घर नजिकैको जंगल पसेका मेघौलीका मनिषकुमार लिम्बूलाई सर्पले खुट्टामा टोक्यो। खुट्टाबाट रगत बग्न थाल्यो, उनी आफूलाई टोक्ने त्यो पानी सर्प (पानी साँप भनिने यो सर्पले टोक्दा शरीरमा विषको असर हुँदैन) लाई समातेर गाउँ फर्किए। छिमेकीको अगाडि लाठीले हानेर त्यसलाई मारिदिए। अनि बल्ल आफ्नो घाउको उपचार गर्न थाले।
मनिषले आफूलाई टोक्ने सर्पसँग बदला लिएका थिए। जीवनमा कति वटा सर्प यसरी मारे भन्ने यकिन छैन उनलाई। यतिचाहिँ स्पष्ट भन्छन्, ‘सर्प देख्यो कि यसले बर्बादै पार्छ भन्ने लाग्थ्यो, मारिहाल्थें।’
उनै मनिष अचेल चितवन राष्ट्रिय निकुञ्ज नजिकका बस्तीमा सर्पको महत्व बुझाउँदै जोगाउन सिकाउँछन्। सर्पले पर्यावरणमा पार्ने सकरात्मक प्रभावबारे जनचेतना फैलाउँदै हिँड्छन्। सर्पको संहार गर्न उद्धत युवालाई उद्धार गर्न सिकाउँछन्।
चितवन राष्ट्रिय निकुञ्जबाट नजिकै भएकाले मेघौली क्षेत्रका बासिन्दाको सम्बन्ध वन, वन्यजन्तुसँग निकट छ। आहराको खोजीमा वन्यजन्तु गाउँ पस्नु, घाँस, दाउराको खोजीमा मान्छे वन पस्नु यहाँका लागि नौलो होइन। त्यही वन र वन्यजन्तु देखाउनका लागि देशी, विदेशी पर्यटकलाई लक्षित गरेर यहाँ करोडौंको लगानीमा होटल बनेका छन्।
‘तर पनि मान्छेहरू आफ्नो स्वार्थका लागि वन्यजन्तुको ज्यान लिन पछि पर्दैनन्,’ मनिष भन्छन्, ‘महत्व नबुझ्दा म पनि उस्तै थिएँ, बुझ्दै गएपछि आफूलाई परिवर्तन गरेको छु।’
अचेल उनी सर्पमात्रै होइन, पुतली, चरादेखि ठूला वन्यजन्तुको संरक्षणमा दत्तचित्त भएर लाग्छन्। उनैको पहलमा गत वैशाखमा भरतपुर महानगरपालिकाका वडा नम्बर २७ र २८ लाई पिँजडामुक्त गाउँ घोषणा गरिएको थियो। यसका लागि उनले स्थानीय युवा र सरोकारवाला निकायलाई एकजुट बनाएर पिँजडामा कैद भएका वन्यजन्तु, चराचुरुङ्गीहरुलाई जंगलमा छाड्न महत्वपूर्ण भूमिका खेलेका थिए।
‘मान्छेहरू रमाइलोका लागि वन्यजन्तुलाई पिँजडामा थुनेर राख्छन् तर उनीहरूको अधिकारको बारेमा सोच्दैनन्, घर वरपर कुनै वन्यजन्तु आइपुग्यो भने मार्न हतार गर्छन्,’ उनी भन्छन्, ‘जंगलनजिक घर बनाएपछि उनीहरूबाट क्षति त हुनसक्छ तर उनीहरूबाट हामीले फाइदा पनि लिनसक्छौं, नियन्त्रण गर्ने तरिका हुन्छन्।’
अचेल गाउँमा कुनै वन्यजन्तु आयो भने उद्धारका लागि मनिषलाई खबर आइहाल्छ। उनी सबै काम छाडेर वन्यजन्तुको उद्धारमा खट्छन्।
‘मुसाको खोजीमा सर्पहरू खेत हुँदै मान्छेको घरभित्रै पस्छन्, उनीहरू पहिले घर वरपर देखिएका सर्पलाई तुरुन्तै मारिहाल्थे,’ उनले भने, ‘अचेल मलाई फोन गर्छन्, दैनिक एक-दुई वटा सर्प उद्धार गरेर जंगलमा लगेर छाड्ने गरेको छु।’
बस्ती बढ्दै गएको, खेतीयोग्य जमिन घट्दै गएको र भएको खेतमा पनि ट्याक्टरलगायतका मेसिनको प्रयोग हुन थालेका कारण सर्पहरू घर वरपर बढी देखिन थालेको मनिष बताउँछन्। खेतका मुसा खाएर निर्वाह गर्ने सर्प अचेल कुखुरा, हाँस खान घर, खोरतिर पस्ने गरेको उनले बताए।
मनिष नेचर गाइड एसोसिएसन सौरहाअन्तर्गतको मेघौली-घडगाईं उपसमितिका संयोजक हुन्। यो समितिले पर्यटकीय क्षेत्र पटिहानी र मेघौलीमा कार्यरत करिब २०० जना नेचर गाइडको नेतृत्व गर्छ।
‘वन्यजन्तुको संरक्षण गर्नु नेचर गाइडको कर्तव्य नै भइहाल्यो,’ उनी भन्छन्, ‘नियमित कामसँगै संरक्षणबारे नयाँ पुस्तालाई सिकाउन पनि सकियो भने पर्यावरण जोगिन्छ, यसले हामी सबैलाई फाइदा पुग्छ।’
मनिषको बाल्यकाल नै चितवन निकुञ्जभित्र बित्यो। उनका बाबु निकुञ्ज भित्रको होटल टाइगर टप्समा काम गर्थे। पछि दाइले पनि त्यहीँ काम गरे। मनिष भने बाबु र दाइको संगतबाट प्रकृतिको विषयमा जाने। बाल्यकालमा परिवारसँग लुकिछिपी वन्यजन्तुको नोक्सान गर्न पछि नपर्ने उनी पछि विदेशीको संगतले नेचर गाइड बने।
‘सानैदेखि निकुञ्जसँग नजिक भएँ, विदेशीहरूको अघिपछि हिँडियो। यसैले प्रकृतिको संरक्षण गर्नुपर्छ भन्ने सिकायो,’ उनले भने, ‘प्रकृतिको संरक्षण गर्न सक्यो भने हामीलाई यसैले पाल्ने रहेछ भन्ने ज्ञान भएपछि यसैमा लागेको छु।’
४८ वर्षीय मनिषले वनमा पर्यटक घुमाउने काम गर्न थालेको २ दशक भयो। यो अवधिमा उनले सयौं वन्यजन्तु, चराचुरुङ्गी, पुतली, किरा फट्यांग्रा चिने। तिनका विशेषता बुझे। अचेल पर्यटकको गाइड बनेर तीनै जीवजन्तु चिनाउँछन्। पर्यटकमात्र होइन वन विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थी अनुसन्धानका लागि उनको सहयोग लिन्छन्। क्याम्पसमा व्यवस्थापन शास्त्र पढेका मनिषलाई प्राकृतिक क्षेत्रमा संगालेको लामो अनुभवले वन विज्ञान पढ्दै गरेका विद्यार्थीलाई जीवजन्तुको विषयमा सिकाउने बनाइदियो। नेचर गाइड बन्न चाहने पनि सिक्न आउँछन्।
मेघौली विमानस्थलको आडैमा उनको घर छ। घरको अघि-पछि आँप, अम्बा, लिचीलगायतका फलफूलका बोट छन्। ती बोटमा लटरम्बै फल फल्छन्। तर ती फल न उनी खान्छन् न त अरू मान्छेलाई खान दिन्छन्। रुखका फल चराचुरुङ्गीले खान्छन्, झरेका किराले खान्छन्।
आँगनमा रोपेका बिरुवामा उनले पुतलीको विषयमा अनुसन्धान गरिरहेका छन्। लकडाउनले अरू काम खोसेको समयमा उनी विभिन्न किसिमका पुतली, किरा, फट्यांग्राको जीवन चक्र हेरेर समय बिताउँछन्।
‘चितवनमा २०० भन्दा बढी प्रजातिका पुतली पाइने रहेछन्, त्यसमा मैले १०० भन्दा बढी प्रजाति चिन्छु, सर्प, किरा फट्यांग्रा पनि धेरै चिन्छु,’ उनी भन्छन्, ‘यहाँ घुम्न आउने विदेशी पर्यटकलाई यिनका विषयमा विस्तारसँगै जानकारी गराइदिँदा असाध्यै खुसी हुन्छन्। उनीहरूले हाम्रो ठाउँको कुरा आफ्नो ठाउँमा लगेर सुनाउँछन्।’
उनी सर्पमात्रै होइन खोलामा गएर माछा मार्ने युवालाई पनि सम्झाइबुझाइ गर्छन्।
‘माछा त मार तर हुर्कंदै गरेका, अण्डा पार्ने अवस्थाका माछा मार्नु हुँदैन भनेर सम्झाउने गरेको छु,’ उनी भन्छन्, ‘बिस्तारै मेरो कुरा बुझ्दै पनि छन्।’
गुलेली बोकेर चरा मार्न हिँड्ने युवालाई एक ठाउँमा ल्याएर उनले सचेतना अभियान नै चलाए। ५०० भन्दा बढी गुलेली आफ्नै खर्चमा किनेर नष्ट गरिदिए। अन्ततः गाउँका पसलमा गुलेलीको बिक्री नहुने अवस्था तयार भयो।
चार वर्षदेखि उनी सर्पको उद्धारमा कम्मर कसेर लागेका छन्। पानी साँप, धामन, अजिंगर, सिंगारे, बगाले, मायल भेनम, करेट, हरेउजस्ता सर्पको उद्धारमा उनी खट्छन्। लोपोन्मुख मानिएको किंग कोब्रा पनि बेला-बेलामा मेघौली क्षेत्रमा देखिन्छन्। असाध्यै विषालु मानिने यो सर्पलाई स्थानीयले मार्न खोज्दा उनीसहितका युवाले जोगाउने गरेका छन्। सर्पलाई नै आहारा बनाउने किङ कोब्रा आहारा प्रजातिको खोजीमा तराईबाट पहाड उक्लन थालेको सुनेको बताउँछन् उनी।
‘हाम्रो लागि कुनै नोक्सान नगर्ने, बरू खेतमा भएका मुसा खोजी-खोजी खाएर बाली राम्रो बनाउन सघाउने धामन नामको सर्पबारे अहिले धेरै मान्छेले बुझेका छन्,’ उनी भन्छन्, ‘सबै विषालु हुँदैनन्, उनीहरूसँग सचेत त हुनुपर्छ तर हानी पुर्याउनु हुन्न भनेर सम्झाउँदा-सम्झाउँदा मान्छेको सोचाइमा परिवर्तन आउन थालेको छ।’
‘अजिंगरको आहारा दैवले पुर्याउँछन्’ भन्ने नेपाली उखान नै छ। अजिंगर भनिने अजंगको सर्प बेला-बेलामा सहरी क्षेत्रमा पनि भेटिन्छन्। अजिंगरका लागि आहारा दैवले नभई पोल्ट्रीले जुटाइदिनु परेको बताउँछन्, स्थानीय युवा बद्री अर्याल।
आहाराको खोजीमा यो सर्प जंगल आसपासका पोल्ट्री, घरमा पुग्ने गरेको उनी बताउँछन्।
‘तर देख्नेबित्तिकै डराएर मार्न खोज्ने चलन अहिले परिवर्तन भएर उद्धारका उपाय खोज्न थालिएका छन्,’ अर्यालले भने, ‘यस्तो सर्प देखियो भनेर फोन गरेपछि उहाँ उद्धारका सामग्री बोकेर आइहाल्नुहुन्छ।’
गाउँलेहरू मनिषको कामबाट प्रभावित छ। प्रकतिसँग रमाउने युवाका लागि त उनी प्रेरणाको स्रोत नै हुन्। श्रीमती शान्तालाई भने अझै पनि उनको काम मन परेको छैन। जोखिम मोलेर वन्यजन्तुको उद्धार गर्ने र जंगलमा हिँड्नु पर्ने उनको काम श्रीमतीलाई मन परेको छैन।
‘म यही हो मेरो भविष्य भनेर लागें, अरूलाई पनि यसमा भविष्य छ भनेर जागरुक गराएँ। अब फर्किने बाटो छैन,’ मनिष भन्छन्, ‘श्रीमतीलाई पनि बानी पर्न थालेको छ।’
मनिषले गरेका कामको सिको अन्य युवाले पनि गर्न थालेका छन्।
मनिष ७ वर्षअघि पर्यटकको गाइड बनेर जंगल जाँदा गैंडाको आक्रमणमा परेर घाइते भएका थिए। त्यसपछि केही समय उनी जंगल जान डराए।
‘त्यो डर धेरै समय रहेन, निको भएपछि जंगल जान थालें, अहिले पुनः पहिले जस्तैगरी हिँडिरहेको छु,’ उनी भन्छन्, ‘बाँचुञ्जेल वन र वन्यजन्तुको संरक्षणमा काम गर्ने हो।’