भाँचिएको खुट्टामा राखिएको रड निकाल्न मौलाकालिका अस्पतालमा भर्ना भएका एक बिरामीको भरतपुर अस्पतालमा मृत्यु भएको छ।
माडी-५ बेलुवाका रामप्रसाद तिवारीलाई उनका ज्वाइँ डिल्लीराम आचार्यले मंगलबार बिहान मौलाकालिका अस्पतालमा भर्ना गरेका थिए। भर्ना गरेको करिब २ घण्टामा उनको भरतपुर अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो।
'घरबाट वैशाखी टेकेर एम्बुलेन्समा पुग्नुभएको थियो। बिहान साढे ८ बजेतिर अस्पताल ल्याएर भर्ना गरें, १ घण्टापछि अपरेसन कक्षमा छिराएको मात्र थाहा छ,' आचार्यले भने।
उनकाअनुसार अपरेसन कक्षमा राखेको केही समयमा स्वास्थ्यकर्मीले हस्याङफस्याङ गर्दै बिरामीलाई स्ट्रेचरमा निकालेका थिए।
'बिरामीलाई एम्बुलेन्समा हाले, मलाई निजी कारमा चढ भने। कुनै जानकारी नदिई भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुर्याए,' आचार्यले सुनाए।
आकस्मिक कक्षमा छिराएको केही मिनेटमै मृत्यु भएको घोषणा गरिएको उनले बताए।
'म आफैंले बिरामी लिएर आएको छु, कुनै जानकारी नदिई अर्को अस्पताल लैजाँदा नै मलाई शंका लागेको थियो,' उनले भने, 'यता आफन्तले तोडफोड गर्छन् भनेर सरकारी अस्पताल लगेर मृतक घोषणा गरेका रहेछन्।'
मृतकका भाइ प्रजापति तिवारीले वैशाखी टेकेर हिँड्न सक्ने मान्छेको खुट्टाको रड झिक्दा मृत्यु हुनु चिकित्सकको लापरबाही भएको बताए।
'६ हप्तामा रड झिक्न आउनु भनेका थिए, समयमै आएर भर्ना गरियो। अरू कुनै समस्या थिएन,' उनले भने, 'मौलाकालिकामा भर्ना भएका बिरामीलाई एक्कासि भरतपुर अस्पतालमा पुर्याइयो भन्दा आश्चर्यमा परियो। सामान्य अवस्थामा देखेको मान्छेको मृत्यु भयो भन्दा त होस हवासै उड्यो।'
उनले अस्पतालले मृत्युको चित्तबुझ्दो कारण दिन नसकेको बताए।
मौलाकालिका अस्पतालका सञ्चालक डा.केशवराज भुर्तेलले अपरेसनका क्रममा अचानक जटिल समस्या देखिँदा बिरामीको मृत्यु भएको बताए।
'सामान्य अपरेसन थियो तर गर्दैगर्दा रगत बग्ने नसाबाट बोसो बगेर फोक्सोमा रोकियो। बिरामीलाई सास फेर्न गाह्रो भयो,' डा.भुर्तेलले भने, 'निकै प्रयास गर्दा पनि नभएपछि हतारमा भरतपुर अस्पताल लगियो।'
उनले मौलाकालिकामा भन्दा ठूलो उपचार समूह रहेकाले सरकारी अस्पताल लगिएको बताए।
मृतकका आफन्तहरुले भने रिफरको कागज नबनाई, कुरूवालाई जानकारी नै नदिई सरकारी अस्पताल लैजानुलाई शंका गरेका छन्।
उनीहरूले राम्रो अस्पताल नखोजी कुरूवालाई जानकारी नै नदिई सरकारी अस्पताल पुर्याइएको बताए।
मृतक तिवारी चितवन राष्ट्रिय निकुञ्जको बघौडा मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष हुन्।
गत चैत ११ गते स्थानीय सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उनी रूखको जरामा अल्झिएर लडेका थिए। लगत्तै माडीको बघौडा अस्पतालमा सामान्य उपचार गरेर उनलाई मौलाकालिका अस्पताल ल्याइएको थियो। खुट्टाको भाँचिएको हड्डी रडले जोडेपछि उनी वैशाखीको सहारामा हिँड्न सक्ने भएका थिए। ५ दिन अस्पताल बसेर डिस्चार्ज भएका तिवारी ४५ दिनपछि रड झिक्न आएका थिए।
'सामाजिक काम गर्दा खुट्टा भाँचिए पनि धन्न ज्यान जोगियो भनेर खुसी नै थियौं तर अस्पतालले ज्यान लिएरै छाड्यो,' मृतकका भाइ प्रजापति तिवारीले भने।