चितवन राष्ट्रिय निकुञ्जले चितवनको कालिका-११ घर भएका ठूलोकान्छा प्रजाविरूद्ध गैंडा मारी खाग तस्करीको मुद्दा २०६७ सालमै दर्ता गरेको थियो। २०७२ साल असार ३० गते उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भयो।
ठूलोकान्छासँगै उनका छोरा करण प्रजाविरूद्ध पनि १५ वर्षको कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो। त्यतिखेर गैंडा मार्ने कार्यमा ठूलोकान्छा र उनका १४ वर्षीय छोरा संलग्न रहेको भनेर मुद्दा दर्ता भई फैसला भएको थियो। उनीहरू पक्राउ परेनन्।
उनी कहिले ठूलोकान्छा, कहिले सागर प्रजा नाम बताएर ठाउँ फेर्दै बस्ने गरेका थिए। पछि निकुञ्जले सागर प्रजा नामका व्यक्ति माथि गैंडा चोरी सिकारीकै अर्को मुद्दा दर्ता गर्यो। उक्त मुद्दामा उनलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भयो। निकुञ्जले ती व्यक्ति तिनै ठूला कान्छा हुन् भन्ने ठाने पनि गलत निस्कियो। उनी लामो समयसम्म पक्राउ परेनन्।
गैंडा मारेर खाग बिक्री गर्ने गिरोहको खोजीमा रहेको टोलीले गत भदौमा काठमाडौंबाट कवि नामले चिनिने रामकुमार श्रेष्ठलाई पक्राउ गर्यो। तस्करको खोजीमा रहेको टोली रामकुमारको सूचनाका आधारमा विन्द्रसिंह प्रजासम्म पुग्यो। रामकुमारले २०७७ जेठमा निकुञ्जको घाँघरपोष्टदेखि डेढ किलोमिटर पर पर्ने ढड्डाघारीमा गैंडा मार्न आफूले विन्द्रसिंहलाई पनि पठाएको बयान दिएका थिए। उनकै सूचनाको आधारमा तनहुँबाट गत जेठ ७ गते पक्राउ परेका थिए विन्द्रसिंह।
विन्द्रसिंह उनै व्यक्ति थिए जसलाई गैंडाको चोरी सिकारीको मुद्दामा १२ वर्षअघि निकुञ्जले मुद्दा दायर गरेको थियो ६ वर्षअघि सजायको फैसला भएको थियो। कहिले ठूलोकान्छा, कहिले सागर प्रजाको नामबाट चोरी सिकारीमा संलग्न हुने गरेका उनको वास्तविक पहिचान सजाय तोकिएको ६ वर्ष पछि बल्ल भयो।
रामकुमारकै सूचनाको आधारमा निकुञ्जको टोली मकवानपुरको साविक सरिखेत गाविस-९ ठेगाना भएका करण मोक्तानसम्म पुग्यो। २९ वर्षीय करण मोक्तान निकुञ्जले २०६७ सालमै गैंडा चोरी सिकारीको मुद्दा दर्ता गरेका विन्द्रसिंहका छोरा करण प्रजा थिए। चितवन घर भएका उनले मकवानपुर पुगेर मोक्तान थर राखेर नागरिकता बनाएका थिए।
फरार अभियुक्तका रूपमा रहेका विन्दरसिंह प्रजा अहिले जिल्ला कारागार चितवनमा छन्। उनीविरूद्ध २०७७ सालमा अर्को गैंडा मारेको मुद्दा पनि थपिएको छ।
निकुञ्जकाअनुसार बमबहादुर प्रजा नामका व्यक्ति विन्द्रसिंहका नजिकका आफन्त हुन्। निकुञ्जको फरार अभियुक्तको सूचीमा रहेका उनको संलग्नतामा अहिलेसम्म गरेर करिब एक दर्जन गैंडा मारेका छन्। बमबहादुरकै संरक्षणमा विन्द्रसिंह, करणलगायतका धेरै चेपाङहरू गैंडा तस्करीमा संलग्न छन्।
खागको पछि लाग्दा भेटिए मृत गैंडा र तस्कर
एकसिंगे गैंडाको खागको कारोबारीको खोजीमा रहेको टोलीले रामकुमार र विन्दरसिंगले दिएको सूचनामार्फत् २०७६ सालको कात्तिकदेखि २०७७ असोजसम्ममा निकुञ्जमा थप ६ वटा गैंडा सिकारीले मारेको रहस्य फेला पारेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। उनीहरूकै सूचनाको आधारमा चारवटा गैंडाको चोरी सिकारीमा संलग्न रहेका ८ जनालाई पक्राउ गरिएको बरालले बताए।
चितवन निकुञ्जले उक्त अवधिमा ६ वटा गैंडाहरू मात्रै सिकारीका कारण मारिएको भेटेको थियो। ती गैंडाको सिकारीमा संलग्न ३१ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो।
‘खाग बिक्रीमा संलग्न व्यक्ति पक्राउ परेपछि थप ६ वटा गैंडासमेत सिकारीले मारेको जानकारी पाइयो, उसले भनेअनुसार खोज्दै जाँदा गैंडाका अवशेषहरू फेला परे,’ बरालले भने, ‘सिकारीमा संलग्न भएको आशंकामा ८ जनालाई समात्यौं, थप ९ जना फरार छन्।’
रामकुमारलाई निकुञ्जले यसअघि पनि २ पटक पक्राउ गरेको थियो। तर उनी धरौटीमा छुट्दै आएका थिए।
कोरियाबाट फर्केर बने गैंडा सिकारी
नवलपुरको बुलिंगटार-१ कोटथर ठेगाना भएका ३२ वर्षीय गोपाल सारू ५ वर्ष कोरिया बसेर फर्किए। चतुरे नामले चिनिने उनी गैंडाकोट-१ धारापानी बस्थे।
कोरियाबाट फर्किएपछि उनले केही साथीसँग मिलेर काठको व्यवसाय गर्ने सोच बनाए। व्यवसायको योजनाको सिलसिलामै उनको भेट रामकुमार श्रेष्ठसँग भयो। उनको काठको व्यवसाय सफल भएन।
लामो समय विदेश बसे पनि खासै पैसा कमाउन नसकेका गोपाललाई नेपालमा धेरै पैसा कमाउने काम चाहिएको थियो। रामकुमारले उनलाई सजिलोसँग धेरै पैसा आउने काम लगाइदिए ‘गैंडा सिकारी’ को। उनले २०७७ भदौमा निकुञ्जको आइल्याण्ड क्षेत्रमा गैंडा मारेको स्वीकार गरेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। गोपाल सारू गत साउन ३२ गते पक्राउ परेका थिए। आइल्याण्ड क्षेत्रमा गैंडा मार्ने कार्यमा संलग्न अन्य ४ जना भने फरार रहेको अधिकारीले बताए।
सिकारीमा तीन दाजुभाइ
मकवानपुरको मनहरी गाउँपालिका-४ मसिने टोग्राङ खोला बस्ने ३० वर्षीय जयबहादुर प्रजा, ३६ वर्षीय दिलबहादुर प्रजा र सुरेश प्रजा दाजुभाइ हुन्। एकाघरका चार दाजुभाइमध्ये यी तीन जना गैंडा तस्करीको अभियोगमा पक्राउ परेका छन्।
जयबहादुर र दिलबहादुरमाथि सौराहाको पारि पर्ने बहपुर खोला क्षेत्रमा २०७६ कात्तिकमा गैंडा मारेको अभियोग छ। सुरेशमाथि करण प्रजा र मनहरीकै २७ वर्षीय सरोज मोक्तानसँग मिलेर निकुञ्जको घाँघर क्षेत्रमा पर्ने बाटुली चौरको खोल्सीमा २०७७ सालको असोजमा गैंडा मारेको अभियोग छ।
मोक्तानलाई भने फोक्सोमा समस्या देखिएपछि सम्बन्धित वडा कार्यालयको रेखदेखमा रहने गरी परिवारको जिम्मा लगाइएको अधिकारीले बताए।
निकुञ्जले घाँघरपोष्टदेखि डेढ किलोमिटर पर पर्ने ढड्डाघारीमा २०७७ जेठमा गैंडा मारेको अभियोगमा माडी-७ देवेन्द्रपुरका राजन गुरुङलाई पनि नियन्त्रणमा लिएको छ। आठै जनालाई मंगलबार अदालतमा पेश गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए।
सिकारी नयाँ, परिचालन गर्ने व्यक्ति उही
गैंडा मारेर खाग विदेशीलाई बिक्री गरेको अभियोगमा चितवन निकुञ्जले पक्राउ गरेर मुद्दा चलाएको नाङ्गे तामाङ केही दिनअघि पुर्पक्षका लागि कारागार चलान भएका छन्। अहिले पक्राउ परेका रामकुमारले तिनै नाङ्गे लगायतका व्यक्तिसँगको समन्वयमा गैंडा मार्ने व्यक्तिहरू परिचालन गर्ने काम गर्ने गरेका थिए।
फरार रहेका भनिएका बमबहादुर पनि गैंडा मार्न सोझा तथा विपन्न व्यक्तिहरू तयार पार्ने काम गर्ने गरेको सूचना पाएको बरालले बताए। उनीहरूले केही हजार रुपैयाँ दिएर त्यस्ता व्यक्तिहरूलाई गैंडा मार्न प्रयोग गर्ने गरेको निकुञ्ज बताउँछ।
‘गैंडा मार्ने काममा संलग्न व्यक्ति नयाँ आए पनि उनीहरूलाई परिचालन गर्ने व्यक्ति उही छन्,’ प्रमुख संरक्षण अधिकृत बरालले भने, ‘निकुञ्जले उनीहरूलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको छ।’
उनले निकुञ्जको सूचना संयन्त्र कमजोर र तस्कर पत्ता लगाउन आवश्यक पर्ने प्रविधि स्तरीय नहुँदा तस्करलाई नियन्त्रणमा लिन अप्ठेरो भइरहेको बताए।
‘तस्करहरू नाम, ठेगाना, मोबाइल नम्बर परिवर्तन गरेर हिँडिरहेका छन्। उनीहरूसम्म पुग्न जुन किसिमको सूचना संयन्त्र र प्रविधि आवश्यक पर्ने हो त्यो हामीसँग नहुँदा समस्या भइरहेको छ,’ उनले भने, ‘तैपनि हामी भएका स्रोत, साधन र जनशक्तिको परिचालन गर्दै खटिरहेका छौं।’
उनले निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सिआइबीलगायतको सहयोगमा तस्करी नियन्त्रणका लागि काम भइरहेको बताए।