काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरू गरेको छ।
काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा पहिलोपटक न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरू भएको हो।
दुई दिने सम्मेलन आज र भोलि हुनेछ।
'देशभर स्थानीय तहका न्यायिक समितिहरूमा के कस्ता कामहरू भइरहेका छन् र काम गर्दा के कस्ता चुनौती छन्। त्यसबारे चर्चा हुनेछ,' काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले भनिन्, 'कानूनमा के छ भनेर थाहा हुँदाहुँदै पनि काम गर्दा कठिनाइ आइरहेको हुन्छ। भएको कानूनलाई व्यवहारमा लागू गर्दा कुन कस्ता ठाउँमा कठिनाइ छ त्यसबारे कुरा र चर्चा हुनेछ।'
सम्मलेनका लागि महानगरले ७५२ वटा स्थानीय तहलाई नै निमन्त्रणा गरेको थियो।
दुई दिने सम्मेलनमा स्थानीय तहका पूर्व उपमेयरहरूले पनि आफ्नो कार्यकालमा न्यायिक समितिमा काम गर्दाको अनुभव साट्ने छन्।
त्यस्तै, न्यायसम्बन्धी पाँच वटा कार्यपत्र प्रस्तुति गरिनेछ। सम्मेलनपछि महानगरले देशभरका पालिकाहरूका न्यायिक समितिलाई दिशा निर्देश गरोस् भनेर घोषणापत्र समेत निकाल्ने महानगरले जनाएको छ।
यसभन्दा अघि गत वर्ष पोखरा महानगरपालिकाले पहिलोपटक न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको थियो।