फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंलाई उनकी श्रीमती ब्रिगिटले मुखमा धकेलेको भिडिओ भाइरल बनेको छ।
आइतबार राति भेइतनामको हानोइस्थित विमानस्थलमा म्याक्रोंकी श्रीमती ब्रिगिटले मुखमा धकेलेको भिडिओ भाइरल बनेको हो।
विमानस्थलमा ल्याण्ड भइसकेपछि एक अधिकारीले जहाजको ढोका खोलेका थिए। ढोका खोल्न बित्तिकै राष्ट्रपति म्याक्रों उनकी श्रीमती ब्रिगिटसँग कुराकानी गरिरहेका थिए। तर भिडिओमा उनी देखिएकी थिइनन्।
त्यसैबीच उनकी श्रीमती ब्रिगिटले उनको मुखमा हात लगेर धकेलेको देखिएको हो।
त्यसको केहीबेरमै दुबै जनासँगै जहाजबाट ओर्लिएको पनि देखिन्छ।
यसरी भिडिओ भाइरल बनेपछि कतिपयले श्रीमतीले हिर्काएको भनेर विश्लेषण गरेका छन्।
यद्यपि राष्ट्रपति म्याक्रोंले आफूहरू जिस्किरहेको प्रस्टीकरण दिएका छन्।
हानोइमै पत्रकारहरूसँग कुराकानी गर्दै म्याक्रोले भने, ‘जिस्किरहेका थियौं, बेलाबेलामा यसरी नै जिस्किन्छौं।’
राष्ट्रपति कार्यालय एलिसी प्यालेसले फ्रेन्च सञ्चार मिडियालाई उक्त दृश्य दुई जनाबीचको निकटताको क्षण भएको बताएको छ।
‘दुई जनाबीचको निकटता देखिन्छ। तर कन्स्पिरेन्सी थ्यौरिस्टहरूका लागि उपयुक्त थियो,’ कार्यालयले भनेको थियो।
फ्रान्स र भेइतनामबीच सोमबार एयरबस जहाज, रक्षा र अरू क्षेत्रमा दुईपक्षीय सम्झौता भएको थियो।