गत असोज २८ गते भरतपुर महानगरपालिका–४ का भीमबहादुर विकको मृत्यु भएपछि चितवनमा दलित आन्दोलन एकाएक चुलियो।
दलित भएकै कारणले भीमबहादुरको हत्या भएको दाबी गर्दै दलितसँग सम्बन्धित संघ, संघठन आन्दोलित भए। अन्य जिल्लाका दलित अधिकारकर्मीहरू पनि यहाँ आएर आन्दोलनलाई चर्काउन सघाए।
बुवाको मृत्यु भएकै दिन छोरा किसान विकले स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठले आफ्नो बुवाको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। प्रहरीले पहिलो जाहेरी परेलगत्तै दुबै जनालाई नियन्त्रणमा लिएको थियो। दलित अधिकारकर्मीको आन्दोलन चर्किएसँगै किसानले अर्को जाहेरी पनि दिए। दोस्रो जाहेरीमा बुवाको मृत्यु हुनुका पछाडि जातीय छुवाछूत कारण रहेको उल्लेख थियो। उनले दलित भएकै कारण बस्नेत र श्रेष्ठले आफ्नो बुवाको हत्या गरेको जिकिर जाहेरीमा गरेका थिए। प्रहरीसँगको बयानमा पनि उनले यही कुरा बताएका थिए।
सामाजिक सद्भावमै खलल पुग्ने गरी दलित समुदायको आन्दोलन बढ्दै गएपछि भरतपुर-४ दुर्गाचोकस्थित दुर्गा मन्दिरमा दलित र गैरदलित समुदायको उपस्थितिमा सामूहिक पूजा गरिएको थियो।
घटना भएको करिब ६ महिना भएको छ। आवेश प्रेरित हत्या भनि मुद्दा चलाइएकोमा चितवन अदालतले भवितव्य ज्यानमा मुद्दा परिणत गर्दै बस्नेतलाई सफाइ दिएको छ।
श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिदिएको छ। कात्तिक २२ गते पुर्पक्षका लागि कारागार पठाइएका बस्नेत चैत २५ गतेको फैसलासँगै छुटेका छन्। श्रेष्ठ छुट्ने क्रममा छन्।
यो अवधिमा भीमबहादुरको परिवार उनको मृत्युमा जातीय छुवाछूत कारण थिएन भन्नेमा विश्वस्त भएका छन्। तर कुटपिटमा संलग्नलाई सामान्य सजायमात्रै भएकोमा उनीहरू दुःखी छन्। उनीहरू चितवन जिल्ला अदालतको फैसलाविरूद्ध पुनरावेदनको तयारीमा छन्।
श्रीमती विन्दु विकले श्रीमानको हत्यामा संलग्न मान्छे अविरजात्रा गर्दै गाउँ आएको सुन्दा असाध्यै पीडा भएको बताइन्।
‘अर्को पनि एक–दुई दिनमा छुट्दै छ रे,’ उनले भनिन्, ‘श्रीमान गुमाउँदाको पीडा भए पनि अदालतले न्याय देला भन्ने आशा थियो। तर न्याय पाइएन।’ उनले अदालतको फैसला सुनेपछि निद्रा हराएको बताइन्।
छोरा किसान विकले अदालतमा आफूले दिएको बयानलाई तोडमोड गरिएको बताए। यस विषयमा कानुन व्यवसायीसँग परामर्श गरिरहेको उनले बताए।
‘मैले बोल्दै नबोलेको विषय बोल्यो भनेर लेखिएको रहेछ। यो थाहा पाएपछि मैले कानुन व्यवसायीहरूसँग कुरा बुझिरहेको छु,’ उनले भने, ‘उही दिन साइकल चोरीको अभियोग लागेका मान्छे कारागारमै छन्, मान्छे मारेको अभियोग लागेको मान्छेलाई भने रिहा गर्ने आदेश आउनु दुःखद् कुरा भयो।’
किसानले अदालतमा दिएको बयानमा ‘बुझ्दै जाँदा सीताराम बस्नेतको कुटपिटका कारण मृत्यु भएको होइन भन्ने सुनेको छु। दुवै प्रतिवादीले कुटपिट गरेको देखेको होइन। मन्दिरमा पूजा गर्ने विषयमा भएको विवाद होइन र जातीय हिसाबले कुटपिट गरेको होइन। बुवा दिलीप श्रेष्ठको मेडिकलमा जाँदा अश्लिल शब्द बोलेकाले पिटेको भन्ने सुनेको हो देखेको होइन’ लेखिएको छ। त्यसअघि प्रहरीलाई दिएको बयानमा भने उनले बस्नेत र श्रेष्ठको कुटाइका कारण बुवाको मृत्यु भएको दाबी गरेका थिए।
‘धेरै मान्छे आएर दलित भएकै कारण बुवामाथि कुटपिट गरेर हत्या गरिएको भनेर मेरो कान फुके। मैले त्यही कुराको विश्वास मानें,’ उनले भने, ‘पछि बुझ्दै जाँदा जातीय छुवाछूतको विषयमा कुटपिट गरिएको होइन रहेछ भन्ने थाहा पाएँ। नबुझिकन जातीय छुवाछूतको कारण भनेर जाहेरी दिइएछ भन्ने अहिले लाग्छ।’
उनले दलित अधिकारको विषयमा कुरा उठाउने मान्छेहरू आएर कुरा गरेपछि विश्वास गरेको बताए।
‘बुवाको मृत्यु कुटपिटबाट भएको हो तर यससँग मन्दिर र छुवाछूतको विषय जोडिएको छैन भन्नेमा परिवार स्पष्ट भइसकेका छौं,’ उनले भने, ‘कुटपिटमा संलग्नलाई यति कम सजाय दिनु भनेको हामीमाथि अन्याय गर्नु हो। हामीले न्यायको अनुभूति गर्न पाएनौं।’
प्रहरीसँगको बयानमा बस्नेतले कालो रंगको पाइपले भीमबहादुरलाई हानेको र श्रेष्ठले देब्रे हातले दाहिने गालामा हान्दा सडकमा ढलेको बयान दिएका थिए। पछि अदालतको बयानमा भने दुबैले नपिटेको दाबी गरेका थिए।
मृतकको परिवारले माघ १९ गते गृह मन्त्रालयबाट १० लाख रुपैयाँ राहत रकम पाएका थिए। राहत रकम र दोषीलाई कानुनी कारबाहीको माग गर्दै परिवारले भीमबहादुरको शव तीन महिनासम्म बुझेको थिएन।
पोष्टमार्टम रिपोर्टले भीमबहादुरको मृत्यु हेड इन्जुरी अर्थात् टाउकोमा लागेको बोधो चोटका कारण भएको देखाएको छ।