दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी आन्दोलन गर्न थालेपछि कृषि तथा पशु विज्ञान विश्वविद्यालय(एएफयू)को पशु विकास फार्ममा पालिएका चौपायाहरू भोकै हुन थालेका छन्।
विश्वविद्यालयको पशु विकास फार्म, बागबानी र बाली विकास फार्ममा दैनिक ज्यालादारीमा कार्यरत ६५ जना कर्मचारीहरू करारमा नियुक्ति गर्न माग राखेर केही दिनदेखि आन्दोलनमा उत्रिएका छन्।
कामदारहरू आन्दोलनमा उत्रँदा पशु विकास फार्ममा ४ सयभन्दा बढी संख्यामा रहेका गाई, भैंसी, सुँगुर, भेडा, बाख्रा भोकै भएको विश्वविद्यालयका कर्मचारी बताउँछन्। पशु फार्ममा माछा, कुखुरा, हाँस पनि छन्।
बाली तथा बागबानीका फार्महरूमा तरकारी तथा फलफूल हुर्कँदैछन्। कामदारहरू आन्दोलनमा व्यस्त हुँदा तरकारी, फलफूलले स्याहार पाएका छैनन्।
'कर्मचारीहरू आफ्ना माग राखेर धर्नामा बस्न थालेयता फार्ममा पालिएका चौपायाहरूले पानी पनि पाएका छैनन्, असाध्यै दयनीय अवस्था छ,' विश्वविद्यालयका सहप्राध्यापक डाक्टर रेवन्तकुमार भट्टराईले भने,'माग पूरा नभएसम्म काम गर्दैनौं भनेका छन्।'
उनले अन्य कर्मचारीले घाँस पानी दिन खोज्दा पनि आन्दोलनमा रहेका ज्यालादारी कर्मचारीहरूले रोकेको दाबी गरे।
पशु फार्ममा कार्यरत कामदारले गाई, भैंसीको दूधसमेत दुहेर फालिदिएका छन्।
पशुपंक्षीको विषयमा अध्ययन तथा अनुसन्धान गर्नका लागि विश्वविद्यालयमा पशु विकास फार्म सञ्चालनमा छ। यहाँ पशुपंक्षीहरुको स्याहारका लागि ज्यालादारीमा कामदार खटाउने गरिएको छ। उनीहरूको दैनिक ज्याला ५१७ रुपैयाँ छ। लामो समय ज्यालादारीमा काम गर्दै आएका कामदारले करारमा नियुक्ति गर्न माग गरेर आन्दोलन गर्न थालेका हुन्।
पशु फार्ममा 'गोठालो' पदमा कार्यरत घनश्याम न्यौपानेले विश्वविद्यालयले ज्यालादारीमै कार्यरत ठूला पदका कर्मचारीलाई करारमा नियुक्त गरेपनि आफूहरूको मागको विषयमा बेवास्ता गरेको गुनासो गरे।
'ज्यालादारीमै काम गर्दै आएका अफिस स्टाफहरूको माग पूरा भयो तर हात, नङ्ग्रा खियाएर विश्वविद्यालयको आन्तरिक आम्दानी बढाउने हामीमाथि अन्याय गरिएको छ,' उनले भने, 'वर्षौंदेखि दैनिक ज्यालादारीमा काम गर्नेहरू बाध्य भएर संघर्षमा उत्रिएका छौं।'
यहाँका ९८ जना ज्यालादारीमा कार्यरत कर्मचारी मध्ये ३३ जना खरदार र सुब्बा सरहका कर्मचारीलाई केही हप्ता अघिमात्रै करारमा नियुक्त गरिएको थियो। यी सबै कर्मचारीहरूले करारमा नियुक्तिको माग राखेर केही महिनादेखि संयुक्त आन्दोलन गर्दै आएका थिए।
उनले माग पूरा गर्न पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्द गरिएको बताए।
'पहिले जसरी चराउने नगरिए पनि पशुपंक्षीहरूलाई मर्का नपर्ने गरी काम गरेका छौं,' उनले भने, 'तेश्रो दिनदेखि केही घाँस काटेर पनि दिएका छौं, दूध दुहेर घोप्ट्याउने गरेका छौं।'
यहाँ पालिएका गाई, भैंसीले दैनिक करिब ५० लिटर दूध दिन्छन्।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीले तत्कालै पुरा गर्नै नसकिने माग राखेको बताए।
'मैले विश्वविद्यालय सेवा आयोगदेखि काठमाडौं पुगेर लोक सेवा आयोगमा पनि उनीहरूको मागको विषयमा कुरा गरें तर सकिँदैन भन्ने कुरा आयो,' उनले भने, 'तत्काल आन्तरिक श्रोतबाट पनि उनीहरूलाई करारमा नियुक्ति गर्न मिल्ने अवस्था छैन।'
उपकुलपति रेग्मीले ऐनअनुसार दैनिक ज्यालादारीलाई मासिक ज्यालादारीमा लैजान सक्ने भएपनि करारमा नियुक्त गर्न नसकिने बताए।
'अहिले विश्वविद्यालयमा कति दरबन्दी आवश्यक छ भनेर अध्ययन भइरहेको छ, दरबन्दी तय भएर स्वीकृत भएपछि स्थायी नै गरौंला अहिले गर्न सकिन्न भनेका छौं,' उनले भने,'तर गैरकानुनीरूपले दवाब दिएर विश्वविद्यालय नै तहसनहस गर्ने प्रयास गरिए चुप लागेर बस्न सकिन्न।'
उनले केही दिनमा सर्वपक्षीय बैठक राखेर मागका विषयमा छलफल गर्ने बताए।
'यहाँ जेसुकै विषयमा पनि ताला लगाउने, तहसनहस पार्ने बानी लागेको छ, उनीहरूलाई पनि अहिले ताला लगाइदिए, गाई, भैंसीलाई दाना पानी नै बन्द गरिदिए माग पूरा भइहाल्छ भन्ने परेको छ,' उनले भने, 'यसलाई वार-पार गर्न ढिला गर्न हुन्न भन्नेमा म छु, विश्वविद्यालयलाई आवश्यक पर्यो र ऐनकानुनले दियो भने भइहाल्छ नत्र जे माग्यो त्यो पूरा गर्न कहाँ सकिन्छ र?'