लोरिना स्थापित अजी (हजुरआमा) ले बुनेका न्याना लुगा र मोजा लगाएर हुर्किइन्। काठमाडौंको ठन्डीमा यी सामान किन्न उनलाई कहिल्यै बजार जानुपरेन। अजीको माया मिसिएका न्याना लुगा कुनै गुनासो नगरी लगाएर उनको बाल्यकाल बित्यो।
उनकी अजी लुगा बुनेर सबै छोराछोरी, नातिनातिनी र आफन्तलाई बाँड्थिन्। हरेक साल उनीहरूले नयाँ लुगा पाउँदा रहेछन्, जुन अजी झर्को नमानी बुन्थिन्। नयाँ पाउने भएपछि ती सामान जतन गर्ने मतलब कतिले गरेनन् पनि। लोरिनालाई भने अजीको मिहिनेत र मायाको मूल्य हराइरहेको कुराले सधैं सताइरह्यो।
अजीको सीप सबैले कदर गरून् भन्ने उनी चाहन्थिन्। एकदिन अजीले बुनेका मोजाको फोटो खिचेर फेसबुकमा हालिन्। धेरैले रुचाए, किन्न पनि खोजे।
'सुरूमा बुनेका लुगा बेच्ने भन्दा अजीले मान्नुभएन। बुढेसकालमा सामान बेचेर खाँदा परिवारले नहेरेको जस्तो देखिन्छ, समाजले के भन्लान् भन्ने पीर थियो,' लोरिनाले भनिन्, 'राम्ररी सम्झाइ–बुझाइ गरेपछि मान्नुभयो।'
फेसबुकमा पोष्ट गरेको मोजा केहीबेरमै बिक्री भयो। आफ्ना हातको मिहिनेतको पहिलोपटक मूल्य पाउँदा अजी पनि दंग।
अजीको खुसीले ३१ वर्षीया लोरिनालाई 'आइडिया' फुर्यो– अरू बुढापाकाको सीप र कलालाई पनि थप हौसला दिने। यसैको नतिजा गत वर्ष उनले 'अजीज' सञ्चालनमा ल्याइन्।
आफ्नी अजीबाट प्रेरित लोरिनाले 'अजीज' सञ्चालन गरेसँगै साथीभाइका हजुरआमा र हजुरबुबाको सीपलाई पनि 'प्लेटफर्म' दिइन्। यो एक सामाजिक उद्यम हो जसमार्फत जेष्ठ नागरिक समूहले घरमै बसेर बनाएका सामान बाहिरी संसारसम्म पुर्याउन सक्छन्। यसबाट वृद्धवृद्धाले आफ्नो ज्ञान र सीप नयाँ पुस्तासँग साट्ने अवसर पाएका छन्।
'हाम्रो समाजमा जेष्ठ नागरिकलाई अरुमा निर्भर हुने समूहका रूपमा हेरिन्छ। उहाँहरूको ज्ञान, सिर्जना र सीप पुरानो मानेर काम गर्न दिइन्न,' लोरिनाले भनिन्, 'तर, उहाँहरू पनि समाजको सशक्त सदस्य हुन सक्नुहुन्छ भनेर चिनाउन निकै जरूरी छ। यही सोच बदल्न अजीज स्थापना भएको हो।'
संस्था स्थापना गर्दा उनले आफ्नी बहिनी इरिनाको पनि सहयोग लिइन्। सामाजिक कार्यमा सक्रिय लोरिना गैरसरकारी संस्थामा काम गर्थिन्। भरपर्दो मानिने त्यो जागिर छोडेर उनले अजीज सुरू गरेकी थिइन्।
सुरूमा उनको परिवार त्यति खुसी थिएनन्, जति उनी थिइन्। हजुरआमा र उनी स्वयंको अनुहारमा देखिएको खुसीले परिवारको हिच्किचाहट धेरै समय टिकाएन। एनजिओको सामाजिक काम छाडे पनि वृद्धवृद्धालाई हौसला दिएर अनुहारमा चमक ल्याउने काम त्योभन्दा कम जो थिएन। त्यही हौसला र ऊर्जाको प्रतिफल, अजीज अन्तर्गत अहिले पच्चीस वृद्धवृद्धा काम गरिरहेका छन्।
यो कामबाट उनीहरूमा आत्मबल बढ्नुका साथै बानीमा पनि निकै सुधार आएको लोरिना बताउँछिन्।
'आफ्नो लुगाको अर्डरबारे फोन गरेर सोध्ने, गीत गाउँदै सिर्जनात्मक तरिकाले लुगा बुन्ने जस्ता व्यवहारले मानसिक र शारीरिक स्वास्थ्य दुवैमा सुधार ल्याएको छ,' उनले भनिन्।
अजीजमा मोजा, सुकुल, मूर्ति, चकटी, ढाका लुगा लगायत करिब ३० खालका सामान किन्न सकिन्छ। सबैको आफ्नै सीप र डिजाइन हुने भएकाले सामान पनि त्यही अनुसारका छन्। यसबाट परम्परात सीप जगेर्ना भएको लोरिना बताउँछिन्।
घरमै बनाएर बेच्न सकिने यी सामान बनाउन आवश्यक कच्चा सामानको व्यवस्था र डिजाइन उनीहरूले नै गर्छन्।
'हामीले बुढापाकालाई के बनाउने भनेर सिकाउने होइन। उहाँहरूको सीप नै फैलाउने हो, हाम्रो पुस्ताले सिक्ने हो,' लोरिनाले भनिन्।
अजीजले आफ्नो वेबसाइटमा हरेक हजुरआमा-बुबाको सामान्य परिचयसहित फोटो र उनीहरूले बनाउने सामानबारे जानकारी दिएको छ। उनीहरू ६० देखि ९२ वर्ष सम्मका छन्। कोही मोजा-स्विटर बुन्छन्, कोही सुकुल, मुडा र चकटी। कोही खानेकुरा पकाउँछन्। कोही गरगहना बनाउँछन् भने कोही साना नानीबाबुका लागि ढाकाका लुगादेखि पर्स, थैली वा ओढ्ने तयार पार्छन्। घर सजावटका सामान पनि छन्।
यसबाट बुढापाका पनि समाजमा महत्वपूर्ण योगदान पुर्याउने सदस्य हुन् भनेर महशुस गराउन खोजिएको लोरिना बताउँछिन्। ग्राहकले अजीजको फेसबुक पेज वा वेबसाइटबाट सामान अर्डर गर्न सक्छन्। यी सामान विदेशमा समेत निर्यात हुने लोरिना बताउँछिन्।
सीप भएका जेष्ठ नागरिक अजीजसँग जोडिन चाहे वेबसाइटमा अनलाइन फारम भर्न सक्छन्। वा उनीहरूलाई सम्पर्क गर्न।
यसका लागि तीन सर्त छन्ः
उमेर ६० वर्षभन्दा माथि हुनुपर्छ।
सीप हुनुपर्छ।
र, यो काममा घरको एक युवा सदस्यले उनीहरूलाई सहयोग गर्नुपर्छ।
'यसले दुई पुस्तालाई नजिक ल्याउनुका साथै छोराछोरी र नातिनातिनाले पनि आफ्नो काममा चासो देखाएको महशुस उहाँहरूले गर्नुहुन्छ,' लोरिना भन्छिन्।
सह–संस्थापक पुरषार्थ तुलाधरका अनुसार अजीजले हजुरआमा-बुबाहरूको कथा सुनाउन 'पोडकास्ट' सुरू गरेको छ। पोडकास्टमार्फत् उनीहरूले जिन्दगीमा भोगेका दुःख, संघर्षका साथै प्रेरणादायी अनुभव सुनाउन सक्नेछन्। यो अजीजको वेबसाइटमा सार्वजनिक हुन्छ।
'अहिले बुढापाकासँग बसेर उहाँहरूको कुरा सुनिदिने फुर्सद धेरैलाई हुँदैन,' पुरषार्थ भन्छन्, 'उहाँहरूका भोगाइ र अनुभवबारे आफ्नै सन्तान पनि अज्ञात छन्। ती कुरा नयाँ पुस्तासम्म पुर्याएर उहाँहरूका सीप र कथा संरक्षण गर्न जरूरी ठानेका छौं।'
अजीजमा काम गरिरहेका बाहेकले पनि पोडकास्टमार्फत् आफ्ना अनुभव साट्न सक्छन्। पोडकास्टलाई विदेशीले पनि सकरात्मक प्रतिक्रिया दिँदै अंग्रेजीमा अनुवाद गर्न अनुरोध गरिरहेको पुरषार्थले बताए।
कम्पनीले सामान र ज्यालाअनुसार सहमतिमा पैसा दिने गरेको छ। धेरैपटक भने हजुरआमा-बुबाले सित्तैमा सामान दिन चाहेको लोरिनाको अनुभव छ।
'उहाँहरूलाई आफ्नो मिहिनेतको पैसा लिनु भनेर आग्रह गर्न परिरहेको छ। कतिपय आमाले भने जिन्दगीको पहिलो कमाइ पाएको बताउनुभयो,' उनले भनिन्, 'जिन्दगीभर घरपरिवारको रेखदेखमा मात्र भुल्नुभएका उहाँहरूले आत्मसम्मान र नगद कमाइ पाउनु भएन। बुढापाकाको कामलाई सम्मान गरेर पारिश्रमिक दिन पाउँदा खुसी लागेको छ।'
अजीजले बुढापाकालाई स्कुलहरूमा लगेर केटाकेटीलाई पुराना सीपबारे जानकारी दिने र सिकाउने कार्यशाला पनि थालेको छ। यसले दुवै पुस्तालाई एकअर्कासँग घुलमिल हुन सघाएको छ।
योसँगै, 'आस्क एन अजी' (अजीलाई सोध्नुस्) नामक अभियान सुरू गरेको छ। यसमा अजीजको सामाजिक सञ्जालमार्फत् आफूलाई चासो लागेका कुरा सोध्न सकिन्छ। अहिलेका पुस्तालाई सबै कुरा इन्टेरनेटलाई मात्र नभएर जेष्ठ नागरिकलाई पनि थाहा हुन्छ भन्ने सन्देश दिन खोजिएको संस्थापकद्वयको भनाइ छ।
सञ्चालन भएको एक वर्षयता अजीजलाई विभिन्न संगठनबाट आर्थिक वृद्धि गर्ने प्रस्ताव पनि आइरहेको सह–संस्थापक पुरषार्थ बताउँछन्। यसो गर्दा उत्पादन बढाउनुपर्ने हुन्छ। तर यी सामानमा बुढापाकाको भावना पनि जोडिएकाले महत्व कम होला भन्ने चिन्ता उनीहरूलाई छ। अहिले नै यो प्रस्ताव स्वीकारेका छैनन्।
'सक्रिय भए पनि बुढापाकाले आराम मात्र गर्नुपर्छ भन्ने सोचाइ तोड्न खोजेका हौं,' उनी भन्छन्, 'बुढेसकालको एक्लोपन र निस्क्रियतालाई उहाँहरूकै सीपले कम गर्नु र त्यो सीपको सही मूल्यांकन गर्नु हाम्रो उद्धेश्य हो।'