शुक्रबार बिहान नारायणगढस्थित क्याम्पाचौरको एक छेउमा लहरै टहरा बनेका देखिए। कंक्रिट ब्लकले बारेको एउटा र प्लास्टिक, कार्टुनहरूले बारेका पाँच वटा टहरा वरपर केही व्यक्तिको चहलपहल देखिन्थ्यो।
केहीबेरमा चौरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका भरिभराउ गाडी आइपुगे। लगत्तै प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरका मेयरलगायतका अधिकारी, जनप्रतिनिधिहरू आइपुगे। चौरको अर्को छेउमा महानगरपालिका, पालिकाभित्रका विभिन्न इकाइदेखि प्रमुख जिल्ला अधिकारीको कार्यकक्षसमेत तयार भयो। स्थानीय एफएमका स्टेसनहरू पनि चौरमै तयार भए।
एम्बुलेन्स, वरूणयन्त्रको साइरनले माहोल गुञ्जयमान भयो। स्थानीयबासी पनि जुटे। एकाबिहानै जिल्लाका विशिष्ट अधिकारीसहितका सयौं मान्छेहरू यहाँ भेला भए।
केहीबरमा चौरमा हल्लाखल्ला मच्चियो। भूकम्प आयो भन्दै मान्छेहरू रूवाबासी गर्न थाले। एफएमहरूले ७.३ रेक्टर स्केलको भूकम्प गएर धेरै मान्छेको ज्यान गएको, धेरै घाइते भएको समाचार सुनाउन थाले।
भूकम्पले भत्किएका घरमा केहीबेरमा सुरक्षाकर्मी पुगेर उद्धार सुरू गरे। स्वयंसेवकहरू पनि उद्धारका लागि पुगे। कोही घाइतेको उपचारमा खटिए।
लगत्तै चौरमा रहेको एउटा पसलमा आगलागी भयो। स्थानीयको भागाभाग हुन थाल्यो। आगो अन्य घरमा फैलन थालेपछि उनीहरू स्याउला, पानीले आगो निभाउन थाले। केहीबेरमा वारुणयन्त्रले आगो निभाउन थाल्यो। स्वयंसेवकले सघाए। आगलागीका घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइयो।
युरोपियन युनियनको आर्थिक सहयोगमा भरतपुर महानगरपालिका, युएनडिपी, फरवार्ड नेपाललगायतका संस्थाले नारायणगढमा गरेको भूकम्प, आगलागी र सडक दुर्घटनामा आधारित कृत्रिम घटना अभ्यासको विवरण हो यो।
शुक्रबार करिब तीन घन्टा लगाएर गरिएको यो कार्यक्रमका लागि यी संस्थाहरूले करिब ८ लाख रुपैयाँ खर्च गरेका छन्। शुक्रबारको कार्यक्रमसम्म पुग्नका लागि युरोपियन युनियन, युएनडिपी र फरवार्ड नेपालले भरतपुर महानगरपालिकासँगको साझेदारीमा २२ महिनादेखि सहरी विपद् पूर्वतयारी परियोजना सञ्चालन गरेका थिए।
परियोजनाका अधिकृत उत्तम अर्यालकाअनुसार यो अवधिमा भूकम्प, आगलागी, सडक दुर्घटनाजस्ता विपद् व्यवस्थापनका लागि महानगरको वडानम्बर २ र १० मा करिब ३ सय स्वयंसेवकहरू तयार भएका छन्। जसले विपद् आइपर्दा त्यसको उचित तवरबाट सामना गर्ने र व्यवस्थापनमा खटिने जनशक्तिलाई सघाउने छन्।
यो सब कामका लागि अहिलेसम्म एक करोड ७० लाख रुपैयाँ खर्च भएको अर्यालले बताए। ‘हामीले महानगरको घना बस्ती, सुकुम्बासी बस्ती, एम्बुलेन्स तथा वारुणयन्त्र जान नमिल्ने सडक भएको क्षेत्रहरूलाई प्राथमिकतामा राखेर यो परियोजना सञ्चालन गरेका हौं,’ उनले भने, ‘ती क्षेत्रमा आइपर्ने विपद् व्यवस्थापनमा सघाउने जनशक्ति तयार गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो।’
भरतपुरसँगै ललितपुर महानगरपालिकाका दुई वडा र दोलखाको भीमेश्वर नगरपालिकाको एक वडामा पनि यस्तै परियोजना चलिरहेको छ।
भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाकाअनुसार गत वर्षमात्रै भरतपुर महानगरपालिका भित्र ७९ वटा आगलागीका घटना भएका छन्। यसबाहेक महानगर भित्र बाढी, पहिरो, चट्याङ, सवारी दुर्घटना, वन्यजन्तुको आक्रमण, भूकम्पजस्ता विपद्का जोखिम पनि उस्तै छ। नारायणीको बाढी र केही पहाडी क्षेत्रमा झर्ने पहिरो महानगरको सधैँको समस्या हो। बढ्दो सहरीकरणसँगै सवारी दुर्घटना पनि बढ्दो छ। जंगली जनावरको आक्रमण त यहाँका लागि सामान्य विषय हो। महानगरसँगै आगलागी बाहेकका विपद्को तथ्यांक भने छैन।
थपलियाले विपद् व्यवस्थापनकै लागि भनेर बजेट नभए पनि महानगरले भइपरी आउने विपद् व्यवस्थापनका लागि १ करोड ९० लाख रुपैयाँको कोष खडा गरेको बताए।
‘विपद् पर्दा त्यही बजेट प्रक्रिया पूरा गरेर खर्च हुन्छ,’ उनले भने, ‘करिब ६० लाख रुपैयाँ बजेट पूर्वतयारीमा खर्च हुन्छ।’
कोरोना महामारीलाई लक्षित गरी भरतपुर महानगरपालिकाले १ करोड ५० लाख रुपैयाँको कोष बनाएको छ। यसलाई पनि विपद् व्यवस्थापनकै बजेट मान्ने गरिएको छ।
थपलियाले विपद् आइपर्दा अहिले बनेका विपद् प्रतिकार युनिटहरू कसरी परिचालन हुन्छन् भन्ने विषयमा कृत्रिम अभ्यास गरिएको बताए।
‘यस्ता घटनाहरू आउँदा कसरी व्यवस्थापन गर्ने भनेर हामीले अभ्यास गरेर हेरेका हौं,’ उनले भने, ‘पूर्व तयारी राम्रो गर्न सके विपद् आइपर्दा व्यवस्थापनमा सहज हुन्छ।’
उनले पूर्व तयारी राम्रो भए व्यवस्थानमा धेरै रकम आवश्यक नपर्ने दाबी गरे।
विपदमा बजेट: तयारीमा फालाफाल, परिआउँदा बेहाल
विपद् व्यवस्थापनको पूर्व तयारीमा दाताहरूको साथ लिएर करोडौं खर्च गरिरहेको भरतपुर महानगरपालिकासँग विपद् आइपर्दा व्यवस्थापन गर्ने संयन्त्र तथा उपकरणको भने अभाव छ।
आगलागीको समस्यालाई मुख्य विपद् ठानेर पूर्वतयारीमा करोडौं खर्च गरिएको यहाँ आगलागी भइहाले त्यसलाई नियन्त्रणमा लिने वारुणयन्त्र पर्याप्त छैन। वारुणयन्त्र शाखाका प्रमुख देवेन्द्रराज रेग्मीकाअनुसार यहाँ अहिले ४ हजार र ५ हजार लिटर पानी बोक्ने क्षमता भएका दुई वटा वारुणयन्त्र मात्रै छन्।
‘महानगरको कार्यालयबाट नजिकै घटना भए त यी वारुणयन्त्रले तुरुन्तै काम गरिहाल्छन् तर अलि पर घटना भए ठूलो क्षति हुने अवस्था छ,’ रेग्मीले भने, ‘खबर पाएर त्यहाँ पुग्दा ठूलो क्षति पुगिसक्छ।’
उनले महानगरको क्षेत्र ठूलो भएका कारण सबै क्षेत्रमा सेवा दिनका लागि ठाउँ-ठाउँमा स्टेसन राख्नुपर्ने बताए।
‘भरतपुरबाट मेघौली ३२ किलोमिटर पर छ, त्यहाँ आगलागी भयो भने पुग्ने हामी नै हो,’ उनले भने, ‘८-१० किलोमिटरसम्म त ठीकै हो त्यति परसम्म हेर्नुपर्दा क्षति बढी हुन्छ। अहिले पश्चिम चितवनमा घटना भए व्यवस्थापन गर्न कठिन भइरहेको छ।’
उनले भरतपुरको वारुणयन्त्र भरतपुरमा मात्रै सीमित नभई परिआए जुनसुकै ठाउँमा पुग्ने गरेको बताए।
‘भरतपुर महानगरपालिकाकै लागि ४ वटा वारुणयन्त्रको आवश्यकता छ,’ उनले भने, ‘अहिले हामीसँग भएका ३ वटामा पनि एउटा बिग्रिएर थन्किएको छ।’
विपद् पूर्वको तयारीका लागि दिइएको तालिम र तालिमबाट तयार भएका स्वयंसेवकका कारण विपद् नियन्त्रणमा भने सहयोग पुगेको रेग्मीले बताए।
‘आगलागी हुँदा पहिले हामी कर्मचारीमात्रै खटिनुपर्दथ्यो तर अहिले हामी पुग्दा स्थानीय स्वयंसेवकहरूले नियन्त्रणको प्रयास गरिरहेका हुन्छन्, हामीलाई पनि सघाउँछन्। यसले त केही न केही सघाएकै छ,’ उनले भने, ‘पूर्व तयारीसँगै विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति र उपकरण पर्याप्त भए बल्ल सहज हुन्छ।’
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि विपद् व्यवस्थापनको विषय गम्भीर भए पनि प्राथमिकतामा नपरेको बताए।
‘व्यवस्थापनमा उद्धारसँगै राहत, बीमा पनि चाहिन्छ तर यसमा हामी पछाडि छौं,’ उनले भने, ‘आगामी दिनमा यी कुराहरू पनि प्राथमिकतामा पर्नुपर्छ।’
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विपद्का दृष्टिले महानगर जोखिममा रहेको बताइन्। यहाँ पुराना संरचना धेरै हुनका साथै भवन संहिता पालना नगरी भवनहरू बनेका र प्राकृतिक जोखिम पनि बढी रहेको उनले बताइन्। मेयर दाहालले विपद् आइपरिहाले त्यसलाई सहज रूपमा व्यवस्थापन गर्न पूर्वतयारीमा महानगरले काम गरिरहेको बताइन्।