चैत २४ गते दिउँसो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा जिल्ला प्रहरी कार्यालयले भरतपुर महानगरपालिकाको सहयोगमा तयार पारेको चेतनामूलक विद्यालय पाठ्यसामग्री विद्यालयहरूलाई हस्तान्तरण गर्दै थियो।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीलाई एउटा खबर आइपुग्यो– राष्ट्रिय मावि गंगानगरमा छात्राहरूमाथि शिक्षकबाटै दुर्व्यवहार भयो।
उक्त विद्यालयका दर्जनौं विद्यार्थीहरू आफैंलाई पढाउने शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अघिल्तिर आइपुगे। दुई जना शिक्षकविरूद्ध जाहेरी दिए।
प्रहरीले त्यही दिन दुवै शिक्षकलाई नियन्त्रणमा लिएर हिरासतमा राख्यो। हिरासतमा त्यसअघि नै माडीको सोमेश्वर उच्च माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सोही विद्यालयका शिक्षक र भरतपुर–१९ स्थित सर्वोदय बोर्डिङ स्कुलको कक्षा ७ मा अध्ययनरत छात्रामाथि बाल यौन दुर्व्यवहार गरेको अभियोग लागेका अर्का शिक्षक थिए।
उनीहरू कसैलाई छात्रालाई अश्लील फोटो, भिडिओ म्यासेज पठाएको, कसैलाई पढाउनेक्रममा यौनजन्य गतिविधि गरेर बाल यौन दुर्व्यवहार गरेको आरोप थियो। अर्का एक जना छिमेकमा डेरा लिएर बस्ने बालिकालाई पढ्नेक्रममा यौन दुर्व्यवहार गरेको आरोप लागेका पुरुष थिए।
'बालबालिकामाथि हुने विभिन्न किसिमका हिंसा, उनीहरूले अन्जानमा गर्ने लागुऔषध सेवन, धूमपान, मद्यपान, साइबर अपराध बढिरहेका छन्। यस्ता विषयमा उनीहरूलाई बेलैमा सचेत बनाउन सक्नुपर्छ भनेर पुस्तक प्रकाशन गरी प्रधानाध्यापकहरूलाई हस्तान्तरण गर्दै थियौं, नयाँ घटनाको खबर आइपुग्यो,' एसपी अधिकारीले भने।
उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बालयौन दुराचारका पाँच, गत वर्ष दस र यस वर्ष सात मुद्दा दर्ता भएका थिए।
उनले बालबालिकाहरू लागुऔषध दुर्व्यसनीमा फस्नेक्रम पनि बढ्दो रहेको बताए। जिल्ला प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषध दुर्व्यसनीमा संलग्न दुई जना बालबालिकालाई पक्राउ गरिएकोमा यस वर्षको फागुनसम्ममा पाँच जना पक्राउ परेका छन्।
तीन वर्षको अवधिमा लागुऔषध दुर्व्यसनीको अभियोगमा पक्राउ गरिएका ३४० जनामध्ये ३२.४ प्रतिशतले १५ वर्षभन्दा कम उमेरमा पहिलो पटक सेवन गरेको देखिएको छ। ४८.९ प्रतिशतले १५ देखि १९ वर्षमा पहिलो पटक सेवन गरेको भेटिएको छ।
अपराधका घटनामा बालबालिकादेखि युवा अवस्थाका विद्यार्थीहरू प्रभावित हुन थालेपछि प्रहरी कार्यालयले चेतनामूलक पाठ्यसामाग्री तयार पारेको छ।
'यसका साथै प्रविधिमा पहुँच बढ्दै जाँदा सामाजिक सञ्जाल बालबालिकाहरूका लागि जोखिमपूर्ण बन्दैछ। साइबर अपराधका घटनामा बालबालिका मुछिन थालेका छन्,' एसपी अधिकारीले भने, 'सुरूआतमा शिक्षक तथा विद्यार्थीलाई सचेत बनाउन सके उनीहरूमार्फत समाज सुरक्षित बन्दै जाने भएकाले प्रहरी कार्यालयले अग्रसरता लिएर पाठ्यसामग्री प्रकाशनमा ल्याएको हो।'
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले उक्त पाठ्यसामग्रीमा महिला तथा बालबालिकाविरूद्ध कस्ता अपराध हुन सक्छन्, सामाजिक अपराध भनेको के हो, घरेलु हिंसा र उजुरी दिने कार्यविधि के हो, आत्मरक्षा र बच्ने उपायहरू कस्ता हुन्छन्, ट्राफिक नियम कस्तो हुन्छ, आत्महत्या के हो, यसको संकेत र बचाउने उपाय के हुन्, असल मानिसका कर्तव्य र जिम्मेवारी कस्ता हुन्छन् जस्ता विषय समेटिएको बताए।
उनका अनुसार कुनै घटना भइहाले जानकारी गराउन सम्बन्धित निकायहरूको सम्पर्क नम्बर पनि पाठ्यक्रममा समावेश छ।
उक्त पाठ्यसामग्री पहिलो चरणमा भरतपुर महानगरपालिकाका सबै सरकारी, निजी विद्यालय र क्याम्पसका प्रमुखहरूलाई हस्तान्तरण गरिएको छ। बिस्तारै अन्य स्थानीय तहहरूसँग सहकार्य गर्दै जिल्लाभरका विद्यालयमा पुर्याउने लक्ष्य प्रहरी कार्यालयको छ।
'उहाँहरूले हामीले तयार पारेको सामग्रीलाई पाठ्यक्रममा समावेश गरेर विद्यार्थीहरूलाई सुसूचित गराउने प्रतिबद्धता व्यक्त गरी सम्झौता गर्नुभएको छ,' अधिकारीले भने, 'उहाँहरूले प्रतिबद्धता पूरा गर्नुभयो भने सुरक्षित समाज निर्माण गर्ने हामी सबैको अभियानमा ठूलो सहयोग पुग्छ।'
शारदा मावि, शारदानगरकी प्रधानाध्यापक एन्डिला रिजालले प्रहरी कार्यालयले उपलब्ध गराएको पाठ्यसामग्रीको प्रभाव बालबालिकामा देखिन थालेको बताइन्।
'एक दिन म यो पुस्तक लिएर कक्षामा पुगेँ। प्रहरी चारित्रिक (चालचलन) प्रमाणपत्रको विषयमा लेखिएका कुराहरू विद्यार्थीलाई सुनाएँ। त्यो कुरा सुनेपछि केही विद्यार्थीले निकै गम्भीर भएर प्रश्न गरे,' उनले भनिन्, 'उनीहरूलाई हामीले खराब काम गर्दा त्यसको रेकर्ड प्रहरीमा बस्ने रहेछ, त्यो रेकर्डले आफ्नो भविष्यलाई नै असर गर्ने रहेछ भन्ने कुराको बोध भयो।'
केही विद्यार्थीले फेसबुकमा 'जे पायो त्यही', अनुमतिबिना अरूको फोटो खिचेर पोष्ट गर्न नहुने रहेछ भनेर साथीहरूलाई सुनाएको थाहा पाएको उनले बताइन्। जानेर वा नजानेर अवाञ्छित क्रियाकलापमा लागेका, अपराधमा फसेका बालबालिकालाई सुधार्न यो पाठ्यसामग्रीले महत्वपूर्ण भूमिका खेल्ने प्रधानाध्यापक रिजालले बताइन्।
'यसलाई लागू गर्दा त्यस्ता बालबालिकाहरू आफ्ना समस्या खुलेर व्यक्त गर्न सक्छन्। अरूले उनीहरूमाथि गर्ने व्यवहारप्रति सचेत बन्छन्,' रिजाल भन्छिन्, 'बालिकाहरू पनि शिक्षकलाई समस्या सुनाउन सक्ने हुन्छन्। किशोरकिशोरीलाई विशेष फाइदा पुग्ने देख्छु।'
आफू कसरी पीडित भइरहेको छु भन्ने कुरा नै थाहा नपाइरहेका र पाएर पनि अभिव्यक्त गर्न नसकेका बालबालिकामा यसको अध्ययनले डर र दकस भागेर आँट र भरोसा पैदा गर्ने प्रधानाध्यापक रिजालले बताइन्।
यो विद्यालयले तहअनुसार स्थानीय विषय, नैतिक शिक्षा र सामाजिक शिक्षासँग जोडेर उक्त पाठ्यसामग्री अध्यापन गराउने तयारी गरेको छ।
भरतपुरस्थित सनराइज इंग्लिस स्कुलले पनि पाठ्यक्रम नै बनाएर एक हप्ता, पन्ध्र दिनमा कम्तीमा एक पटक पढाउने तयारी गरेको छ। उक्त विद्यालयका प्रधानाध्यापक शिवकुमार बगालेले विद्यार्थीमा पलाउन सक्ने अपराध मनोवृत्तिलाई निस्तेज पार्न सक्ने पाठ्यसामग्रीको आवश्यकता खड्किरहेको समयमा विद्यालयहरूले प्रहरी कार्यालय र महानगरपालिकाबाट उत्कृष्ट उपहार प्राप्त गरेको बताए।
'शिक्षक र प्रशासनको तहबाट बालबालिकालाई हिंसा, अपराधसम्बन्धी सामान्य ज्ञान त बेलाबेलामा दिने गरिएकै थियो,' बगालेले भने, 'अब पाठ्यसामग्रीमै समावेश गर्न सकिने भएको छ।'
सप्तगण्डकी बहुमुखी क्याम्पसले यो पाठ्यसामग्रीको केही प्रति पुस्तकालयमा राखेको छ। शिक्षक र विद्यार्थीहरूलाई यसको विषयमा जानकारी गराउन पनि थालेको क्याम्पस प्रमुख मणिराज महतोले बताए।
'प्रहरी कार्यालयले अहिले १९ वर्षसम्मका किशोरकिशोरीलाई लक्षित गरेर पाठ्यसामग्री प्रकाशित गरेको रहेछ। मैले स्नातक तहसम्म पढ्ने विद्यार्थीहरूलाई लक्षित गरेर यसमा परिमार्जन गर्नुपर्यो भनेर सुझाव दिएको छु,' क्याम्पस प्रमुख महतोले भने, 'उच्च मावि र स्नातक तहमा अध्ययन गर्ने धेरैमा आपराधिक मनोवृत्ति विकास हुँदै गएको म देख्छु। यस्ता सामग्रीले उनीहरूलाई मानसिकता बदल्नमा सहयोग पुग्न सक्छ।'
विद्यालय र क्याम्पस तहमा पढ्नेहरूलाई देशको सामान्य कानुनको विषयमा जानकारी गराउन पनि यस्ता सामग्री महत्वपूर्ण हुने उनले बताए।
चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले नेपालमा विकासका लागि सडक बनाउने, अन्य संरचना निर्माणमा मात्रै जोड दिने गरिएको तर बालबालिकालाई असल बनाउन कमै योजना बन्ने बताए।
'बालबालिकालाई असल र उनीहरूको चरित्र नैतिकवान बनाउन सके मात्रै वास्तवमा देशको विकास हुन्छ,' उनले भने, 'हामीसँग उनीहरूलाई असल बनाउने शिक्षाको अभाव भएको महसुस भयो। प्रहरीले यसमा केही भूमिका खेल्न सक्छ कि भनेर पाठ्यसामग्री बनाउने सोच आएको हो।'
एसपी अधिकारीले यो पाठ्यसामग्रीको कार्यान्वयन हुँदा बालबालिकालाई कुलत, विकृतिको दिशाबाट बचाउँदै असल नागरिक बनाउन सहयोग गर्ने बताए।
'लेटाङमा शिक्षकले छात्रामाथि दुर्व्यवहार गरे भनेर त्यत्रो घटना भयो। गैंडाकोटमा पनि त्यस्तै घटना भयो। चितवनमै यौन दुर्व्यवहारमा संलग्न शिक्षकहरू पक्राउ परेका पर्यै छन्,' अधिकारीले भने, 'हामीले त्यस्ता सबै तथ्यांक विश्लेषण गरेर पाठ्यसामग्रीमा समावेश गरेका छौं। यसलाई प्रधानाध्यापकमार्फत शिक्षक, विद्यार्थी, अभिभावक हुँदै समाजमा पुर्याउने हाम्रो लक्ष्य छ।'
एसपी अधिकारीले शैक्षिक सत्रको अन्त्यतिर विद्यालयहरूसँग सम्झौता गरिएको बताए। अहिले चुनावको माहोल भएकाले आगामी शैक्षिक सत्रबाट पाठ्यसामग्रीमै समावेश गरेर विद्यार्थीलाई पढाउने प्रतिबद्धता विद्यालयहरूबाट प्राप्त भएको उनले जानकारी दिए। पाठ्यसामग्री समयअनुसार परिमार्जन गर्दै लगिने पनि उनले बताए।
भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौड्यालका अनुसार यो पाठ्यसामग्रीलाई सबैको हात–हातमा पुर्याउने लक्ष्य छ।