पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ र ८ नम्बर वडा जोड्ने गिरूवारी खोलाको पुल लच्किँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।
सोमबार राति ७ः१५ बजे सवारी साधनको भारका कारण उक्त पुल लच्किएको पूर्वी नवलपरासी प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरी कार्यालयका अनुसार महेन्द्रनगरतर्फ जाँदै गरेको बस पुलको मुखमा बिग्रिएर रोकिँदा पूर्वपश्चिम राजमार्ग एकतर्फी भएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी मधु नेपालका अनुसार ठूलो बस र १८ चक्के गाडी एकैसाथ पुलमा आइपुगेपछि पुल चर्किएको थियो। अहिले दुवैतर्फका सवारी साधन रोकिएका छन्। यात्रुहरू राजमार्गमै अलपत्र परेका छन्।
'पुलमा क्षति पुगेपछि अहिले सवारी साधन आवतजावत बन्द गरिएको छ,' डिएसपी नेपालले भने।
तत्कालका लागि वैकल्पिक मार्गको खोजी भइरहेको पनि डिएसपी नेपालले बताए।
अहिले पूर्वी नवलपरासीका प्रहरी प्रमुख, सिडिओ र सडक विभागका अधिकारीहरु गिरूबारी पुगेका छन्।