पाटनको यलमाया केन्द्रमा मंगलबार दिउँसो साइकल हेर्नेको भीड थियो। यो सामान्य साइकल होइन- विद्युतीय साइकल, त्यसमाथि बाँसबाट बनेको।
साइकल हेर्न मात्र मिल्छ कि चलाउनै पाइन्छ भन्ने खुल्दुली बोकेर आएकाहरूले यलमायाको प्रांगणमा पाइडल मार्दै साइकलको अनुभव लिए। उनीहरूले आफू मात्र चलाएनन्, अगाडि बाँसको सिटमा आफ्ना साथीहरूलाई पनि राखेर साइकल सयर गराए।
'आबारी' भन्ने नेपाली संस्थाले अमेरिकी संस्था फुलब्राइटसँगको सहकार्यमा यो साइकल बनाएको हो। आबारीले बाँससँग सम्बन्धित विभिन्न सामग्री उत्पादन गर्दै आएको छ।
अमेरिकाको कान्सास विश्वविद्यालयका प्राध्यापक तथा औद्योगिक डिजाइनर लान्स गोर्डन रेकको डिजाइनमा बाँसको साइकल तयार भएको हो। उनले काठमाडौं विश्वविद्यालयका विद्यार्थी र आबारीसँगको सहकार्यमा तीन महिना लगाएर यो साइकल तयार गरेका हुन्।
प्राध्यापक लान्सले मदन पुरस्कार पुस्तकालयसँगै रहेको यलमाया केन्द्रमा साइकल सार्वजनिक गर्न पाउँदा आफूलाई खुसी लागेको बताए। यो पुस्तकालय पनि आबारीकै सहयोगमा बाँसबाट बनाइएको छ।
‘यता बाँसको पुस्तकालय बन्दै थियो, उता बाँसकै साइकल बनाउने काम जारी थियो,’ उनले भने।
लान्सले बाँसको साइकल बनाउने काम अल्बामाबाट सुरू गरेका हुन्।
आँधीबेहरीले अल्बामाका सबै घर र सडक ध्वस्त हुँदा लान्स उद्धारको क्रममा थिए। त्यही बेला उनले बाँसका उत्पादन देखे। आफ्नो ज्ञान र साइकलप्रतिको रूचि जोडेर बाँसकै साइकल बनाउन सुरू गरे।
यही क्रममा उनको भेट नेपालको आबारीसँग भयो।
सन् २००६ मा सामाजिक तथा वातावरणमैत्री अनुसन्धान, डिजाइन र निर्माणको उद्देश्यले स्थापित आबारीले स्थानीय भाषा, शिल्प र व्यवहारिक वास्तुकलाको परम्परागत परीक्षण गर्दै आएको छ।
आबारीका निर्देशक नृपालका अनुसार नेपालमा ५४ प्रजातिका बाँस छन्। 'मैले नेपालमा उत्पादन हुने बाँसको विशेषता बुझेर त्यसबाट निर्माण अघि बढाएँ,' उनले भने, 'यहाँका किसान, बिल्डर्स र डिजाइनरलाई बाँसबाट सामान बनाउन सहज हुन्छ।'
नेपालमा ३२ लाख मानिस बाँसको खेती र उत्पादनमा संलग्न छन्। यो जनसंख्याको १० प्रतिशत हो। बाँसले उनीहरूको आयआर्जनमा ठूलो भरथेग गर्दै आएको छ।
आबारीले किसानलाई बाँसको बीउ दिएर उत्पादन गराउँछ। त्यसबाट घर वा फर्निचर बनाउँछ। नृपालका अनुसार बाँसको आयु जम्मा तीन वर्षको हुन्छ। साइकल बनाउन बाँसलाई सिलिन्डरमा राखेर 'एयरपम्प प्रेसर' दिएर डिजाइन गरेको उनी बताउँछन्। यसरी तयार पारिएको बाँस ५० वर्षभन्दा बढी टिक्ने उनको दाबी छ।
नर्वे र डेनमार्कमा चलाइने क्रिस्टियना बाइकको डिजाइनबाट यो साइकल प्रभावित छ। यो रिक्साको डिजाइनभन्दा उल्टो छ। रिक्सामा यात्रु पछाडि बस्दा अगाडिको दृश्य छेकिन्छ। यो साइकलमा भने यात्रु बस्ने सिट अगाडि छ। काठमाडौंका पर्यटकीय क्षेत्रहरू सवारीमुक्त गरेर यात्रु आउजाउ निम्ति यो साइकल प्रयोग गर्न सकिने नृपाल बताउँछन्।
साइकलमा प्रयोग गरिएको इन्जिनको मूल्य करिब एक लाख रूपैयाँ रहेको उनले बताए। अहिलेलाई करिब ८-१० वटा नमूना साइकल बनाएर त्यसको प्रचारप्रसार गर्ने उनको योजना छ।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी