मकवानपुरमा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
सोमबार साँझ करिब ७ बजे थाहा नगरपालिका-३, त्रिभुवन राजपथमा बसले ठक्कर दिँदा दुई जना पैदलयात्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुर छन्। उनीहरूको शव प्राथमिक स्वास्थ्य केन्द्र, पालुङमा राखिएको छ।
अन्य चार जना पैदलयात्री पनि घाइते भएका डिएसपी श्यामु अर्यालले जानकारी दिए। घाइते हुनेमा रघुनन्दन यादव, कमलेश कुमार साह, छेयाङ दोर्ज लामा र रामगुलाम चौधरी छन्।
यादव र साह गम्भीर घाइते रहेकाले उनीहरूलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर ल्याइएको छ। लामा र चौधरीको भने प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ।
दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको नेतृत्वमा टोली खटिएको थियो। उक्त टोलीले घाइतेको उद्धार गरी अस्पतालमा पुर्याएको हो।
डिएसपी अर्यालका अनुसार गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको ३ ख ५९९० नम्बरको बसले पैदलयात्रीहरूलाई ठक्कर दिएको हो। बसको ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
बसले सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई ठक्कर दिएपछि थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरमा पनि बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले बसका चालक थाहा नगरपालिका-५ बस्ने २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिएको छ।