चेपाङ समुदायमा अझै पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना बलियो छैन। पढाउनुपर्छ भन्ने जानेर पनि गरिबीका कारण विद्यालय पठाउन नसक्नेहरू धेरै छन्।
विकासको लहर गाउँ-गाउँमा पुग्न थालेको समयमा त अवस्था यस्तो छ भने तीन–चार दशक अघि कस्तो थियो होला!
अनकन्टार गाउँका सबै बाधा–व्यवधान झेल्दै पढेका रामकृष्ण प्रजा भने चेपाङ समुदायका एक उदाहरणीय पात्र बनेका छन्।
उनी हाल एक माध्यमिक विद्यालयमा प्रधानाध्यापक छन्। चेपाङ समुदायबाट माध्यमिक विद्यालयमा उनी नै पहिलो प्रधानाध्यापक हुन्।
चेपाङ समुदायको बसोबास रहेका जिल्लामध्ये एक हो चितवन। चितवनको इच्छाकामना गाउँपालिका, राप्ती र कालिका नगरपालिकाका पहाडी क्षेत्रमा चेपाङ समुदायकै बाहुल्य छ। धादिङ, मकवानपुर र गोरखा जिल्लामा पनि चेपाङ समुदायको बसोबास छ।
यी जिल्लाका चेपाङ बाहुल्य क्षेत्रका आधारभूत विद्यालयहरूमा सोही समुदायका प्रधानाध्यापक र शिक्षकको संख्या बढ्दै गए पनि माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुने रामकृष्ण एक्ला हुन्।
उनी अहिले राप्ती नगरपालिकाको पहाडी गाउँ यौरालीटारस्थित गणेश माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन्।
प्रजा २०६६ सालमा उक्त विद्यालयमा शिक्षक नियुक्त भएका हुन्। त्यस बेला आठ कक्षासम्म पढाइ हुन्थ्यो। विद्यालयको भौतिक संरचना असाध्यै कमजोर थियो। एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता थियो। शौचालय थिएन। खानेपानी थिएन। उनी केही वर्षमा विद्यालयको प्रधानाध्यापक भए।
माध्यमिक तहको पढाइ सुरू भएको तीन वर्ष भयो। अहिले विद्यालयमा कक्षा कोठाको अभाव छैन। पिउनेपानी र शौचालयको राम्रो व्यवस्था छ। विज्ञान प्रयोगशाला छ, पुस्तकालय छ। छात्रावास पनि छ। विद्यालय भवन पक्की छ। प्रदेश सरकारको करिब दुई करोड बजेटमा विद्यालय बनेको हो। ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत आइसिटी ल्याब निर्माणाधीन छ।
‘मेरो समयमा चेपाङ समुदायका बालबालिका विद्यालय जानु नै ठूलो कुरो थियो। पाँच कक्षाभन्दा माथि पढ्न पाउनु त सपनामात्रै हुन्थ्यो। त्यसलाई चिर्दै पढाइ अघि बढाउन सकेँ,’ रामकृष्ण भन्छन् ‘आफूमात्रै शिक्षित भएर त भएन। म आफ्नो ठाउँमा शिक्षाको ज्योति फैलाउँदै बालबालिकाको पढ्ने चाहना पुरा गर्नुपर्छ भनेर लागिपरेको छु।’
प्रधानाध्यापक भएपछि उनले समुदाय र विद्यालयको अवस्थाबारे जानकारी गराउँदै आवश्यक संरचना निर्माणका लागि बजेटको व्यवस्था मिलाइदिन सरकारी निकायहरूसँग हारगुहार गरे। बिस्तारै उनको कुरा सुनुवाइ हुन थाल्यो। थोरै थोरै काम हुन थाल्यो।
गणेश माध्यमिक विद्यालयमा हाल ३५० जना विद्यार्थी छन्। तीमध्ये १७२ जना अर्थात करिब आधा विद्यार्थी चेपाङ समुदायका छन्। बाँकी तामाङ समुदायका छन्।
‘मैले चाहेको केही कुरा पूरा भएको छ। अझै धेरै काम गर्न बाँकी छ,’ रामकृष्ण भन्छन्, ‘म माध्यमिक विद्यालयको पहिलो हेडसर हुनुमात्रै ठूलो कुरो होइन। यो पदमा रहँदा मैले यहाँको शिक्षामा कति परिवर्तन गर्न सक्छु भन्ने कुरा महत्वपूर्ण हुन्छ। म विद्यालयमार्फत समाजमा परिवर्तन ल्याउन दिनरात खटेको छु।’
राप्ती नगरपालिकाको बाक्राङमा २०३६ सालमा जन्मिएका रामकृष्णको बाल्यकालको धेरै समय बाख्रागोठालो र मेलापातमा बित्यो।
उनी आठ वर्षको उमेरमा विद्यालय भर्ना भए। गाउँको विद्यालयमा दुई कक्षासम्म पढाइ हुन्थ्यो। फुर्सदका दिन पढ्न जान्थे। दुई कक्षा पास हुनु नै उपलब्धि थियो। यसपछि धेरैले पढाइ छाड्थे। रामकृष्णको पनि त्यही हुनेवाला थियो।
उनका बाबु मानबहादुर राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँले राजनीतिमा लागेका थिए तर निरक्षर थिए, सही गर्न पनि जान्दैनथे। एक दिन सरकारी कामको सिलसिलामा सदरमुकाम भरतपुरको एक कार्यालय पुगेका थिए। त्यहाँ उनले एउटा कागजमा सही गर्नु पर्ने भयो।
उनले आफू सही गर्न नसक्ने कुरा बताए। एक कर्मचारी प्याच्च बोले, ‘मान्छे मात्र राम्रो भएर के गर्नु! सही गर्न पनि जानेको रहेनछ।’
ती कर्मचारीको बोली गाउँमा नेता हुन थालेका मानबहादुरको मनमा बिझ्यो। यही घटनापछि मानबहादुरले इख राख्दै आफू नपढे पनि छोरोलाई पढाउने अठोट लिए।
बाबुले रामकृष्णलाई यौरालीटारस्थित एउटा प्राथमिक विद्यालयमा भर्ना गराए। घरबाट विद्यालय पुग्न दुई घण्टा हिँड्नु पर्थ्यो। दस वर्ष उमेरको बालक दैनिक चार घण्टा हिँड्नु चानचुने कुरा थिएन। चार घण्टा हिँडेर उनले तीन कक्षाको पढाइ पूरा गरे। त्यही वर्ष उनको गाउँमै पाँच कक्षासम्म पढाइ हुने भयो।
पाँच कक्षा पढेपछि चेपाङ विद्यार्थीको पढाइ सकिन्थ्यो। पूर्व-पश्चिम राजमार्गको उत्तरतर्फको पहाडमा पाँच कक्षामाथि पढाइ हुने विद्यालय नै थिएन। हिँडेर सहरका विद्यालय पुग्न सम्भव थिएन। छोराछोरी सहरमा राखेर पढाउन सक्ने आर्थिक हैसियत थिएन।
मानबहादुरले धादिङको महादेवस्थानमा रहेका आफन्तको घरमा राखेर छोरो पढाउने उपाय निकाले। त्यहाँको पिलभञ्ज्याङमा सात कक्षासम्म पढाइ हुने विद्यालय थियो। रामकृष्ण हजुरबुबा नाता पर्ने ज्ञानबहादुर प्रजाको घरमा बसेर कक्षा छमा पढ्न थाले। रामकृष्ण ज्यालादारी काम गरेर पढाइ खर्च जुटाउँथे।
‘यतिखेरसम्ममा मभित्र राम्रो पढेर गाउँमा केही काम गर्नुपर्छ भन्ने सोच विकास हुन थालेको थियो। हाम्रो चेपाङ समुदाय शिक्षाकै अभावले पछाडि परेको रहेछ भन्ने बुझ्न थालेको थिएँ,’ उनले भने, ‘पढाइ खर्च जुटाउन शनिबार दिनभर काम गर्थें। अरू दिन पढ्थेँ।’
दुई वर्ष धादिङमा पढेपछि थप पढाइका लागि उनी चितवनकै साविकको पिप्ले गाविसको गड्यौली (हाल राप्ती नगरपालिका) पुगे। त्यहाँ पनि उनका हजुरबा नाताका रामबहादुर प्रजा बस्थे। उनैको घरमा बसेर बुद्धशान्ति माध्यमिक विद्यालयमा आठ कक्षामा पढ्न थाले।
रामकृष्णले २०५५ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरे। लगत्तै उनी त्यतिखेरको लोथर गाविसको हर्राबिसौनीमा रहेको आधारभूत विद्यालयमा निजी स्रोतमा शिक्षक नियुक्त भए। शिक्षणसँगै सप्तगण्डकी बहुमुखी क्याम्पसमा शिक्षा शास्त्रमा भर्ना भए।
दुई वर्ष निजी स्रोतबाट पढाएपछि उनले आफ्नै गाउँको आधारभूत विद्यालय बाक्राङमा सरकारी दरबन्दीमा नियुक्ति पाए।
उनले गाउँका चेपाङ बालबालिकालाई पढाइमा प्रेरित गर्दै विद्यालय स्तरीय बनाउन मेहनत गरे।
‘आफू पढेको गाउँकै विद्यालयमा पढाउन पुग्दा मलाई सपना पूरा भएजस्तो लागेको थियो तर मान्छेको सपना त कहिल्यै पूरा नहुने रहेछ,’ उनले भने, ‘पाँच कक्षासम्म पढेपछि पढाइ छाड्नुपर्ने बाध्यता अझै पनि हटेको थिएन।’
उनको गाउँबाट दुई घण्टा पैदल दूरीको यौरालीटारस्थित गणेश निम्न माध्यमिक विद्यालयलाई माध्यमिक बनाउने संकल्प बोकेर उनी २०६६ सालमा सोही विद्यालयमा सरूवा भए।
हाल रामकृष्णको परिवार शिक्षित परिवारका रूपमा परिचित छ। उनकी बहिनी ज्ञानी चेपाङले नर्सिङमा स्नातक गरेकी छन्। छोरी सपना भण्डारा माध्यमिक विद्यालय नर्सका रूपमा कार्यरत छिन्। अर्की छोरी सिर्जना रामकृष्णसँगै गणेश माविमा पढाउँछिन्। उनी अहिले स्नातक तहमा विद्यार्थी छिन्।
छोरी शुभेच्छा सोही विद्यालयमा कक्षा १० मा छोराहरू शीतल कक्षा आठमा र अम्बर कक्षा चारमा पढ्दैछन्। श्रीमती सुनिता पनि पूर्वप्राथमिक शिक्षिका थिइन्। अहिले गृहिणी छन्।
रामकृष्ण चेपाङ समुदायका लगायत सबै बालबालिकालाई विद्यालय पुर्याएर पढाउनमा तल्लीन छन्।
उनी अभिभावकलाई आत्मनिर्भर बन्न पनि सिकाउँदै छन्। उनले आफ्नो घरमा मौरी पालन गरेका छन्। आँगनमै ५० घार मौरी पालेर उनी वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्छन्।
‘अभिभावकलाई समय व्यर्थमा खेर नफाल्न आग्रह गर्ने गरेको छु। म आफूले गरिरहेको कृषि कर्म उहाँहरूलाई देखाउँछु,’ रामकृष्ण भन्छन्, ‘मैले गर्दा भएको छ भने तपाईंहरूले गर्दा पनि हुन्छ, नपढेको मान्छेले पनि पैसा कमाउन सक्छ, तरिका सिक्न आउनुहोस् भन्ने गरेको छु। कतिपयले मेरो सिको पनि गर्नुभएको छ।’
अभिभावक आर्थिक रूपमा बलियो भएमात्र बालबालिका विद्यालय जाने वातावरण बन्छ भन्ने प्रधानाध्यापक रामकृष्णको मान्यता छ।
‘बालबालिका विद्यालय भर्ना भए पनि नियमित पढ्न नआउने समस्या धेरै छ। उनीहरू पैसा कमाउने काममा जान्छन्। अभिभावक सबल नभई यो समस्या समाधान हुँदैन। म आफ्नोतर्फबाट प्रयासरत छु,’ उनी भन्छन्, ‘स्वरोजगार बढाउन स्थानीय, प्रादेशिक र संघीय सरकारको सहयोग आवश्यक छ।’
गाउँमा शैक्षिक विकासका लागि व्यावसायिक बाख्रापालन, मौरीपालन, तरकारी खेती लगायतमा लगानी बढाउनुपर्ने उनको भनाइ छ।
रामकृष्ण प्रधानाध्यापक भएपछि विद्यालय अग्रगतिमा छ। उनले चाहेर पनि गर्न नसकेका कामहरू पनि छन्।
विद्यालयमा १४ जना शिक्षकको दरबन्दी छ तर सबै शिक्षकहरू प्राथमिक तहको दरबन्दीमा छन्।
निम्न माध्यमिक र माध्यमिक तहको दरबन्दी पाउन उनले गरेको प्रयास सफल भएको छैन।
यहाँको अर्को समस्या शिक्षक व्यवस्थापन हो। शिक्षकहरू स्थानीयबासीभन्दा बाहिरका बढी छन्। पहाडी क्षेत्र भएकाले टाढाबाट आएका शिक्षक टिकाउनै समस्या छ।
‘यहाँ पढाउने योग्यता भएका स्थानीय शिक्षक छैनन्, टाढाबाट आउनेलाई डेराकै समस्या छ,’ रामकृष्ण भन्छन्, ‘बाहिरबाट आएका शिक्षकलाई आवासको व्यवस्था गर्न पाए टिकाउन सकिन्थ्यो। शैक्षिक गुणस्तर पनि बढ्थ्यो।’
रामकृष्ण छात्रावासमा खाद्यान्न र विद्यालयमा दिवा खाजा जुटाउने प्रयासमा छन् तर सफल भएका छैनन्।
उनी भन्छन्, ‘स्थानीय तहले ३५ जना विद्यार्थी बस्न मिल्ने छात्रावास त बनाइदियो तर विद्यार्थीहरू त्यहाँ के खाएर बस्ने भन्ने भएको छ।’
कहिलेकाहीँ ‘गामबेसीको चेपाङ संरक्षण केन्द्र’ र ‘दि हिमालयन लाइफ’ जस्ता संस्थाले खाद्यान्न सहयोग गर्छन् तर स्थायी व्यवस्था हुन सकेको छैन।
गणेश माध्यमिक विद्यालयबाट यस वर्ष १६ जना विद्यार्थीले एसइईमा सहभागी हुँदैछन्।
‘बल्ल-बल्ल सञ्चालन गरिएको माध्यमिक विद्यालयमा बिस्तारै शैक्षिक पूर्वाधारहरूको विकास भइरहेको छ।
अब शैक्षिक गुणस्तर विकास गर्नुपर्छ भनेर हामी लागिपरेका छौं,’ उनले भने, ‘केही वर्षमा विद्यालयलाई नमूना बनाउने सपना छ। यसैका लागि बिदा पनि नभनी दिनरात विद्यालयमै खटेको छु।’
पिछडिएको समुदायका एक जना शिक्षकको दृढता र परिश्रमले समुदायमा शैक्षिक जागरण फैलाउँदैछ।