सुवास गुरुङको परिवार धादिङबाट बसाइ सरेर चितवनको मेघौली आएको छ दशक बढी भयो।
३६ वर्षे उनी अहिले मेघौलीमा रहेको बाराही जंगल लजको अपरेसन म्यानेजर हुन्। यहाँ लामो समय रहँदा उनले घर नजिकैबाट बग्ने नारायणीमा डल्फिन नाचेका कथा धेरै सुने। तर वर्षौंसम्म देख्न पाएनन्।
पाँच वर्षअघि नवलपरासीको अमलटारीदेखि त्रिवेणीसम्म हिउँदे चराको गणना गर्न जाँदा यो नदीमा पहिलोपटक डल्फिन देखेका थिए।
बिहीबार त अचम्मै भयो।
गोलाघाटभन्दा दुई किलोमिटर उत्तरतिर पर्ने आफ्नै गाउँ नजिक नारायणी नदीमा डल्फिन देखिएको खबर उनको कानमा पर्यो। उनले यो कुरा लजमा रहेका दस विदेशी र पाँच जना नेपाली पाहुनालाई सुनाए। उनीहरूलाई पनि लिएर डल्फिन हेर्न पुगे।
भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ को सीमा क्षेत्रमा पर्ने मेघौलीको न्युरेचोक नजिकैको स्यालबास पोस्टअगाडि नारायणी नदीमा पौडिरहेको डल्फिन हेर्न बिहीबार दिनभर मान्छेको भीड लागेको थियो।
'सुनेको तर कहिल्यै नदेखेको कुरा आफ्नै ठाउँमा प्रत्यक्ष देख्न पाउँदा मेरो खुसीको सीमा रहेन। स्वदेशी, विदेशी पाहुनाहरू पनि निकै खुसी हुनुभयो,' गुरुङले भने।
मेघौली क्षेत्रका संरक्षणकर्मी मनेषकुमार लिम्बुका अनुसार मंगलबार नवलपरासीको अमलटारी क्षेत्र, बुधबार राप्ती र बिहीबार दिनभर नारायणीको दोभान गोलाघाट क्षेत्रमा देखेको स्यालबास क्षेत्रमा डल्फिन देखिएको स्थानीयले बताएका छन्।
डल्फिन हेर्न यहाँ संरक्षणकर्मी, नेचर गाइड, पर्यटक र स्थानीयबासीको भीड लागेको लिम्बुले जानकारी दिए।
यो ठाउँ गोलाघाटबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्छ। गत पुसमा चितवन निकुञ्जको त्रिवेणी क्षेत्रमा एउटा डल्फिन देखिएको थियो।
२०२९ सालमा पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जको रेकी गर्न आएका निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवले निकुञ्ज स्थापना भएयता गोलाघाटको उत्तरतर्फ डल्फिन कहिल्यै नदेखेको बताए।
२०४२, २०४५, २०५१ सालमा पाँच वर्षभन्दा लामो समय चितवन निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर काम गरेका यादव निकुञ्जको कसरा, त्रिवेणी, तमासपुर, खोरियामुहान लगायत ठाउँमा डल्फिन देखिए पनि गोलाघाटको उत्तरतर्फ यति पर कहिल्यै नदेखिएको बताउँछन्।
'गोलाघाटभन्दा दक्षिणतर्फको खोरियामुहान क्षेत्रमा आठ वर्षअघि मैले डल्फिन देखेको थिएँ। त्यसभन्दा उत्तरतर्फ नारायणीमा म यहाँ छँदा देखिएको थाहा छैन,' उनले भने, 'यो त अचम्मै भयो। असाध्यै खुसीको कुरो सुनियो।'
यादवले राप्ती नदीमा भने कसरासम्मै डल्फिन देखेका थिए।
पहिले पहिले डल्फिनहरू कालीगण्डकी र त्रिशुलीको संगमस्थल देवघाट क्षेत्रसम्म पनि देखेको पुराना मान्छेहरूबाट उनले सुनेका थिए।
'पछि मान्छेको चहलपहल बढ्दै गयो, प्रदूषण बढ्यो, माछा मान्छेले खाइदिएपछि आहारा घट्न थाल्यो। डल्फिनहरू पनि ओरालो लाग्न थाले,' यादवले भने, 'अहिले फेरि उपल्लो क्षेत्रमा देखिन थाल्नु त सकारात्मक सन्देश हो।'
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नारायणी नदीको स्यालबास क्षेत्रनजिक डल्फिन देखिएको पुष्टि गरे।
उनका अनुसार यो डल्फिन भारतको गंगा नदीका सहायक नदीहरूमा पाइने ग्यान्जेटिक जातको हो। यो विश्वमै लोपोन्मुख मानिएको डल्फिनको एक जात हो। नेपालका साथै भारत र बंगलादेशमा मात्रै यो डल्फिन देखिन्छ।
यसको कुल संख्या बढीमा ३ हजार ५ सय रहेको मानिन्छ। नेपालमा यो जातका डल्फिन एक सयभन्दा कम रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको डल्फिन संरक्षण कार्ययोजनामा उल्लेख छ।
आचार्यले सन् २०१० मा गोलाघाट आसपासमा डल्फिन रेकर्ड भए पनि यति माथि आधिकारिक रेकर्ड नभएको बताए। यो डल्फिन आहारा खोज्दै उपल्लो क्षेत्रमा आइपुगेको हुनसक्ने उनले बताए।
'यिनीहरू नदीमा पानीको बहाव बढ्दै जाँदा उपल्लो क्षेत्रमा बसाइ सर्छन्। अहिले पानीको बहाव बढ्न थालेर माथि आएको हो। आहार खोज्दै आएको पनि हुन सक्छ। जे सुकै कारणले आएको होस् यो खुसीको कुरो हो,' प्रमुख संरक्षण अधिकृत आचार्यले सेतोपाटीसँग भने, 'जोडी आएको भए त अझै राम्रो हुन्थ्यो। प्रजननको सम्भावना हुन्थ्यो। अहिलेसम्म एउटा मात्रै देखिएको जानकारी छ।'
आचार्यले गण्डक ब्यारेजको संरचनाका कारण नेपालबाट बगेर गएका डल्फिन, गोहीहरूलाई फर्किएर आउन समस्या हुने गरेको बताए।
गण्डक ब्यारेजमा उपयुक्त संरचना नबनाइँदा नेपालका धेरै दुर्लभ प्राणी स्थायी रूपमै भरत पुग्ने गरेको उनले बताए।
'पहिलो कुरो त हाम्रा नदीहरूमा प्रदूषण बढ्दो छ। मानव चहलपहल बढिरहेको छ, माछा मार्ने क्रम नियन्त्रण भएको छैन,' उनले भने, 'यति हुँदाहुँदै पनि केही डल्फिन अझै नारायणीमा देखिन्छन्। ब्यारेजको संरचना यी प्राणी पुनः नेपाल फर्कन सक्ने खालका बनाउन सकियो भने अझ राम्रो हुन्थ्यो।'
कोसी र कर्णाली नदीमा नारायणीमा भन्दा बढी डल्फिन देखिन्छन्।
संरक्षणकर्मी हठन चौधरीले कोसी नदीमा एकै दिनमा २० वटासम्म डल्फिन देखिएको बताए।
'१०–१५ वषअघि त मैले कोसी नदी आसपासका बजारमा माछा भनेर डल्फिन बेचेको पनि देखेको थिएँ। पछि नेपाली सेनालाई भनेर यसमा कडाइ गरियो,' चौधरीले भने, 'कोसीमा अहिले पनि डल्फिन राम्रै देखिन्छ।'
दस वर्षअघितिर कोसीको बाँध फुट्दा धेरै डल्फिनहरू माथिल्लो क्षेत्रमा देखिएको उनले बताए।
'त्यसअघि डल्फिनको संख्या धेरै थियो, बाँध फुट्दा धेरै बगेर गए,' उनले भने, 'संरक्षणमा चासो नपुगेकाले होला सबैतिर घट्दो क्रममा छ।'
चौधरीले कर्णाली नदीमा भने एक दिनमा दुईवटासम्म डल्फिन देखेको बताए।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले कर्णालीको सहायक नदी गेरुवा र कैलालीको मोहना नदीमा पनि डल्फिन देखिने गरेको बताए।
'डल्फिन संरक्षणकै लागि भनेर छुट्टै विशेष योजना छैन। निकुञ्जको क्षेत्रभित्र हामीले संरक्षण गर्छौं। म विभागमा छँदा मेरो पनि सहभागितामा संरक्षणका लागि कार्ययोजना बनाइएको थियो,' उनले भने, 'विश्वका लापोन्मुख प्राणीमा सूचीकृत भएकाले संरक्षणका लागि विशेष कार्यक्रम भए अझ राम्रो हुन्थ्यो।'