२०७७ सालको पुसमा पूर्व–पश्चिम राजमार्गको अमलेखगञ्ज–पथलैया सडकमा कारको ठक्करबाट पाटेबाघको मृत्यु भएको थियो। त्यसअघि सोही राजमार्गको कर्णाली–अम्रेनी सडकखण्डमा बसको ठक्करबाट बाघले ज्यान गुमाएको थियो।
कारले ठक्कर दिएको क्षेत्र पर्सा राष्ट्रिय निकुञ्ज र बसले ठक्कर दिएको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्छन्। यी दुई निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भएर बनेका राजमार्ग तथा अन्य सडकमा सवारी साधनको ठक्करबाट धेरै वन्यजन्तुको मृत्यु हुने गरेको छ।
राजमार्गमा सवारी साधनको उच्च गतिका कारण मानवीय क्षति हुनेक्रम पनि उस्तै छ। दुर्घटना भएको समयमा न्यूनीकरणका विषयमा बहस हुने गरे पनि त्यो गफैमा सीमित बन्ने गरेको थियो।
पछिल्ला केही महिनामा मधेस प्रदेश सरकारको सहयोगमा मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरेका कामहर भने वन क्षेत्रसँग जोडिएका सडकमा हुने दुर्घटना कम गर्न प्रभावकारी देखिएका छन्।
यस कार्यालय मातहतका विभिन्न पाँच स्थानमा राखिएको ‘राडर गनसहितको सिसिटिभी’ दुर्घटना नियन्त्रणमा सहयोगी बनेको छ।
मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नान्तिराज गुरूङले मधेस प्रदेश सरकारबाट प्राप्त राडर गनसहितको सिसिटिभी क्यामेरामार्फत् निगरानी बढाएर सवारी साधनको गति नियन्त्रणमा लिइएको बताए।
उनका अनुसार प्रदेश कार्यालय पथलैया, जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरी, सिराहा, महोत्तरी र बाराले निगरानी गर्ने गरी विभिन्न ठाउँमा सिसिटिभी र राडर गन जडान गरिएको छ।
बारा जिल्लामा पथलैयाबाट केही मिटर पश्चिम र पूर्वमा, सप्तरी र सिराहामा पनि पूर्व–पश्चिम राजमार्गमा र महोत्तरीको बर्दिबास–काठमाडौं सडकमा यो राखिएको छ। त्यसको निगरानी गर्न सम्बन्धित कार्यालयहरूमा ‘स्क्रिन डिस्प्ले’ राखिएको एसपी गुरूङले बताए।
‘तालिम प्राप्त ट्राफिक प्रहरी जनशक्तिले यसको चौबिसै घण्टा निगरानी गर्छन्,’ उनले भने, ‘उच्च गतिमा सवारी हाँक्ने चालकहरू दैनिक दर्जनौं कारबाहीमा पर्ने गरेका छन्।’
एसपी गुरूङले निरन्तरको निगरानीबाट वन क्षेत्रसँग जोडिएका सडकहरूमा दुर्घटनामा कमी आउन थालेको बताए।
पथलैया बजारभन्दा करिब पाँच सय मिटर पश्चिममा राखिएको राडर गनसहितको सिसिटिभी क्यामेराको निगरानी मधेस प्रदेश प्रदेश ट्राफिक कार्यालयले गर्छ।
कार्यालयमा रहेका ठूलो स्क्रिनले पूर्व–पश्चिम राजमार्गमा चलेका सवारी साधनहरूको गति देखाउँछ। त्यही स्क्रिनले देखाएको उच्च गतिको आधारमा यस कार्यालयले करिब डेढ महिनाको अवधिमा ३ सय २ जना सवारी चालकलाई कारबाही गरेको छ। त्यसअघि पथलैया क्षेत्रमा उच्च गतिमा सवारी हाँकेका कारण कारबाही हुने गरेको थिएन।
सिसिटिभी र राडर गनको निगरानीमा कारबाहीमा पर्ने सबभन्दा बढी निजी कारका चालक छन्। प्रतिघण्टा ६० किलोमिटर भन्दा बढी गतिमा सवारी साधन हाँक्ने निजी कारका चालक १ सय ५३ र यात्रुबाहक बस, मिनिबस, सुमोका चालक १ सय ३० जना कारबाही परेका छन्। वन क्षेत्रमा प्रतिघण्टा १ सय १५ किलोमिटरसम्म कार हाँक्ने गरेको भेटिएको छ।
वन क्षेत्रमा ४० किलोमिटर प्रतिघण्टा सवारी हाँक्नुपर्ने नियम भए पनि सुरूआती अवस्थामा सचेत गराउनेगरी केही छुट दिइएको एसपी गुरूङले बताए।
पाँचै ठाउँमा राखिएको यो प्रविधिको प्रयोग गरी चैत र वैशाखको दोस्रो सातामा गरेर १ हजार ६२९ सवारी चालक कारबाहीमा परेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाहीमा पर्नेमा सबभन्दा बढी कार चालक छन्। १ हजार २३९ जना कार चालकहरू उच्च गतिमा हाँकेका कारण कारबाहीमा परेका छन्।
बस, मिनिबस र सुमो चालक ३ सय २१ जना कारबाहीमा परेका छन्। यो अवधिमा ६० जना मोटरसाइकलका चालक र ९ जना मालबाहक ट्रक, टिपर र ट्याक्टर चालकहरू कारबाहीमा परेको कार्यालय प्रमुख गुरूङले बताए।
मधेस प्रदेश सरकारले करिब एक करोड रुपैयाँ खर्च गरेर राखिदिएको राडर गनसहितको सिसिटिभी क्यामेरामार्फत् करिब डेढ महिनाको अवधिमा १० लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको एसपी गुरूङले बताए।
‘हाम्रो लक्ष्य राजश्व उठाउने भन्दा पनि सडकमा हुने दुर्घटना नियन्त्रण गर्नु हो। तर यस क्रममा प्राप्त राजश्वको केही हिस्सामात्रै प्रयोग गर्ने हो भने पनि दुर्घटना नियन्त्रणमा प्रभावकारी हुने देखियो,’ गुरूङले भने, ‘यस्ता प्रविधिको प्रयोग बढाउँदै लैजान सके दुर्घटना तथा अपराध नियन्त्रणमा सहयोग पुग्छ।’
उनले कार्यालयमा रहेको स्क्रिनमा उच्च गतिमा गाडी हाँकिएको देखिएपछि नजिक ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई खबर गरेर नियन्त्रणमा लिइने गरेको बताए।
‘उच्च गतिमा सवारी नहाँक्न सल्लाह दिने, सचेत गराउने र आवश्यक परे कारबाही गर्ने गरेका छौं,’ उनले भने।
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखिए यहाँ जोडिएको राडर गनसहितको सिसिटिभी क्यामेराबाट सवारी साधनको पूर्ण विवरण पत्ता लगाउन सकिने र यो अपराध नियन्त्रणमा पनि सहयोगी हुने उनले बताए। तर अहिले इम्बोस्ड नम्बर प्लेट धेरै सवारी साधनमा नभएका कारण गति नियन्त्रणमा मात्रै ध्यान दिइएको गुरूङले बताए।
यस कार्यालयले कतिपय सडकमा हाते राडर गनमार्फत् पनि सवारी साधनको गति जाँच गर्दै आएको छ।
गत साउनदेखि वैशाखको तेस्रो सातासम्ममा ४ हजार १७४ सवारी चालकलाई उच्च गतिमा सवारी हाँकेका कारण कारबाही गरिएको छ।
हाते राडर गनमार्फत् कारबाहीमा पर्ने चालक सबभन्दा बढी मोटरसाइकलका छन्।
मोटरसाइकल चालक २ हजार ६७८, निजी कारका चालक ६ सय ३४ जना, बस, मिनिबस, सुमोका चालक ४ सय ६८ जना, मालबाहक ट्रक, टिपर, ट्याक्टर चालक ३ सय ९४ जना कारबाहीमा परेका छन्। ती चालकबाट २६ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन भएको एसपी गुरूङले बताए।
गत साउन महिनायता मधेस प्रदेशका सडकमा ४ हजार ५५२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ५ सय जनाले ज्यान गुमाएका छन्।
दुर्घटनामा २ हजार ६९ जना गम्भीर घाइते भएको र ५ हजार ५९२ जना सामान्य घाइते भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
यी सबै दुर्घटनामा सवारी साधनमा ९ करोड रुपैयाँभन्दा बढी लागतको क्षति भएको उक्त कार्यालयले जानकारी दियो। यहाँ हुने गरेका दुर्घटनाको मुख्य कारण सवारी साधनको उच्च गति नै रहेको एसपी गुरूङले बताए।
‘चेकजाँच, निगरानी बढाएपछि दुर्घटना घट्दो क्रममा छन्,’ एसपी गुरूङ भन्छन्।
सवारी साधनको चाप र उच्च गतिका कारण राष्ट्रिय निकुञ्जका जनावरहरूले सास्ती भोग्नु परेको छ। अण्डरपास, ओभरहेड पास नभएको राजमार्गमा वन्यजन्तु पनि सडकबाटै वारपार गर्ने गर्छन्।
पूर्व-पश्चिम राजमार्गको दुबैतर्फ पर्सा राष्ट्रिय निकुञ्जको जंगल छ।
यो जंगलको एकतर्फ रहेको बाघले अर्कोतर्फ जान ठूलो संघर्ष गर्नुपरेको स्टोरी हामीले प्रकाशित गरेका थियौं।
यो पनि :
बाटो काट्न निषेधाज्ञा कुर्यो एउटा बाघले!