पर्यटकको पथ प्रदर्शक बनेर चितवन राष्ट्रिय निकुञ्जको कुना-कुनामा पुग्ने ३२ वर्षीय सञ्जोग कुमाल सौराहा नजिकैको राप्ती नदीमा फोहोर उठाउँदै गरेका भेटिए।
काठको डुंगामा उभिएका उनीसहितका केही व्यक्ति नदीमा बाँसको लाठी उधिनेर प्लास्टिक निकाल्दै थिए।
कोरोनाभाइरसको महामारीका कारण पर्यटन क्षेत्र बन्द भएपछि १८ महिनादेखि कामविहीन सञ्जोगले अहिले १० दिनका लागि काम पाएका छन्। प्लास्टिकजन्य फोहोरले प्रदुषित नदी सफा गर्ने काममा सहभागी भएबापत् उनले दैनिक एक हजार रुपैयाँ पाउँछन्।
‘दशैंको मुखमा यति भने पनि काम पाउँदा खुसी छु। यहाँबाट आउने पैसाले परिवारलाई चाड मनाउन सहयोग पुग्ने भयो,’ उनले खुसी व्यक्त गरे।
नेपाल पर्यटन बोर्डमार्फत् प्राप्त युएनडिपीको ४८ लाखमा रत्ननगर नगरपालिकाले १२ लाख थपेर केही दिनदेखि सौराहा क्षेत्रका नेचर गाइड तथा मजदुरहरूलाई काम दिन थालिएको छ। महिनौंदेखि रोजगारी गुमाएका ५०० जना पर्यटन मजदुरहरूले जीविकोपार्जन पुनरोत्थानको लागि दीगो परियोजना कार्यक्रमअन्तर्गत दश दिनको काम पाएका हुन्।
यो कार्यक्रमअन्तर्गत सौराहानजिक रहेका राप्ती, बुढीराप्ती, ढुंग्रे र खगेरी खोलाको सफाइ गर्नुका साथै राप्ती किनारमा आकर्षक पार्क बनाउने लक्ष्य छ।
११ वर्षदेखि नेचर गाइडको काम गर्दै आएका सञ्जोगले पर्यटकीय चहलपहल हुँदा दैनिक २ हजार रुपैयाँभन्दा बढी कमाउँथे। त्यही कमाइले घर चलाउँथे। दुई छोरा, छोरीलाई पढाउँथे। कामविहीन भएपछि खेती किसानी गरेर उनको दिन बित्ने गरेको छ।
‘विगतमा स्वदेशी, विदेशी पर्यटकलाई निकुञ्जको कुना-कुनासम्म पुर्याएको छु,’ उनले भने, ‘पोहोर केही महिना जंगल सफारी खुल्दा पनि आन्तरिक पर्यटकलाई घुमाएर केही कमाई भएको थियो, त्यसयता त फेरि ठप्पै भयो।’
सौराहानजिकै घर भएका भोजराज महतोले सरकारी निकायले दिएको कामले राहत मिलेको बताए।
‘बेला-बेलामा आफैं पनि नदीको सरसफाइमा लागिरन्थें, अहिले नभए पनि पछि आउने पर्यटकलाई आकर्षित गर्न वातावरण स्वच्छ हुनु आवश्यक छ भनेर सरसफाइमा सहभागी हुन्थें,’ उनले भने, ‘अहिले सरकारी निकायले हाम्रो समस्या केही हदसम्म भने पनि देखेछ क्यारे। दश दिन भने पनि काम पाउँदा राहत महसुस भएको छ।’
उनले पर्यटकको सेवाका लागि दिनरात खट्ने मजदुरका लागि आर्थिक संकट परेको बेलामा गर्जो टरेको बताए। विगतमा पर्यटक घुमाएर महिनामा ३० हजार बढी कमाउने गरेका भोजराजले कामविहीन भएपछि बंगुर, बाख्रा पाल्न थालेका छन्।
‘केही जमिनमा अधियाँमा धान रोपेको छु, बंगुर र बाख्रा पाल्न थालेको छु,’ उनले भने, ‘कोरोना नियन्त्रण भए फेरि पर्यटन क्षेत्र लयमा फर्कने आशा छ।’
लामो समयदेखि होटल बन्द हुँदा सौराहाका सयौं मजदुर पलायन भएका छन्। बाँकी रहेका पनि आर्थिक समस्याले थिचिएका छन्। सौराहाका होटल तथा रेष्टुराँमा पाँच हजार ५०० मजदुरले काम गर्दै आएकोमा अधिकांश घर बिदामा छन्।
नेचर गाइड एसोसिएसन सौराहाका अध्यक्ष राजेन्द्र धामीका अनुसार चितवनमा ७०० जना बढी नेचर गाइड रहेकोमा करिब ४०० जनाले विशुद्ध यो पेशामात्रै अंगालेका थिए। उनीहरूमध्ये दुई दर्जन बढी विदेश पलायन भइसकेको र धेरैजना विदेशिने तयारीमा रहेको धामीले बताए।
‘पर्यटन क्षेत्र अस्तव्यस्त बन्दा प्राकृतिक क्षेत्र पनि अव्यवस्थित बन्दै छ। नदीहरू फोहोरले भरिएका छन्,’ उनले भने, ‘यो अवस्थामा पर्यटन मजदुर र प्रकृति दुबैले राहत पाउने कार्यक्रमले उत्साह बढाएको छ।’ उनले केही पनि नहुनुभन्दा यति हुनु पनि ठूलो कुरो भएको बताए।
सौराहास्थित रेष्टुरेन्ट तथा बार एसोसिएसन(रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडाको संयोजनमा अहिले यस क्षेत्रका बेरोजगार युवाहरूका लागि रोजगारको यो कार्यक्रम चलिरहेको छ। खतिवडाले कुल ६० लाख बजेटको ८० प्रतिशत हिस्सा सरसफाइमा र बाँकी रकम संरचना निर्माणमा खर्च गर्नेगरी काम भइरहेको बताए।
२० प्रतिशत रकमले सौराहाको पल्लो छेउमा रहेको राप्ती नदीको आडमा पार्क बनाउने काम भइरहेको छ। पार्कमा ढुंगाहरू राखेर त्यसमा मूर्ति कुँद्ने तयारी रहेको खतिवडाले बताए।
‘यी सबै काममा कोरोनाभाइरसको असरले काम गुमाएका मजदुर खटिरहेका छन्,’ खतिवडाले भने, ‘सौराहालाई स्वच्छ, हराभरा र सुन्दर बनाउनुका साथै आर्थिक संकटमा रहेका पर्यटन मजदुरहरुलाई आयआर्जनमा मदत पुगोस् भनेर यो कार्यक्रम चल्दैछ।’
खतिवडाले कोरोना संक्रमणको दर घट्दै गएपछि सौराहामा आन्तरिक पर्यटक आउन थालेको भन्दै यहाँको अवस्थाको बारेमा विदेशीलाई पनि सन्देश दिँदै जाने बताए।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले यस कार्यक्रममार्फत् सौराहाको भिजिटर सेन्टरमा आकर्षक बगैँचा बनाइने बताए। बेरोजगार रहेका मजदुरलाई काम काम दिएर सौराहा किनारलाई आकर्षक बनाइने उनले बताए।