स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पुरानो मेडिकल कलेजलाई भरतपुर अस्पतालले नै लिएर सञ्चालन गर्नुपर्ने अवस्था पनि आउन सक्ने बताएका छन्।
अस्पतालको जमिनमा मेडिकल कलेज बनाएर सरकारले तोकेअनुसारको भाडा नतिर्नु गलत भएको भन्दै राज्यमन्त्री श्रेष्ठले आवश्यक परे मेडिकल कलेज नै भरतपुर अस्पतालले सञ्चालन गर्नेगरी तयारी गर्नुपर्ने बताए।
सेतोपाटीसँग कुरा गर्दै श्रेष्ठले कानुनअनुसार नगरे मेडिकल कलेजलाई नेपाल सरकार, भरतपुर अस्पताल, निजी क्षेत्र र त्यहाँ कार्यरत कर्मचारीहरूले पिपिपी मोडलबाट सञ्चालन गर्न सक्ने बताए।
‘भरतपुर अस्पताललाई आफ्नै संरचना बनाउन जमिनको अभाव हुन थाल्यो तर मेडिकल कलेज भने चर्चिएको जमिनको भाडा तिर्न पनि मानिरहेको रहेनछ,’ उनले भने, ‘यो अवस्था लामो समय रहँदैन नियम नमाने भरतपुर अस्पतालले चलाउने हो।’
उनले संघीय अस्पतालकारूपमा रहेको भरतपुर अस्पताललाई मेडिकल कलेजकोरूपमा अघि बढाउन आवश्यक रहेको भन्दै उनले भइराखेको मेडिकल कलेजलाई आफ्नो बनाउने पनि एउटा उपयुक्त विकल्प भएको बताए।
श्रेष्ठले अस्पतालको स्वामित्वमा रहेका अन्य जग्गाहरू पनि अस्पतालकै थप संरचनालाई प्राथमिकतामा राखेर फिर्ता ल्याउनुपर्ने बताए।
करिब ३१ विघा जमिन स्वामित्वमा रहे पनि भरतपुर अस्पतालले विभिन्न संस्थालाई भोगाधिकार दिँदा अहिले आफूसँग करिब १० विघा जमिन मात्रै बाँकी छ। भएको जमिनमा संरचनाहरू बनिसकेका कारण नयाँ संरचना निर्माण गर्न जमिनको अभाव छ।
‘संघको अस्पताल भएको वर्षौं भइसक्दा पनि भरतपुर अस्पताल जिल्ला अस्पताल भन्दा माथि उठ्न सकेको छैन, त्यहाँ गएर हेर्यो भने विजोग अवस्था छ,’ उनले भने, ‘यो अवस्थामा परिवर्तन ल्याउनुपर्नेछ।’
उनले अस्पतालले हाल भएका शय्याहरू र संरचनाहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न नसकिरहेको देखेको बताए।
‘अस्पताल घुम्दा भर्खर जन्मिएका बच्चालाई भुइँमै फालिरहेको थाहा पाएँ, कस्तो हृदयविदारक,’ उनले भने, ‘यो अवस्थाको अन्त्य हुनुपर्छ। सरकारले सहजरूपमा उपचार सेवा दिनुपर्छ। यसका लागि भएका संरचनाको भरपुर उपयोग हुनुपर्यो, नपुगे थप्ने हो।’
उनले भरतपुर अस्पतालको विकास आफ्नो मूख्य प्राथमिकतामा रहेको बताए। अस्पतालमा तुरून्तै डाइगोनोसिस सेन्टर, (विस्तारित स्वास्थ्य सेवा) इएचएस प्रोग्राम सुरू गर्नुपर्ने बताए।
राज्यमन्त्री श्रेष्ठले भरतपुर अस्पतालका डाक्टरहरू हाजिर गरेर काम नगरी हिँड्ने गरेको सुनेको बताए।
‘यहाँका डाक्टरले जिम्मेवारपूर्ण ढंगले यहीँ काम गर्नुपर्छ, बरू उनीहरूलाई सेवा थप्दिनुपर्छ,’ उनले भने, ‘तलब दोब्बर बनाउने हो तर हाजिर गरेर निजीमा जानलाई छुट दिन हुँदैन।’
उनले स्वास्थ्यकर्मीको सुविधा बढाउन अस्पतालको आम्दानी बढाउने गरी काम गर्नुपर्ने बताए।
‘मैले अब यहाँको सबैजसो समस्या बुझें, अबको एक महिनाबाट अस्पतालमा परिवर्तनको सुरूआत हुन्छ, १ वर्षपछि धेरै परिवर्तनहरू देख्न पाउनुहुन्छ,’ उनले भने, ‘म नाममात्रको केन्द्रीय अस्पताललाई साँच्चैको केन्द्रीय अस्पताल बनाउने दिशामा अघि बढेको छु।'
यो पनि:
भरतपुर अस्पतालले यसरी गुमाइरहेको छ वर्षेनी करोडौं रकम