कुकुरप्रति मानिसको सोख बढ्दो छ। पहिले पहरेदारका रूपमा लिइने कुकुर अचेल मान्छेको साथी बन्दैछ। महँगा विदेशी कुकुर पाल्नेक्रम बढ्दैछ।
तर नेपालकै वनहरू पाइने जंगली कुकुरको अवस्थाबारे न समुदायलाई थाहा छ न सरकारलाई। एसियाटिक वाइल्ड डग (ढोले) नेपालका जंगलहरूमा पनि रेकर्ड भएको जंगली कुकुर हो।
यो भारत, चीन, बंगलादेश, मलेसिया, इन्डोनेशिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस, भुटानलगायत मध्य, दक्षिण, सुदुर दक्षिण र पूर्वी एसियाका १३ वटा देशहरूमा पाइन्छ। तर यसको संख्या, अवस्थाको विषयमा अध्ययन, अनुसान्धान खासै भएको छैन।
मांसाहारी जीव ढोले प्रकृति संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था आइयुसिएनको दुर्लभ वन्यजन्तुको सूचीमा समावेश छ। सौराहामा भेला भएका १३ वटा देशका विशेषज्ञहरूले प्रस्तुत गरेको तथ्यांकले भने ढोले संकटापन्न अवस्थामा पुगिसकेको देखाउँछ।
नेपालमा सन् २०१० मा पहिलो पटक अनुसन्धानकर्ता अम्बिकाप्रसाद खतिवडाले यो जंगली कुकुरको विषयमा अध्ययन गर्न क्यामेरा ट्रयापिङ गरेका थिए। कञ्चनजंगा संरक्षण क्षेत्रमा राखेको क्यामेरामा समुद्र सतहबाट ३८ सय मिटर उचाईमा जंगली कुकुर ढोले कैद भएपछि खतिवडाले यसको विषयमा थप अनुसन्धान र संरक्षणका लागि काम गर्दै आएका छन्।
उनकाअनुसार नेपालमा अहिले ढोलेको संख्या २०० जति छ। यो हिमालदेखि तराईसम्म पाइन्छ।
'चितवन, पर्सा, बर्दिया, मकालु वरुण निकुञ्ज, अन्नपूर्ण, कञ्चनजंगा संरक्षण क्षेत्र, तीनजुरे मिल्के जलजले, उदयपुरको त्रियुगा वनमा जंगली कुकुर रेकर्ड भएको छ,' खतिवडाले सेतोपाटीसँग भने, 'यो तराईदेखि हिमालसम्मै छ तर यसको बासस्थान, आहारा, आनिबानीलगायत विषयमा पर्याप्त अनुसन्धान हुन सकेको छैन।'
कञ्चनजंगा क्षेत्रमा ढोले रेकर्ड भएपछि खतिवडाले नजिकको समुदायमा सचेतना अभियान चलाएका थिए। उनले विदेशबाट फण्ड ल्याएर जंगली कुकुर संरक्षणका लागि पशुधन बीमा कार्यक्रम सञ्चालन गरेका थिए।
'त्यहाँका मान्छेहरू यो जीवले आफ्नो पशु चौपाय खाएकोमा आक्रोशित थिए। मैले यसको महत्वको विषयमा जानकारी गराएर संरक्षणमा जागरूक गराउने प्रयास गरें। उनीहरूलाई जंगली कुकुर मार्न हुँदैन बरू क्षति गरेको अवस्थामा राहात उपलब्ध गराउँछौं भनेर मनाउने प्रयास गरें,' उनले बताए, 'जंगली कुकुर संरक्षणका लागि यस्तो काम अन्त कतै पनि भएको छैन।'
अहिले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पनि यसको विषयमा अनुसन्धान सुरू गरिएको छ। चितवन निकुञ्जको कोर क्षेत्रमा ४९ ठाउँमा क्यामेरा जडान गरेर ढोलेको विषयमा अनुसन्धान गरिरहेको रेञ्जर स्मृती लामाले बताइन्।
उनकाअनुसार यहाँ करिब २ वर्षअघिदेखि यसको विषयमा बुझ्ने र समुदायलाई बुझाउने काम भइरहेको छ।
'सुरूमा यहाँ यो जीव छ कि छैन भनेर बुझ्यौं। छ भन्ने भएपछि विद्यालय, समुदाय, नेचर गाइड, वन हेरालु, निकुञ्जका कर्मचारीहरूलाई यसको अवस्था, महत्व बारे बुझायौं। त्यसपछि बाघ गणनाको रेकर्ड हेरेर यसका लागि छुट्टै क्यामेरा राखेका छौं,' लामाले भनिन्।
उनकाअनुसार चितवन निकुञ्जको त्रिवेणी र ठोरी क्षेत्रमा ढोलेको बासस्थान छ।
'ठोरीका मान्छेहरूसँग कुरा गर्दा २०४८-०५० सालताका जंगलमा २४-२५ वटाको समूहमा जंगली कुकुर हिँडेको देखेको सुनाएका थिए। तर अचेल त्यति ठूलो समूहमा देख्ने कोही भेटिएको छैन। केही समयअघि एकै ठाउँमा १०-१२ वटा देखिए भन्ने मान्छेहरू भने भेटिए,' उनले सुनाइन्।
चितवन निकुञ्ज बन्नुअघि मान्छेहरू जंगलको जुनसुकै ठाउँमा पुग्न पाउँथे। उनीहरू वन्यजन्तुसँग आमनेसामने हुन्थे। निकुञ्ज बनेपछि खर खडाई खुलेको समयमा बाहेक जंगल भित्र छिर्न रोक लगाइयो।
'यही कारण पनि हुनसक्छ मान्छेहरूले अचेल कम देखेको। ढोले बाघभन्दा पनि लजालु प्राणी हो। हामी बाघ देख्नुलाई त भाग्यले देखियो भन्छौं यसलाई देख्न त त्योभन्दा ठूलो भाग्य चाहिन्छ जस्तो लाग्छ। सुँघेर धेरै कुरा थाहा पाउने क्षमता र लजालु स्वभावका कारण यो सितिमिती मान्छेको सामुन्ने देखापर्दैन,' उनले भनिन्।
अमेरिकाको कोर्नेल युनिभर्सिटीमा पढ्दै गरेकी तृष्णा रायमाझी पर्सा र चितवन निकुञ्जमा जंगली कुकुरको विषयमा अनुसन्धान गर्दैछिन्। उनले अहिलेसम्म गरेको अनुसन्धानले यसको संख्या चितवनमा भन्दा पर्सामा बढी रहेको देखाएको छ।
'बाघ र ढोले दुबै हिंस्रक जीव हुन्। यी दुबैले खाने आहारा उस्तै हो। त्यसले उनीहरू सकेसम्म एउटै क्षेत्रमा बस्दैनन्। पछिल्लो तथ्यांकले चितवनमा बाघको संख्या बढेको देखाउँछ। पर्सामा बाघको संख्या कम छ। चितवनमा धेरै बाघ भएकाले ढोलेले पर्सालाई आफ्नो क्षेत्र बनाएको हुनसक्छ,' रायमाझी भन्छिन्, 'पर्साका तीनवटा क्षेत्रमा यसको चहलपहल रहेको पाएकी छु। धेरै कुरा त अनुसन्धान पछि थाहा हुन्छ।'
उक्त क्षेत्रमा ३-५ वटाको समूहमा यो हिंड्ने गरेको उनले बताइन्।
रायमाझीले क्यामेरा ट्रयाप र साइन्स सर्भे (जीव, पाइला, दिसाको अध्ययन) मार्फत पर्सा र चितवनका विभिन्न क्षेत्रमा अनुसन्धान गरिरहेकी छन्। अनुसन्धानबाट जंगली कुकुरको संख्या, यसले के खान्छ, कहाँ बस्छलगायतका कुरा थाहा हुने उनले बताइन्।
ढोले क्यानडीड फेमेलीको एक सदस्य हो। स्याल, फ्याउरो, घरपालुवा कुकुर पनि यही फेमेलीका हुन्। सबैमध्ये ढोले बलियो, आक्रामक, सुगठित र ठूलो हुन्छ। यो खैरो रंगको हुन्छ। पुच्छर लामो र रौं झुप्प भएको हुन्छ। हिमालमा बस्ने जंगली कुकुरको शरीरमा बाक्लो र लामो रौं हुन्छ, तराईमा बस्नेको छोटो हुन्छ।
यो लामो दूरीको यात्रा गर्ने प्राणी हो। नेपालमा रहेका जंगली कुकुर भारतका निकुञ्जहरूमा पनि पुग्ने गरेको अनुमान छ। जंगलमा यसको प्रतिष्पर्धा बाघ, चितुवासँग हुन्छ। समूहमा बस्ने जंगली कुकुरहरूको क्षमता बाघ, चितुवासँग लड्ने र उनीहरूले जुटाएको आहारा खोस्नेसम्म हुन्छ।
यसले हिमालमा चौरी गाई, पहाड, तराईमा गाई, भैंसी, बाख्रालाई पनि सिकार बनाउने गरेको छ। घरपालुवा जनावरमा क्षति पुर्याउँदा यसको द्वन्द्व मान्छेसँग पनि देखिन्छ। चौरी गाईलाई मारेपछि मान्छेले लासमा विष हालिदिएको र त्यो खाएर जंगली कुकुर मरेको घटना पनि छन्। तर प्राय: मान्छेले जंगली कुकुरलाई स्याल, फ्याउरो ठान्छन्।
ढोले पाइने देशका विशेषज्ञहरूको समूह ढोल वर्किङ ग्रुपका नेपाल प्रतिनिधि अम्बिकाप्रसाद खतिवडाका अनुसार विश्वभरमा यो करिब २५ सय जति छन्। कुनै पनि संरक्षित क्षेत्रमा यसको संख्या २५० भन्दा बढी छैन। सामान्यतया २५० भन्दा बढी संख्या हुनुलाई उक्त क्षेत्रमा यो खतरामा छैन भनेर बुझ्न सकिन्छ।
'यसकारण पनि यो संसारमै संकटापन्न अवस्थामा पुगिसकेको छ भनेर अनुमान गर्न सकिन्छ,' खतिवडा भन्छन्, 'संरक्षणमा प्रभावकारी काम गर्न सकेनौं भने यो जीव लोप भएर जान सक्छ।'
खतिवडाले नेपालमा मान्छेसँगको द्वन्द्व, जंगलको विनास, जंगल मासेर गरिएका विकासका काम, रोग, जनचेतनाको कमी, जलवायु परिवर्तनलगायतका कारण जंगली कुकुरलाई खतरा रहेको बताए।
हात्ती, गैंडा, बाघको संरक्षणका लागि धैरै लगानी र कामहरू भएपनि जंगली कुकुरको संरक्षणमा सरकारी निकायको ध्यान जान सकेको छैन। जंगली कुकुरले क्षति पुर्याएमा राहत दिने व्यवस्था र केही ठाउँमा क्यामेरा राखेर अनुसन्धान सुरू गर्नुबाहेक सरकारी निकायको ध्यान यसमा पुगेको देखिँदैन।
खतिवडा कुनै पनि जीव लोप हुनु मानव जातिका लागि हानिकारक हुने बताउँछन्। हिंस्रक वन्यजन्तु मासिँदा अन्य साकाहारी वन्यजन्तु अस्वभाविकरूपमा बढ्ने र तिनले मान्छेलाई दु:ख दिने समस्या आउँछ।
'सबै प्रजातिको आ-आफ्नै महत्व छ। एउटामात्रै प्रजाति मासिँदा इको सिस्टममा असर पर्छ। त्यसैले संरक्षणको महत्व छ,' खतिवडा भन्छन्, 'बाघभन्दा पनि संकटमा रहेको ढोले संरक्षणका लागि सबैले सरकार र सरोकार राख्ने निकायलाई घचघच्याउनु पर्नेभयो।'
१३ देशका ४१ प्रतिनिधिले बनाउँदैछन् कार्ययोजना
जंगली कुकुर पाइने १३ वटा देशका प्रतिनिधिहरूले सौराहामा बसेर संरक्षणका लागि कार्ययोजना तयार पार्दैछन्। क्यानडीड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुपले चितवनमा दोस्रो अन्तर्राष्ट्रिय वन कुकुर सम्मेलन आयोजना गरेको हो।
पहिलो सम्मेलन सन् २०१९ मा थाइल्याण्डमा गरिएको थियो। उक्त सम्मेलनले ढोले पाइने मुलुकमा रहेका अनुसन्धानकर्ताहरूलाई एउटै समूहमा ल्याउने निर्णय गरेको थियो।
नेपालमा भएको दोस्रो सम्मेलनको संयोजन राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको हो। कोष सम्मेलनको सह-आयोजक पनि हो।
एसियाटिक वाइल्ड डग पाइने देशका ४१ जना प्रतिनिधि तथा विशेषज्ञहरू ७ दिनसम्म सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा बसेर संरक्षणको योजना तयार गर्नेछन्।
विश्वभरमा जंगली कुकुरको अवस्था के छ, के गर्न सकिन्छ भनेर छलफल गर्ने योजना रहेको आइयुसिएनकी ढोले अनुसन्धान विज्ञ समूहकी संयोजक डा.नुचारित सोंसासेनले बताइन्। उनले यो सम्मेलनले ढोलेको अवस्था र संरक्षणको विषयमा विश्वभर सन्देश दिने बताइन्।
वन तथा वातावरण मन्त्रालयका सचिव रेवतिरमण पौडेलले वन कुकुरको विषयमा अध्ययन र अनुसन्धान बढाउने बताए। उनले यसको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाए। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले कोषले ढोले अनुसन्धानमा नेतृत्वदायी काम गर्ने बताए।
आइयुसिएन ढोले अनुसन्धान विशेषज्ञ समूहका सदस्य समेत रहेका खतिवडाले सम्मेलनमार्फत ढोलेको विश्वव्यापी अवस्था पत्ता लगाएर भावी कार्ययोजना बनाउने बताए।
'यसले सम्बन्धित देशलाई ढोलेको संरक्षणमा झकझक्याउने काम गर्छ। यसको विषयमा अनुसन्धानमा सघाउँछ,' उनले भने, 'सम्मेलनको उद्देश्य संकटापन्न अवस्थामा पुगेको जंगली कुकसरलाई जोगाउने हो।'