चितवन राष्ट्रिय निकुञ्जमा गरिएको एक अध्ययनले वन्यजन्तुले आहारासँगै प्लास्टिकजन्य वस्तु पनि खाने गरेको देखाएको छ।
सन् २०२०, २०२१ र २०२२ मा निकुञ्जको कोर (भित्री) क्षेत्र र मध्यवर्ती वनको सीमा क्षेत्रमा गरिएको अध्ययनले वन्यजन्तुले घाँससँगै प्लास्टिक पनि खाने गरेको देखाएको हो।
सिसोबाना ट्रोपिकल बोटानिकल गार्डेन, चाइनिज एकेडेमी अफ साइन्सेज, युनान, चीनमा विद्यावारिधी गरिरहेका त्रिभुवन विश्वविद्यालय, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका उप–प्राध्यापक बलराम अवस्थीले वन्यजन्तुको गोबरमार्फत् भेल्लर (एक प्रकारको वनस्पति) को बीउको फैलावट विषयमा अध्ययन गरेका थिए। अध्ययनको क्रममा गैंडाको गोबरमा प्लास्टिकजन्य पदार्थहरू भेटियो। त्यसपछि बिउको फैलावटसँगै एक सिंगे गैंडाद्वारा प्लास्टिकको सेवन विषयमा पनि अध्ययन गरिएको थियो। यो अध्ययनमा राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका पूर्वप्रमुख डा.बाबुराम लामिछाने र स्कुल अफ इन्भाइरोंमेन्ट एन्ड जियोग्राफिकल साइन्स र युनिभर्सिटी अफ नोटिङगम, मलेसियामा आवद्ध किम मैककाँन्की पनि सन्लग्न थिए।
अवस्थीका अनुसार गैंडाको गोबरमार्फत भेल्लरको बीउको फैलावटबारे सन् २०२० मा अध्ययन भइरहेको थियो। भेल्लरको दाना गैंडाको स्वादिलो फल हो। यसलाई गैंडाको स्याउ पनि भनिन्छ। यसको अध्ययन क्रममा गैंडाको गोबरमा प्लास्टिकका टुक्राहरू देखिए। त्यसपछि बीउको फैलावटसँगै 'एकसिंगे गैंडाद्वारा प्लास्टिकको सेवन' विषयमा पनि अध्ययन गरिएको थियो।
'२५८ वटा गैंडाको ताजा गोबर परीक्षण गर्दा १०.१ प्रतिशत गोबरमा आँखाले देखिने प्लास्टिकका टुक्रा भेटिएको छ,' उनले भने।
सामान्यतया एकसिंगे गैंडाहरू जहाँ पायो त्यहीँ दिसा गर्दैनन्। धेरै गैंडाको दिसा गर्ने ठाउँ एउटै हुन्छ। उनीहरू गन्धले गोबरको थुप्रो भएको ठाउँ पत्ता लगाउँछन्। सकेसम्म थुप्रोमै पुगेर दिसा गर्छन्। अनुसन्धानकर्ताहरूले थुप्रोमा रहेको ताजा (झट्ट हेर्दा हरियो–कालो वा गाढा हरियो) गोबरको नमूना संकलन गरेका थिए। पुरानो गोबर भुसजस्तो हुने भएकाले नयाँ गोबर चिन्न गाह्रो हुँदैन। कतिपय नमूना गैंडाले दिसा गरेको प्रत्यक्ष देखेलगत्तै संकलन गरिएको थियो।
नमूना परीक्षण क्रममा सन् २०२० मा ७ प्रतिशत, २०२१ मा १३ प्रतिशत र २०२२ मा १० प्रतिशत गोबरभित्र प्लास्टिक भेटिएको डा. लामिछानेले बताए।
यो अध्ययन चितवन निकुञ्जको कोर क्षेत्र जयमंगला र मध्यवर्ती वनसँगको सीमा क्षेत्र इचेर्नी आसपासमा गरिएको थियो।
अध्ययन क्रममा मध्यवर्ती वनसँगको सीमा क्षेत्रमा भन्दा निकुञ्जको कोर क्षेत्रका नमूनामा बढी प्लास्टिकजन्य वस्तु भेटियो। चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा गरिएको अध्ययनमा १८ प्रतिशतमा र मध्यवर्ती क्षेत्रमा ६ प्रतिशत नमूनामा प्लास्टिक देखिएको हो।
अध्येताहरूले निकुञ्जको कोर र सीमा क्षेत्रका घाँसे मैदान तथा नदी नजिकका जंगलबाट पनि गोबरको नमूना संकलन गरेर परीक्षण गरेका थिए। घाँसे मैदानमा भन्दा नदी वारिपारिका जंगलका नमूनामा धेरै प्लास्टिकजन्य वस्तु भेटिएका थिए। घाँसे मैदानमा ८ प्रतिशत र नदी नजिकका जंगलमा १२ प्रतिशत प्लास्टिकजन्य वस्तु भेटिएको हो।
'बर्खामा नदी, खोलाहरूमा आएको बाढीसँगै फोहोर तथा प्लास्टिक बग्छन्। पानी घट्दा प्लास्टिक खोला आसपासका जंगल र नजिकका घाँसे मैदानतिर अड्किन्छन्। त्यही ठाउँ गैंडाको मुख्य वासस्थान पनि हो,' लामिछानेले भने, 'निकुञ्ज घुम्न जाने पर्यटकले पनि चाउचाउ, चुरोट, बिस्कुट, पेय पदार्थका खोल/बिर्को, बोतल र प्लास्टिक जथाभावी फाल्ने गरेको पाइन्छ। गैंडाले सिधै प्लास्टिक नै त खाएन होला। घाँस खाने क्रममा त्यसभित्र प्लास्टिक परेको हुन सक्छ।'
हात्ती, भालु लगायतका वन्यजन्तुले फोहोरको थुप्रोमै पनि आहारा खोज्ने गरेको भेटिएको छ। तर गैंडा फोहोरको थुप्रोबाट टाढै रहने जीव हो।
यो अध्ययन सुरू हुँदा नेपालमा कोरोना महामारीले लकडाउन थियो। निकुञ्ज क्षेत्रमा पर्यटकले प्रवेश पाएका थिएनन्। त्यसैले अध्ययनकर्ताले त्यसपछिका वर्ष गोबरमा प्लास्टिकको मात्रा कम भेटिएला भन्ने ठानेका थिए। तर त्यस्तो भएन।
'तुलनात्मक रूपमा मानव चहलपहल बढी हुने भएकाले फोहोर पनि मध्यवर्ती क्षेत्रसँगको सिमानातिर बढी हुन्छ। हामीले सीमा क्षेत्रका नमूनामा बढी प्लास्टिक भेटिने सोचेका थियौं तर निकुञ्जको कोर क्षेत्रमा पो धेरै भेटियो,' लामिछानेले भने, 'यसले गैंडा छोटो अवधिमा आहाराको खोजीमा भित्र र बाहिर हिँडिराख्छ भन्ने पनि देखाउँछ।'
गैंडाको एक पटकको गोबरको तौल औसत १८ किलोजति हुन्छ। परीक्षणका लागि ताजा गोबरको एक चौथाई नमूना निकालिएको थियो। तत्कालै प्लास्टिक देखिएको अवस्थामा थप गोबर पनि जाँच गरियो।
अध्येताहरूले सन् २०२० मा ११६, २०२१ मा १०४ र २०२२ मा ३८ गोबरको नमूना अध्ययन गरेका थिए।
सो क्रममा कम्तीमा ८ प्रकारका प्लास्टिक पहिचान भए। दुई प्रकारको पहिचान हुन सकेन।
आठमध्ये दुई प्रकारका प्लास्टिक कडा खालका थिए। गोबरभित्र कडा खाले प्लास्टिक र चिसो पेयपदार्थको बोतलको बिर्को पनि भेटियो।
बाँकी ६ प्रकारका प्लास्टिक नरम खाले भेटिए।
गुट्खाका प्याकेट ९ वटामा, प्लास्टिक झोला ६ वटामा, बिस्कुटका खोल ५ वटामा, रबर ब्यान्ड, चकलेटको खोल, स्याम्पूको प्याकेटको खोल सबैमा एक/एक वटा भेटिएका थिए।
अधिकांश गोबरमा पहिलो नजरमै प्लास्टिकका टुक्रा देखिएका थिए। २६ वटा नमूनामा प्लास्टिकजन्य वस्तु भेटिएकोमा २१ वटामा पहिलो नजरमै प्लास्टिकका साना टुक्रा देखिएका थिए। एउटै नमूनामा तीन वटासम्म प्लास्टिक झोला र रबर ब्यान्ड, दुई वटासम्म कडा प्लास्टिक र स्याम्पूको प्याकेट भेटिएको थियो।
समुद्री जीवको मृत्युको मुख्य कारण प्लास्टिक प्रदूषण मानिन्छ। ह्वेल माछाजस्ता ठूला जीवहरूको मृत्यु पनि प्लास्टिककै कारण भएको पाइन्छ। वन्यजन्तुमा प्लास्टिकको असरबारे रिपोर्ट भने कम आउने गरेको लामिछाने बताउँछन्।
'पर्यावरणमा प्लास्टिक नष्ट हुन समय लाग्छ। तर जथाभावी फाल्ने क्रम बढेको छ। सम्भवतः अब यसले वन्यजन्तुमा पनि ठूलो समस्या ल्याउन सक्छ,' उनले भने, 'केही अध्ययनले पुष्टि गरेको छ कि प्लास्टिक प्रदूषण संकटापन्न अवस्थामा रहेका ठूला जीवसहित धेरै वन्यजन्तुका लागि मानवनिर्मित समस्या हो।'
नेपाल र भारतमा गरेर अहिले करिब चार हजार एकसिंगे गैंडा छन्। विगतमा यो प्रजाति बंगलादेश, भुटान र पाकिस्तानमा पनि पाइन्थ्यो। मानव अतिक्रमण, वासस्थान विनास र अवैध सिकारका कारण ती देशमा यसको विनास भयो। अपर्याप्त घाँसे मैदान, जलवायु परिवर्तन, बाढीको जोखिम, बाघको आक्रमण, आपसी लडाइँ (वासस्थानको कमीले) गैंडाका लागि मुख्य दीर्घकालीन खतरा हुन्।
विज्ञहरूका अनुसार दुर्लभ गैंडाले प्लास्टिक सेवन गर्नु उसको स्वास्थ्य र संरक्षणका लागि ठूलो खतरा हुन सक्छ। प्लास्टिक खाँदा पेटमा समस्या वा विषको असर भएर मृत्युको कारण बन्न सक्छ। उत्तर भारतमा गरिएको एक अध्ययनले ३२ प्रतिशत हात्तीको गोबरमा प्लास्टिक भेटिएको थियो। श्रीलंकामा हात्तीको मृत्युको कारण प्लास्टिक नै बनिरहेको छ।
नेपालमा गैंडाको सिकार गर्ने क्रम अचेल घटेको छ। तर बाघको आक्रमण, आपसी लडाइँ, बुढो भएर जस्ता प्राकृतिक कारणबाट गैंडाको मृत्युदर बढेको छ। प्लास्टिकका कारण मृत्युको जानकारी भने अहिलेसम्म छैन।
'यो अध्ययनले गैंडाको गोबरमा प्लास्टिकको टुक्रा कम देखाएको छ किनकि हामीले केबल आँखाले देखेका प्लास्टिक मात्र रेकर्ड गरेका थियौं। र, निकुञ्ज, मध्यवर्ती क्षेत्रभरी सबै गोबर खोजेर जाँच गरिएन। छुट्टै अध्ययन गर्ने क्रममा गोबरमा प्लास्टिक देखिएपछि हामीले त्यसलाई पनि ध्यान दिएर हेरेका हौं,' डा. लामिछानेले भने, 'अब गैंडाको गोबरभित्र म्याक्रो र माइक्रो प्लास्टिकको विस्तृत जाँच आवश्यक देखिएको छ। अन्य वन्यजन्तुमा यसको प्रभावको पनि अध्ययन हुनुपर्छ। साथै वन्यजन्तुको वासस्थानमा प्लास्टिक प्रदूषण स्रोतको रेकर्ड पनि राख्नुपर्नेछ।'
धेरै जनावरका लागि प्लास्टिक नयाँ समस्या बनेको हुन सक्ने उनले बताए। पाचन प्रणालीबाट गोबरमा निस्किँदा पनि प्लास्टिक नष्ट नहुने भएकाले त्यसलाई फेरि अन्य वन्यजन्तुले खान सक्छ।
'पहिले यो कुरा थाहा थिएन। हामीले अध्ययन गर्दा भेटियो। यसको रोकथामका लागि अब गैंडाका सबै वासस्थानका साथसाथै वासस्थान नजिकैबाट बहने नदी, त्यसका सहायक नदीको क्षेत्रमा बृहत फोहोर व्यवस्थापन रणनीतिको अवश्यकता छ। तत्कालका लागि गैंडाको वासस्थानमा जम्मा भएका प्लास्टिकजन्य फोहोर हटाउन बर्खालगत्तै अभियान चलाउनुपर्छ,' लामिछाने भन्छन्, 'प्लास्टिक प्रदूषण गैंडा मात्रै नभएर अन्य वन्यजन्तुका लागि पनि खतरा बनेको छ। फोहोर व्यवस्थापन गर्न सकियो भने समान वासस्थान भएका अन्य जनावरलाई पनि लाभ हुनेछ।'
माछा खाएर जीवन निर्वाह गर्ने बिरालो 'फिसिङ क्याट' को विषयमा अनुसन्धान गर्दै आएकी रमा मिश्रले त्यसको गोबरमा प्लास्टिक मात्रै नभएर सिसाका टुक्रासमेत भेटेको बताइन्। उनले कोशी टप्पू वन्यजन्तु आरक्षमा गरेको अध्ययनमा गोबरभित्र सिसाको टुक्रा भेटिएको थियो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नदीले बगाएर ल्याएको प्लास्टिकजन्य फोहोर व्यवस्थापन निकुञ्जका लागि चुनौतीपूर्ण रहेको बताए।
'राप्ती र नारायणीको बाढीले बगाएर ल्याएका प्लास्टिक निकुञ्जका वन तथा घाँसे मैदानमा अड्किएर बस्छन्। यसको असर वन्यजन्तुमा परिरहेको छ,' तिवारीले भने, 'यसलाई नियन्त्रण गर्न मुहानबाटै फोहोर व्यवस्थापन गर्नुपर्छ। मुहानदेखि यहाँसम्म आइपुग्दा धेरै प्रदेश र स्थानीय तह छन्। यो कुनै निकुञ्ज वा वन कार्यालयले चाहेर मात्रै समाधान हुने विषय होइन। तीनै तहको सरकारको चासो चाहिन्छ। सबै मिलेर रणनीतिक योजना ल्याउनु आवश्यक छ।'
वन्यजन्तुमा प्लास्टिकजन्य फोहोरको प्रभावबारे सरकारी तवरबाट कुनै अनुसन्धान नभएको तिवारीले बताए।
'यस विषयमा अध्ययनको खाँचो छ। त्यसको आधारमा रणनीति बनाउनुपर्छ,' उनले भने।
चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिंगे गैंडा, पाटे बाघ, घडियाल गोही, चितुवा, हात्ती जस्ता संकटापन्न प्रजातिको संरक्षणका लागि महत्वपूर्ण छ। यहाँ ६८ प्रजातिका स्तनधारी, ५४४ प्रजातिका चरा, ५६ प्रजातिका सरीसृप र १२५ प्रजातिका माछा पाइन्छ। चितवन निकुञ्ज धेरै एकसिंगे गैंडा भएको संरक्षित क्षेत्रमा विश्वमै दोस्रो हो। सन् २०२१ को तथ्यांकअनुसार यहाँ ६९४ वटा गैंडा छन्।