाउ पालेर गरेको आम्दानी खर्चिने हक ती महिलाले पाउँथेनन्। त्यसमा उनका श्रीमान वा घरका अन्य पुरुष सदस्यको हक राख्छन्। अझै पनि गाउँघरमा यही रीत कायम छ।
फेरि प्रश्न राखेँ, 'माइती धनी हो?'
'धनी त भयो नि! म्हैपी देउता छ नि, त्यो डाँडाको तल माइतीको खेत थियो। मसिनो चामल आउने। हामीले नै रोप्ने। हामी ज्यापुहरूको काम सबै हाम्रो आमाबाबुले गर्ने हो। माइतीमा मेरो काम घर कुरेर बस्ने मात्रै। कहीँ जानुपर्थेन। भाइहरूले पनि केही गर्न दिन्थेन।'
उनको आमाबुबाले धान, आलु, प्याज रोप्थे।
'दुई जना भरिया लिएर जान्थ्यो खेतबारीमा। उनीहरूले नै सबै सामान ल्याएर कोठा भरीभरी राख्थ्यो।'
देवमायाका अनुसार यसरी खेती गरिएको प्याज उनीहरू बेच्थे- ५ पैसाको ३-४ वटा दिन्थे।
'बाको भाउजूले बच्चा पाउनेबेला प्याज किनेथ्यो। उसले भन्थ्यो अरूले भन्दा हामीले धेरै प्याज दिन्छ,' उनले थपिन्, 'तमा (ठूलीआमा) को तीनवटा बुहारी छ। उनीहरू भने लसुन खेती गर्छ। धान रोप्दैन।'
उनी मलीन भइन्। माइतीका दिन एकदम याद आउँछ रे। सबैको सम्झना आउँछ। राति निद्रा लाग्दैन। छटपट हुन्छ। कहिलेकाहीँ उनलाई लाग्छ- ती सबै दिन र आफन्त फेरि यहाँ राख्न पाए! कस्तो हुन्थ्यो होला!
आफ्ना माइतीको राम्रो आर्थिक स्थितिको यादले अहिले पनि उनको मन प्रफुल्ल हुन्छ।
श्रीमानको घरमा भने उनी कहिले फुक्काफाल भएर बस्न पाइनन्। न फुर्सद नै।
गुनासो गरिन्, 'माग्न जाँदा ससुराले चारवटा घर छ भन्यो। चारवटा छोरालाई दिन्छ भन्यो। होला त भनेर विवाह गर्यो। ल्याएपछि त बहालमा बस्यो।'
पहिलो बच्चा जन्म दिन तयार भएका बेला त्यही भाडाको घरले दिएको पीडा उनले सुनाइन्।
गर्भवती थिइन्। आज-भोलि नै बच्चा जन्मने अवस्था। बहालमा चार कोठा। सासूससुरा सबै त्यहीँ। दुई जीउकी देवमाया एकातिर थकाइ मार्न खोज्थिन्। बस्नै पाउँथिनन्।
'यता बसे पनि उठ उठ भन्थ्यो। उता गए पनि त्यसै। चार वटा कोठामा कतै बस्न पाएन। बच्चा आजभोलि जन्मने बेला। माइती पनि जान नसक्ने भयो। थकाइले निद्रा लागेर सुतेको थिएँ। काकीसासूले फोहोर नबडार भन्दाभन्दै सबै फर्काएर मेरो सेतो तन्ना लगाएर राखेको ओछ्यानमा धूलो पठाइदियो। म धेरै रोएँ। चारवटा घर छ भनेर ढाँटेर बिहे गर्यो, अहिले दुःख भयो भन्दै लोग्नेलाई बेस्सरी गाली गरेँ। त्यो दिनभर केही पनि खाएन।'
देवामायालाई घर बस्न मन लागेन। उनको सोच जहाँ भए पनि एउटा जग्गा किनेर बस्छु भन्ने थियो।
रुँदै हिँड्न पनि मन लागेन।
उनी मामाघर गएर बस्न थालिन्। मामाघरमा उनकी हजुरआमाले भनिन्, 'त्यस्तो घरमा जान पर्दैन। म हिँड्न सक्दिनँ, मलाई पालेर बस्।'
देवमाया त्यसै गर्न थालिन्।
छोरी श्रीमान र उसको परिवारसँग बस्न नसकेपछि आमाले तीन सय मोहर दिएको देवमायाले सुनाइन्।
'आमाले किनेर खाऊ भनेर पठाइदियो,' उनले भनिन्।
विसं २००२ मा कागजी नोट चल्तीमा आउनुअघि पानीबाट चल्ने मेसिनले मोहरको टक काटेर टकमरी गरिएको सिक्कालाई पानीढिकी वा महेन्द्रमल्ली भनिन्थ्यो। यस्ता मोहर, सुन, चाँदीको किनबेच असन र इन्द्रचोकका डबलीमा हुन्थ्यो भन्ने सरदार भीमबहादुर पाँडेद्वारा लिखित 'त्यस बखतको नेपाल'मा उल्लेख छ।
देवमायालाई पनि आमाले सायद त्यस्तै मोहर दिएकी थिइन्। ती मोहर उनले आफ्ना श्रीमानलाई दिइछन् र त्यही पैसाले अहिलेसम्म बसिरहेको घर किनेछन्। चसान (चस्वाँ-डो), काठमाडौं वडा नम्बर-१९ मा।
घर किनेपछि देवमायाका श्रीमानले ससुरालीमा पैसा माग्न छाडे।
देवमायालाई त्यो घरको अघ्घोरै माया लाग्छ। त्यसैले ९६ वर्ष भइसकेकी उनी नातिसँग रङ मगाएर घर पोत्न आफैं तयार हुन्छिन्।
तर २०७२ को भुइँचालोले उनलाई केही समय यो घरसँग अलग गरायो।
उनले त्यो भुइँचालो सम्झिँदै भनिन्, 'म यहीँ तल थियो। चोट लाग्यो। नातिहरूले बोकेर शान्ति निकुञ्ज स्कुलमा लग्यो। हिँड्न पनि सकेन। दुई दिन त्यहीँ बस्यो। अनि माइली छोरी आएर आमा तपाईं हिँड। यहाँ नबस भन्यो। नातिले गाडी ल्याएर उसको घरमा लग्यो। तीन महिना माइलीकोमा बस्यो। पछि कान्छी छोरीसँग बालाजुमा बस्यो।'
उनी यो घर फर्केको एक वर्ष मात्र भयो।
९० सालको भुइँचालोमा देवमाया केटाकेटी नै थिइन्। डराइनन्। २०४५ सालमा भने उनलाई डर लाग्यो।
भन्छिन्, 'उसको बा (जेठी छोरीलाई देखाउँदै) तोरी लिन गएको थियो। हामी यहीँ। मलाई खुब डर लाग्यो। के गर्ने कसो गर्ने। सबै भत्कियो भने?'
'फेरि सम्झेँ, कुखुरा पालेको छु। डराउन पर्दैन। तर बीसवटा जति कुखुरा भुइँचालोपछि त हराए। कहाँ गए कहाँ।' उनले भर गरेका कुखुरा भुइँचालो अलि साम्मे भएपछि आफैं फर्केर आएछन्।
देवमायालाई बिहेमा पाएको आफ्नो दाइजो पेवाको पनि बिछट्टै माया छ।
उनी गर्वसाथ सुनाउँछिन्, 'कसैको पनि दुइटा दाइजो हुँदैन है? मैले माइती र बजैबाट पाएँ।'
देवमाया माइत बसेको बेला आफूलाई काम गरेर खान दिएको नातिनी भनेर उनकी हजुरआमाले दाइजो थपिदिएकी रहिछन्।
'म पनि अलिअलि राखिदिन्छु भनेर बजैले भात पकाउने कसौंडी दुइटा, ताउ, पन्यु, गाग्रो, घरको चलाउने सामान अलिअलि किनिदियो,' उनले अनुहारमा खुसी व्यक्त गर्दै सुनाइन्।
उनको बिहे १८ वर्ष जति हुँदा भएको रहेछ। विसं. १९९६/९७ तिर हुनुपर्छ। उनले त्यो दुइटा दाइजो पाएको पनि झन्डै ८० वर्ष भएछ।
कहाँ छन् ती भाँडा अहिले? सोध्न सकसक लागिहाल्यो।
'बजैले दिएको चैं बेच्यो। धेरै प्वाल पर्यो। फुट्यो। अनि किन राख्ने? माइतबाट दिएको दुइटा गाग्रो छैन, अरु सबै छ। अब बेचेर खान पर्ने होइन। किन बेच्ने? विदेशमा भएको छोराले बेला बेला पैसा पठाउँछ। यो (जेठी छोरी जो आमासँगै बस्छिन्, उनलाई देखाउँदै ) लाई दिने हो।'
उनका कान्छा छोरा अष्ट्रेलियामा छन्।
हाम्रो त अंशबन्डा गरेर भाग लगाउनुपर्छ, तपाईंहरूको पर्दैन?
'कसलाई भाग लाउने? आफैं बेचेर खाए हुन्छ। अस्ति कान्छा छोरो आएको थियो। सम्पत्ति बेच र आफू राख, मलाई पनि देऊ भनेँ। मानेन। कान्छी छोरी पनि मानेन। हामीलाई चाहिँदैन, आमा आफैं बेचेर खर्च गर भन्यो। मैले बेचेनँ।'
माइतीबाट दिएको दाइजोमध्ये उनले कानको गहना मात्र बेचेकी छन्। बच्चा पाउनेबेला पैसा धेरै थिएन। उनका बुबाले नै 'भोकै नबस, बेचेर खाऊ। म अर्को बनाइदिन्छु' भनेछन्।
देवमायाले परिवार पाल्न कोलमा दिनरात काम गरिन्। त्यसबाहेक साहुसँग मेसिन भाडामा लिएर स्विटर पनि बुनिन्। अहिले, ९६ वर्षमा पनि उनी खुट्टाले चलाउने मेसिन चलाएर थैली सिउँछिन्। केही महिनाअघि आफ्नो कामको सिलसिलामा बैँकक पुगेका उनका नातिले उपहारका रुपमा हजुरआमाले बनाएका सुन्दर थैली लगेका थिए। कान्छा छोराले पनि केही समय अघिसम्म आफ्नी आमाले बनाएका थैली बिक्रीका लागि अष्ट्रेलिया लान्थे।
देवमाया तत्कालीन समाजको नेवार परिवारकी एक महिला प्रतिनिधि हुन्। उनको जीवन पनि अन्य महिलाको झैं कठिन थियो। बिहान सखारै उठेर बोराका बोरा तोरी निफन्नु, अनि भातभान्सा, त्यसपछि लुगा धुन हिटी (धारो) जानु, पानी ल्याउनु आदि आदि। त्यसबाहेक वर्षैपिच्छे जस्तो सन्तान जन्माउनु।
देवमायाले १३ सन्तान जन्माइन्। तीमध्ये ८ सन्तान विफरले मरे। मर्ने बेला उनीहरूको उमेर ६/७/८ त्यस्तै थियो। उतिबेला नेपालमा विफरको ठूलो प्रकोप भए पनि डाक्टर देखाउने चलन थिएन। विफर लागेपछि आमाहरू शितलामाता या गजलक्ष्मीको पूजा गर्न जाने रहेछन्। आफ्नो बच्चाको नाममा पूजा गरेर आएपछि बच्चा सुताएको कोठामा धुप बालेर राखिदिनु पर्थ्यो रे ! त्यो कोठामा जुत्ता लगाएर जान हुँदैन थियो रे! विफरको घाउले संक्रमित बच्चाहरूलाई कोदोको पिठो छरेको भुइँमा सुताइने रहेछ।
यसरी आफ्नो सन्तान गुमाएको पीडा त छँदैछ, उनका एक भाइले पनि मन दुखाएका छन्।
देवमायाकी एक छोरी बितेको २० औं दिन। उनका भाइ आफूले मन पराएर ल्याएको श्रीमतीले छाडेर गएको गुनासो लिएर आएछन्। र, श्रीमतीलाई डाकेर ल्याइदेऊ भनेछन्।
देवमायाले त्यस दिन जान नमिल्ने कारण बताउँदै भाइलाई भनिछन्, 'भोलि जान्छु है बाबु! आज यहाँ मेरो छोरीको बीस ढिकीको चिउरा दिनुपर्छ। आजको दिन जाँदैन। भोलि जान्छु।'
यो सुनेपछि त्यस दिन रिसाएर फनक्क फर्किएर गएको भाइसँग आजसम्म भेट भएको छैन।
उनी भन्छिन्, 'त्यो सम्झिएर अहिले पनि कुटुकुटु मन खान्छ। निद्रै आउँदैन। मेरो दिदी पनि मर्यो। कान्छा बा पनि मर्यो। कोही छैन अब।'
उनका आफन्त कमलपोखरीमा बस्छन्।
अनि किन नगएको त कमलपोखरी?
'जाने बाटो नै थाहा छैन।'
पाकोमा जन्मेको मान्छे कमलपोखरी जाने बाटो पनि थाहा छैन?
'मेरो लोग्नेले कहीँ पनि पठाउँथेन। उनीहरुसँग मात्र जान्थ्यो। एक्लै जान खोजे बाटो चिन्दैन, नजाऊ मात्र भन्थ्यो।'
श्रीमान बितेको करिब २५ वर्ष भयो। उनले आफूलाई बाहिर हिँड्न नदिएको, पहिलोपटक फोटो खिचेर आउँदा ३/४ दिनसम्म नबोलेको, माइतीले दिएको र आफैंले कमाएको पैसा पनि भनेजसरी खर्चिन नपाएको सम्झना देवमायाको मनमा काँडा जसरी बसेका छन्।
थाहा छैन, उनीभित्र अझै के-के गढेको छ। यो पनि थाहा छैन- उनको कोठामा रहेको चाँप काठको ठूलो सन्दुकमा के छ। त्यो फलामे सेफमा के छ।
सन्दुक माइतीले बिहेमा दिएका हुन्। फलामे सेफ श्रीमानले पसल चलाउँदा करिब ४० वर्षअघि किनेका। यिनका साँचो उनीबाहेक कसैको हातमा पर्दैन।
त्यो सन्दुक र सेफमा के छ?
देवामायाले जवाफ दिइन्, 'के छ, के छ !'
उनको अगाडि बसिरहेका ३४ वर्षीय जेठो नाति दिवेश सायमीले भने, 'त्यसमा के छ भन्ने कुरा अष्ट्रेलिया बस्ने मेरो काका र मेरो सानो भाइबाहेक कसैलाई थाहा छैन।'
देवमाया उनको भाषाको 'मधेश' (अष्ट्रेलिया) दुईपटक पुगिसकिन्।
तर पाको पुखुद्याँबाट डोली चढेर, नेवारी बाजाका साथ चसानको घरमा भित्रिएकी देवमायालाई यो बाटो एक्लै हिँडेको सम्झना छैन।
सायद, यहाँ धेरै 'देवमाया'हरूको जीवन यसै गरी बिते होलान्!
हजुरआमाका कथा शृंखला: