औषधि उत्पादकले नेपालमै उत्पादन गर्न सकिने औषधि विदेशबाट ल्याउन रोक्नुपर्ने माग गरेका छन्।
भरतपुरमा जारी नेपाल फर्मा एक्सपो–२०२२ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलसँग भएको एक अन्तरक्रियामा औषधि उत्पादकले आयात बढ्दै जाँदा नेपाली औषधि उद्योगहरु धरासयी बन्ने बताए।
‘नेपालमै उत्पादन हुने औषधि विदेशबाट ल्याउनुपर्ने आवश्यकता छैन। बरू यहाँका उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थको आयातमा सहुलियत आवश्यक छ,’ नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले भने, ‘यसो गर्न सक्दा विदेशी मुद्राको सञ्चिती बढ्छ, देशलाई औषधिमा आत्मनिर्भर बन्न पनि सहयोग पुग्छ।’
उनले हाल नेपालमा वार्षिक ३० अर्ब रुपैयाँको औषधि (खोप बाहेक) आयात भइरहेको बताए। यसको ठूलो हिस्सा भारतबाट आयात हुन्छ। अहिले औषधिको मागको ५० प्रतिशतमात्रै नेपाली उद्योगले उत्पादन गरिरहेका छन्। यसलाई अहिलेकै अवस्थामा ७५ प्रतिशत पुर्याउन सकिने दाहालले बताए।
संघकाअनुसार नेपालमा अहिले ७२ वटा औषधि उद्योगहरु छन्। थप ३२ वटा स्थापनाको चरणमा छन्। पूर्व अध्यक्ष दाहालले राज्यले गम्भीर भएर नीति नबनाए अर्बौं लगानी भएका औषधि उद्योगहरु डुब्ने बताए। ‘हामी राज्यले निःशुल्क बाँढ्ने औषधिहरु यहीँ पर्याप्त उत्पादन गर्नसक्छौं। ती औषधिहरु आयात बन्द गरेर लगानीअनुसारको मूल्य तोकिदिनुपर्यो,’ उनले भने, ‘राज्यबाट आधारभूत संरक्षण चाहियो।’ उनले औषधिमा पाँच अर्बको कच्चा पदार्थ आयात गर्दा २० अर्ब रुपैयाँ बराबरको औषधि उत्पादन हुने गरेको बताए।
संघले औषधिको परीक्षणका लागि प्रविधियुक्त औषधि अनुसन्धानशाला स्थापना गर्न सरकारसँग माग गरेको छ। औषधि व्यवस्था विभागका सेवालाई प्रभावकारी बनाउन, औषधि उत्पादनका लागि आवश्यक मेसिनको खरिदमा सहुलियतमा ऋण, अनुदान, हाल नेपालमा नबन्ने औषधि तथा स्वास्थ्य सामग्रीका उद्योग स्थापनाका लागि आवश्यक निर्माण सामग्रीको आयातमा भन्सार छुटको माग संघले राखेको छ।
विभागका प्रवक्ता सन्तोष केसीले जनशक्तिको अभावमा विभागका कामहरु प्रभावकारी हुन नसकेको बताए। हाल विभागमा १ सय १५ जनामात्रै जनशक्ति रहेकोमा ६० प्रतिशतमात्रै प्राविधिक जनशक्ति रहेको भन्दै उनले यति जनशक्तिले चाहेर पनि सुधार गर्न नसक्ने बताए। ‘औषधि व्यवस्था विभागका कामहरु प्रभावकारी बनाउँदै उद्योगहरुका समस्या समाधान गर्न उच्च स्तरीय राजनीतिक प्रतिबद्धता आवश्यक देख्छु,’ उनले भने, ‘अहिले त जनताले हामीबाट ठूलो आशा गर्ने, हामी थोरै मात्र गर्न सक्ने अवस्था छ।’
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले औषधिमा स्थानीय उत्पादनलाई बढाउनुपर्छ भन्नेमा आफू सकरात्मक रहेको बताए। कच्चा पदार्थमात्रै आयात गर्दा फाइदा छ भन्ने जान्दा जान्दै पनि यसमा प्रोत्साहन गर्न नसक्नु राज्यको कमजोरी रहेको उनले बताए। ‘म यस विषयमा तपाईहरुसँग विशेष छलफल गर्न चाहन्छु। एक्स्पो सकिएलगत्तै हामी बसेर छलफल गरौं,’ उनले भने, ‘केही न केही गर्न सकिन्छ। सबै तथ्यांकसहित ठोस विषय लिएर आउनुस्।’
चितवनस्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा भएको एक्स्पोको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। भरतपुरमा भइरहेको आठौं संस्करणको नेपाल फर्मा एक्स्पोमा नेपालका साथै बहुराष्ट्रिय औषधि कम्पनीहरु पनि सहभागी रहेको संयोजक जिनारायण बहादुर क्षेत्रीले बताए। उनले अहिले स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने अवसर पनि भएको बताए।
एक्स्पोमा १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका १ सय ६० वटा स्टल छन्।