मेडिकल सिटीका रुपमा चिनिने भरतपुरमा दर्जनौं अस्पताल, सयौं फार्मेसी तथा पोलिक्लिनिकहरु छन्।
उपचारका लागि आउने सेवाग्राही ठूलो आशा बोकेर यी स्वास्थ्य संस्थाहरुमा पुग्छन्। तर यहाँका कतिपय स्वास्थ्य संस्थाले भने मानव स्वास्थ्यमा गम्भीर असर पार्ने औषधि बिक्री गरेर सेवाग्राहीको स्वास्थ्यसँग खेलवाड गरिरहेको खुलेको छ।
स्वास्थ्य संस्थाले भरिएको भरतपुर अस्पताल रोडका पोलिक्लिनिक तथा फार्मेसीहरुमा आइतबार गरिएको अनुगमनमा पोलिक्लिनिकहरुले मापदण्ड पुरा नगरेको र फार्मेसीहरुले म्याद गुज्रिएका औषधिहरु पनि विक्रीका लागि राखेको भेटिएको हो।
अनुगमनको नेतृत्व गरेका चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले नियमित अनुगमनको क्रममा स्वास्थ्य संस्थाहरुले नियम उल्लंघन गरेको भेटिएपछि कारबाही प्रकृया अघि बढाएको बताए।
चौबीसकोठी नजिकै रहेका आधा दर्जन बढी फार्मेसी र पोलिक्लिनिकमा गरिएको अनुगमनमा सबैले कुनै न कुनै नियम उल्लंघन गरेको भेटिएको शर्माले बताए। ‘बिरामीको उपचार गर्नुपर्ने दायित्व रहेको पोलिक्लिनिकहरु दर्ता नै नगरी सञ्चालन भएको, कतिपय पोलिक्लिनिक दर्ता भएपनि बिना अनुमति दाँतको उपचार गरेको, आर्थिक कारोबार प्रकृयासम्मत नभएको, भौतिक पूर्वाधार उपयुक्त नभएको र असाध्यै दुर्गन्धित भेटियो,’ शर्माले भने, ‘यस्ता स्वास्थ्य संस्थालाई शिल गरेर जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएका छौं।’
उनले फार्मेसीहरुले तोकिएको अधिकतम मूल्य भन्दा बढीमा औषधि विक्री भइरहेको, मिति गुज्रिएका औषधिको व्यवस्थापन नगरेको र लागू औषधका रुपमासमेत प्रयोग गरिने औषधि डाक्टरको प्रेस्किप्सन बिना विक्री गरिरहेको भेटिएको बताए।
‘यस्तो कार्यले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले सञ्चालकहरुलाई कारबाही गर्नुपर्ने देखियो,’ उनले भने, ‘केही फार्मेसीबाट मिति गुज्रिएका औषधिहरु जफत गरेका छौं।’
चितवनमा फार्मेसीहरुले औषधिको मूल्यमा मनपरी गरेको गुनासो सर्वसाधारणले गर्ने गरेका थिए। गुनासो बढ्दै गएपछि सरोकारवाला संस्थाहरुको सहभागितामा आइतबार अनुगमन गरिएको हो। सो क्रममा अस्पताल रोडमा रहेको नबल पोलिक्लिनिकले मापदण्ड पुरा नगरी सेवा सञ्चालन गरेको, भरतपुर पोलिक्लिनिकले बिना दर्ता दाँतको उपचार सेवा सञ्चालन गरेको, स्वास्थ्य संस्थाका लागि संरचना अनुपयुक्त रहेको, दुर्गन्धित भेटिएको, एपोलो डेण्टल क्लिनिकले बिना बिल आर्थिक कारोबार गरेको, मिराकल फार्मेसीले अधिकतम मूल्य भन्दा बढीमा औषधि बेचेको प्रमाण भेटिएको, मिति गुज्रिएको औषधि बेचेको, रिजन फार्मेसीले लागू औषधकारुपमा पनि प्रयोग गर्ने गरिएको औषधिको अभिलेख नराखी खुल्ला रुपमा विक्री गरेको भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि शिवप्रसाद पौडेलले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी शर्माले स्वास्थ्य संस्थामा बेथिति पाइएकाले अनुगमनलाई नियमित बनाउने बताए। साथै नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने उनले बताए।
बजार अनुगमनका लागि जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको संयुक्त बजार अनुगमन संयन्त्र रहन्छ। यसमा सरोकारवाला संस्थाका प्रतिनिधि सहभागी हुन्छन्।
आइतबारको अनुगमनमा भरतपुर महानगर, भरतपुर अस्पताल, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधिहरु पनि सहभागी थिए। भरतपुर अस्पतालका फार्मेसी विभाग प्रमुख सविन लामिछानेले औषधिको विक्रीमा मनोमानी हुँदा उपभोक्ता समस्यामा परेको गुनासो धेरै आउने गरेको बताए। यसलाई व्यवस्थापन गर्न नियमित अनुगमनको खाँचो रहेको उनले बताए।
प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐनमा नियम विपरीत विक्री गरेमा ३ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ। त्यस्तै उपभोक्ता अधिकार ऐनले ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना गराउने र पसलमा शिलबन्दी गर्ने अधिकार निरीक्षण अधिकृतलाई दिएको छ।
वर्षभरी सुस्ताउने अनुगमनका संयन्त्रहरु चाडपर्व नजिकिएसँगै बजार पस्ने गर्छन्। केही दिनयता भरतपुर, नारायणगढलगायतका बजारमा खाद्य अनुगमन पनि चलिरहेको छ। पोलिक्लिनिक सञ्चालकले भने अनुगमनमा पुगेको टोलीसँग संस्था सञ्चालनका लागि आवश्यक प्रकृयाका बारेमा नै आफू अनविज्ञ रहेको बताएका थिए।