एक सिंगे गैंडाको खाग तिब्बती व्यापारीसम्म पुर्याउने अभियोग लागेका एक व्यक्तिलाई नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
गैंडाको चोरी सिकारी गरी खाग तस्करी गरेको अभियोगमा मुगुको साविक मुगु गाविस वडा नम्बर ९ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ्ग लामा गत भदौ २३ गते पक्राउ परेका थिए।
चितवन राष्ट्रिय निकुञ्जको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि उनलाई नवलपुर अदालतमा पेश गरिएको थियो।
अदालतले असोज ५ गते मंगलबार लामालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।
चितवन निकुञ्जको अमलटारी सेक्टर कार्यालयअन्तर्गत बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा संयुक्त गस्ती टोलीले हात्ती स्वीपिङ अपरेसनको क्रममा २०७६ साल भदौ ३१ गते दिउँसो भाले बयस्क गैंडाको खाग धारिलो हतियार प्रयोग गरी काटिएको अवस्थामा हाडखोर फेला पारेको थियो।
'लगत्तै निकुञ्जले संरक्षित वन्यजन्तु गैंडा सिकार गरी त्यसको खाग (आखेटोपहार) राखेको, खरिद/विक्री तथा ओसारपसार गरेको मुद्दामा अनुसन्धान गर्दा १५ जनाको विभिन्न सांगठानिक तहमा संलग्नता रहेको खुल्न आएको थियो,' अधिकारीले भने, 'तिनै मध्येका फरार व्यक्ति लामा हुन्।'
१५ जनामध्ये ५ जनालाई अदालतले यसअघिनै पुर्पक्षमा थुनामा पठाइसकेको छ।
तामाङविरुद्ध निकुञ्जले २०७७ फागुन १८ गते चितवन जिल्ला अदालतमा पनि संरक्षित वन्यजन्तु गैंडा चोरी सिकारी गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।
उनको गैंडाको खाग तिब्बती व्यापारीसम्म ओसारपसार गराउने कार्यमा प्रत्यक्ष संलग्नता पाइएको अधिकारीले बताए।
योसहित यस आर्थिक वर्षमा निकुञ्जभित्र गैंडा चोरी सिकारीमा संलग्न ७ जना पूर्पक्षको लागि थुनामा गएका छन्।