नेता, सेलिब्रेटीले उमेर ढल्किएपछि औपचारिक अध्ययन सुरू गरेको विषयमा निकै चर्चा हुन्छ। सांसद शान्ता चौधरीदेखि नायिका करिश्मा मानन्धरको अध्ययनको विषय पछिल्ला दिनमा निकै चर्चाको विषय बने।
पढाइको महत्वलाई बुझेर बुढेसकालमा पढ्न सुरू गर्नेदेखि उमेर छँदा पढ्ने अवसर नपाएर उमेर ढल्किएपछि पढाइलाई निरन्तरता दिने पनि समाजमा प्रशस्त छन्।
चितवनको एक विद्यालयकी ४९ वर्षीया शिक्षिका यसको एक उदाहरण हुन्। जो यसपालि आफ्नै विद्यार्थीसँग कक्षा १२ को परीक्षामा सहभागी बनिन्।
ममताकुमारी गुरुङले अध्यापन पेशा सुरू गरेको २४ वर्ष भयो। यो अवधिमा उनले पढाएका विद्यार्थीहरू स्नातकोत्तर तह पढ्ने भइसके। २०५४ सालबाट साविकको कविलास गाविसस्थित कुसुमटार प्राथमिक विद्यालयबाट अध्यापन सुरू गरेकी उनले १९ वर्षदेखि कविलास माविमा पढाइरहेकी छन्।
उनी कक्षा ५ सम्मका विद्यार्थीलाई अंग्रेजी र मेरो सेरोफेरो विषय पढाउँछिन्। गत वर्षदेखि भने उनी आफैंले शिशु कक्षादेखि कक्षा ५ सम्म पढाएका विद्यार्थीसँग पढ्न पनि थालिन्।
शिक्षाशास्त्र संकायअन्तर्गत मुख्य विषय नेपाली लिएर पढेकी उनले कक्षा ११ को परीक्षामा सी प्लस ग्रेड ल्याएकी थिइन्। कक्षा १२ मा त्योभन्दा राम्रो नतिजा आउने आशामा छिन्।
‘उमेर छँदा चाहना भएर पनि धेरै पढ्न पाएको थिइनँ। ढिलै भए पनि आफ्नै विद्यालयमा आफैंले पढाएका विद्यार्थीसँग प्लस टु पढ्ने अवसर पाएँ,’ उनले भनिन्।
गुरुङ भारतको विहार राज्यस्थित पूर्णिया जिल्लाको गढबनैलीमा जन्मिएकी थिइन्। धादिङको ढुवाकोट घर भएका उनका बाबु पदमबहादुर त्यस ठाउँमा गाडी चलाउने काम गर्थे। परिवारसँगै विहारमा रहेकी उनले दश कक्षासम्म त्यहीँ पढिन्। विहार मेट्रिक बोर्डको परीक्षा उत्तीर्ण गरेपछि उनी नेपाल आएकी थिइन्। विवाहपछि उनी केही समयमा भारत बसेर चितवन आइपुगिन्।
भारतमा जन्मिएर त्यहीँ हुर्किएकी गुरुङको नेपाली भाषा कमजोर थियो। उनले प्राथमिक तहको अस्थायी शिक्षकको रूपमा अंग्रेजी विषय पढाउन थालिन्। केही वर्षपछि उनी श्रीमान भवबहादुरले पढाउने गरेको कविलास माविमा सरुवा भइन्। २०६८ सालको जनगणनाका क्रममा पहाडी क्षेत्रमा खटेर फर्किएपछि बिरामी परेका श्रीमानको केही समयमा निधन भयो। श्रीमानको निधनले शोकमा परेकी उनमा केही गरौं भन्ने उर्जा पलाउन केही वर्ष लाग्यो।
‘पढाउन थालेको २२ वर्षपछि बल्ल म स्थायी भएँ। त्यसपछि बल्ल ममा उर्जा आयो। योग्यता बढाउन पाए अझ राम्रो हुन्थ्यो कि भन्ने सोच पलायो,’ उनले भनिन्, ‘आफ्नै विद्यालयमा प्लस टुको पढाइ हुन्छ म किन नपढ्ने भन्ने लाग्यो।’
कविलास माविका २३ जना शिक्षकमध्ये योग्यता एसएलसी तह उत्तीर्ण ममताकुमारीमात्रै थिइन्। अन्यले कम्तीमा प्रमाणपत्र तह पास गरेका थिए। उनलाई लाग्यो, ‘ममात्रै किन पछि पर्ने?’
उनले बुढेसकालमै भए पनि फुर्सद्को समय उपयोग गर्दै अध्ययनलाई अघि बढाउने निर्णय गरिन्। कक्षा ११ मा भर्ना भएको साल उनले पढ्न छाडेको ३० वर्ष पुगिसकेको थियो।
‘अहिले सम्झँदा ढिलै भए पनि राम्रो निर्णय गरेछुजस्तो लाग्छ,’ गुरुङले भनिन्, ‘म पनि कोहीभन्दा कम छैन भनेर आत्मविश्वास जागेको छ, सबैभन्दा ठूलो कुरा त मनैदेखिको आफ्नो रहर पूरा भएको छ।’
कक्षा ११ र १२ पढ्न निकै मेहनत गर्नु परेको उनले सुनाइन्। नेपाली भाषामा कमजोर विद्यार्थीले मुख्य विषय नेपाली नै लिएर पढ्दा धेरै मेहनत गर्नु परेको थियो उनलाई। त्यसमाथि घरको दैनिक कामधन्दा पनि उनकै जिम्मेवारी थियो। ‘बुढेसकाल लागेपछि आँखा कमजोर हुँदो रहेछ, राति त आँखाका कारण पढ्नै नसकिने। बिहान खाना पकाउँदै पढ्दै गरें, खाली समय भयो कि किताब पल्टाइहाल्थें,’ उनले भनिन्, ‘नजानेका कुराहरू शिक्षकलाई सोधिहाल्थें।’
एउटै विद्यालयमा, एकै दिनमा उनी कहिले शिक्षक त कहिले विद्यार्थीको भूमिकामा प्रस्तुत हुन्थिन्। अन्य शिक्षक उनका लागि कहिले सहकर्मी त कहिले गुरु हुन्थे।
‘आफूले पढाउने पालो नपर्दा पढ्ने कक्षामा पसिहाल्थें,’ उनले सुनाइन्।
उक्त विद्यालयमा नेपाली विषय पढाउने शिक्षक बुद्धिमान केसी ममताकुमारी पाको उमेरको भए पनि सिकाइमा निकै अग्रसर भएको पाएको बताउँछन्। ‘सहकर्मी भए पनि पढाउने क्रममा अन्य विद्यार्थीलाई जस्तै व्यवहार गरेर पढाउँथें, अन्य विद्यार्थीहरूले पनि उहाँलाई सम्मान गर्थे,’ उनले भने।
उक्त विद्यालयकी शिक्षिका सूर्यमाया सुवेदी ममताकुमारीले विगतमा विभिन्न घरायसी कारणले समयमा पढ्न नपाएको गुनासो सधैँजसो सुनाउने गरेको बताउँछिन्।
‘तर, जागिर खाएको लामो समयसम्म स्थायी नियुक्ति हुन नसकेको पीडा उहाँमा थियो। ढिलै भए पनि स्थायी हुनुभयो, त्यसपछि त बुढेसकालै भए पनि पढ्छु भन्ने जाँगर चलाउनुभयो,’ उनले भनिन्, ‘चाहना भयो भने केले रोक्दो रहेछ र!’
बल्ल-बल्ल स्थायी नियुक्ति पाएकी ममताकुमारी गुरुङमा अब यो योग्यताले एक तह बढुवा हुने आशा पनि थपेको छ।
उनको पढ्ने भोक भने अझै सकिएको छैन। स्नातक तह पनि पढ्ने मन छ। गाउँ छाडेर टाढा गएर पढ्ने अवस्थामा नभएको उनी बताउँछिन्।
‘अहिले पढाइरहेकै विद्यालयमा स्नातक तहको पढाइ सुरू भयो भनेचाहिँ म यो धोको पनि पूरा गर्छु,’ उनले भनिन्, ‘गाउँ छाडेर पढ्न जाने अवस्था त अब छैन।’
साथी, सहकर्मीको हौसला र विद्यार्थीको शुभेच्छाले गर्दा यो उमेरमा पनि पढ्ने जाँगर चलेको उनले बताइन्। लामो समयको अन्तरालमा पुनः अध्ययन सुरू गर्ने कुरामा उनको परिवारको पनि साथ रह्यो। हाल स्वरोजगार बनिसकेका २४ र ३० वर्षीय छोराहरूले उनलाई अध्ययनमा हौसला दिएका थिए।
‘यो उमेरमा प्लस टुको अध्ययन सकेपछि मलाई अन्य महिलालाई पनि अध्ययनमा लाज नमान्न सल्लाह दिनुपर्छ भन्ने लागेको छ,’ उनले भनिन्, ‘मनमा इच्छा छ भने त्यसलाई दबाएर राख्ने होइन, इच्छा पूरा गर्नतिर लाग्नुपर्छ। मेहनत गर्नेलाई उमेरले छेक्दैन भनेर सल्लाह दिन्छु।’