फोहोर वस्तुबारे सुन्ने बित्तिक्कै हामी नाक खुम्च्याउँछौं। देख्दा त नजिकै नपरौं झैं हुन्छ। नजिक पुगिहालियो भने नाक नछोपी सुखै हुँदैन।
तै पनि सडकको छेउछाउ, गल्लीहरूमा फोहोरको डंगुर देख्न हामीलाई बानी परिसकेको छ।
हप्तौंदेखि थुप्रिएको फोहोरमा झिंगा भन्किएर टाढैसम्म दुर्गन्ध फैलिसक्दा पनि नउठेका उदाहरण हामीले देख्दै आएका छौं। यसरी फालिएको फोहोरले मानव स्वास्थ्यमा असर परेको, किनारमा थुपारिएको फोहोर बाढीले बगाएर नदी प्रदूषण भएको, जथाभावी फालिएको फोहोरले पानीमा आश्रित जीवदेखि वन्यजन्तुमा गम्भीर असर परेको कुरा जान्दाजान्दै पनि यसको उचित व्यवस्थापन प्राथमिकतामा पर्ने गरेको छैन।
फोहोर व्यवस्थापन स्थानीय तहको टाउको दुखाइको विषय बनिरहँदा चितवनमा केही संस्थाको अग्रसरतामा नौलो काम भएको छ।
क्रियसन नेपालले डब्लु डब्लु एफ नेपालको सहयोगमा ‘रिसाइकलर साथी’ नामक कार्यक्रममार्फत् चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा मनै लोभ्याउने ‘फोहोर फाल्ने ठाउँ’ तयार पारेको छ।
यसलाई संग्रहालयका रूपमा विकास गर्दै फोहोरलाई ‘पुनर्चक्र प्रणाली’मार्फत् मोहरमा रूपान्तरण गर्न पनि सिकाउँदैछ।
पर्यटकीय नगर सौराहाको पल्लो छेउबाट बग्ने राप्ती नदी किनारसँग जोडिएको सडकमा आकर्षक संरचना निर्माण गरिएको छ।
लेखिएको छ- वेलकम टु वेस्ट स्मार्ट म्युजियम अर्थात् स्मार्ट फोहोर संग्रहालयमा स्वागत छ।
जहाँ एलइडी स्क्रिन, एलइडी पोस्टरहरू सजाइएको छ। तिनीहरूले अनवरत फोहोर व्यवस्थापन, वातावरण संरक्षण र दीगोपनसम्बन्धी सन्देश फैलाउँछन्, आगन्तुक पर्यटक र समुदायलाई सचेत गराउँछन्।
भुइँमा तीन वटा भिन्न–भिन्न रङका डस्टबिनहरू राखिएका छन्। यहाँ कुहिने, नकुहिने र पुन:प्रयोग गर्न सकिने फोहोरहरू राख्न मिल्छ। प्लास्टिकका बोतलहरूलाई सानो आकारको बनाउन दुइटा बोतल क्रसर राखिएका छन्।
राप्ती किनारमा नेपाली सेनाको ब्यारेकनजिकै टिकट घर बन्दैछ। सौराहाबाट चितवन निकुञ्ज तथा वरपरका मध्यवर्ती सामुदायिक वनहरूमा सफारीमा जानेहरूले टिकट लिने ठाउँ हो यो। जंगल सफारी फर्कने अन्तिम बिन्दु पनि यही हो।
‘सफारीबाट फर्किएपछि पर्यटकले आफ्नो साथमा भएका फोहोरहरू यहाँ व्यवस्थापन गर्नुहुनेछ,’ क्रियसन नेपालकी कार्यक्रम प्रमुख सुजता कोइरालाले भनिन्,‘पर्यटक सफारीमा जाँदा र फर्कंदा फोहोर व्यवस्थापनका लागि आवश्यक ठाउँ भएपछि जंगलमा फोहोर फाल्नेक्रम घट्दै जान्छ।’
चितवन राष्ट्रिय निकुञ्जलाई सन् २०१९ मै प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो। तर निकुञ्ज भएर बग्ने नदी, खोलाहरूले विभिन्न ठाउँबाट बगाएर ल्याएका प्लास्टिकले जंगलको ठूलो क्षेत्र प्लास्टिकमय देखिन्छ।
वर्षायामको बाढीसँगै आउने फोहोरले नदीमा माछाको पारिस्थितिक प्रणाली खलबलिने गरेको छ। प्लास्टिकजन्य फोहोर खाएर वन्यजन्तुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन्।
‘यसका अलावा सफारीमा जाने पर्यटकले फाल्ने फोहोरले पनि वातावरणमा ठूलो असर गर्दै आएको छ,’ उनले भने, ‘प्लास्टिकमुक्त गर्ने भनेर ठाउँ-ठाउँमा डस्टबिन राखिए पनि त्यति प्रभावकारी भएन।’
क्रिएसन नेपालका अध्यक्ष आनन्द मिश्रले जंगलभित्र ठाउँ-ठाउँमा डस्टबिन राख्दा फोहोर व्यवस्थापन प्रभावकारी नभएपछि चेक प्वाइन्टमै स्मार्ट फोहोर संग्रहालयको अवधारणा आएको बताए।
उनका अनुसार स्मार्ट फोहोर संग्रहालय निर्माण भएको दक्षिण एसियामै सौराहामा पहिलो पटक हो। यसको संरचना निर्माणका लागि ५ लाख रूपैयाँ खर्च भएको छ।
‘फोहोर राख्नका लागि संरचना तयार भएपछि अब रत्ननगर नगरपालिकाले यसको व्यवस्थापनको काम र चितवन निकुञ्जले अनुगमनको काम गर्छन्,’ मिश्रले भने, ‘हाम्रो संस्थाले यहाँ उत्पादन हुने प्लास्टिकजन्य फोहोरलाई लगेर रिसाइकल गर्छौं।’
उनले यसो गर्दा वातावरण सफा हुनुका साथै फोहोरको पनि उपयोग हुने बताए।
क्रियसन नेपालले संग्रहालयले रिसाइकल गर्नको लागि १० महिनाको अवधिमा १ टन फोहोर संकलन गर्ने लक्ष्य राखेको छ।
‘चितवन निकुञ्ज दुर्लभ वन्यजन्तुको बासस्थान भएको ठाउँ र सौराहा देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक भएकाले हामीले यहाँबाट सुरू गरेका छौं। यसलाई सफल बनाएर यो अभियानलाई देशव्यापी बनाउने लक्ष्य छ,’ मिश्रले भने, ‘स्थानीय समुदायहरूको सशक्तिकरण, युवा र बालबालिकाहरूलाई सकारात्मक उत्प्रेरक बनाउनको लागि फोहोरमैला शून्य राष्ट्रिय निकुञ्ज निर्माणमा युवा सशक्तिकरण परियोजनाका रूपमा अभियान सञ्चालन गर्दैछौं।’
दीगो पर्यावरण पर्यटनका लागि फोहोर व्यवस्थापन अनिवार्य आवश्यकता भएकाले पर्यटक र स्थानीय समुदायलाई फोहोरको स्रोत विभाजन, व्यवस्थापन र संरक्षणमा सचेत गराउँदै सन्देश प्रदान गर्ने लक्ष्य रहेको उनले बताए।
साझेदार संस्थाहरूले सचेतना अभियानका लागि सौराहा र कसरा क्षेत्रका ५ वटा विद्यालयमा वेस्ट स्मार्ट इको क्लब बनाउनुका साथै शून्य फोहोर प्रशिक्षण र सफाइ अभियानको माध्यमबाट २ सय जना बालबालिका र सय जना युवाहरू तयार पारेका छन्।
वेस्ट स्मार्ट संग्रहालय चितवन राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गर्दै मिश्रले जैविक विविधता संरक्षणका लागि साझेदारी बढाउँदै जाने बताए।
निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रहेका डब्लु डब्लु एफ नेपालका प्रतिनिधि रामप्रित यादवले जैविक विविधता संरक्षणका लागि नदी, खोलाहरूको सरसफाइमा ध्यान दिनु आवश्यक रहेको बताए।
‘म चितवन निकुञ्ज स्थापना गर्न आउँदा मान्छेहरू यहाँको राप्ती, नारायणी नदीको पानी निष्फिक्री पिउँथे, धक नमानी नुहाउँथे। अहिले यहाँको पानी वन्यजन्तुका लागि पनि असुरक्षित बन्न थाल्यो,’ यादवले भने, ‘एकसिंगे गैंडा, पाटे बाघ, घडियाल गोही जस्ता दुर्लभ वन्यजन्तु भावी पुस्तालाई पनि देखाउने हो भने फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्नैपर्छ।’
प्रकृतिमाथि प्रहार हुनेक्रम दिनहुँ बढेको यादव बताउँछन्। तर प्रकृतिलाई जोगाउने प्रयास तुलनात्मकरूपमा कम भइरहेको उनको बुझाइ छ।
‘विकाससँगै विनाशको क्रम बढेर गयो। विकासको लहर चल्दा वातावरणीय प्रभावको मूल्यांकनलाई टार्ने काम भइरहेको छ,’ उनले भने, ‘यसतर्फ सबैको ध्यान जानु जरूरी छ।’
पर्यटन व्यवसायी समेत रहेका रत्ननगर–६ का वडाध्यक्ष बलराम दाहालले नदीको बाढीले गाउँ-गाउँको फोहोर बगाएर ल्याउँदा बोतलमै टेकेर नदी तर्न सक्ने स्थिति पनि बेला-बेलामा देखिने गरेको सुनाए।
उनले सौराहाका व्यवसायीहरूले विगतमा फोहोर व्यवस्थापनका लागि विभिन्न प्रयास गरे पनि सफल नभएको बताए।
‘सरकारको बजेट फोहोर व्यवस्थापनमा असाध्यै कम हुँदा काम गर्नमा समस्या हुने गरेको छ,’ उनले भने, ‘पर्यटन विकासका लागि यो अति आवश्यक कुरा हुँदाहुँदै पनि प्राथमिकतामा नपर्नु विडम्बना हो। स्थानीय सरकारलाई झकझक्याउने काम म गर्छु।’
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सौराहामा निर्माण भएको वेस्ट स्मार्ट म्युजियमलाई महत्व दिएर फोहोरको उचित व्यवस्थापन गर्ने बताए।
क्रियसन नेपालले चितवन पनि बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै देशका सबै निकुञ्जमा फोहोर व्यवस्थापनको काम गर्ने लक्ष्य राखेको कार्यक्रम प्रमुख कोइरालाले बताइन्।
नेपालमा प्लास्टिकजन्य फोहोरको उत्पादन अत्यधिक रहे पनि यसको पुन:प्रयोग भने निकै कम छ। क्रियसन नेपालले प्लास्टिकजन्य फोहोर वस्तुको रिसाइकलका लागि नवलपरासीमा उद्योग नै स्थापना गरेको छ।
‘केही समयमा सञ्चालनमा आउने यो उद्योगले देशभरको फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास हाम्रो छ,’ क्रियसन नेपालका प्रमुख मिश्रले भने, ‘बिरामी हुँदै गएको वातावरणलाई विगतकै अवस्थामा पुर्याउन हाम्रो कोसिस रहन्छ।’