सशस्त्र प्रहरी बलले देशभरि झन्डै १ लाख ७० हजार विपद सूचक तयार पार्ने भएको छ।
विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका हुने भएकाले देशभरि करिब १ लाख ७० हजार विपद् सूचकको व्यवस्था गर्न लागिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
समुदायस्तरमा विपदसम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रुपमा कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको डिएसपी थापाले बताए।
'यसमा स्थानीय जनप्रतिनिधिहरूलाई सहभागी गराइन्छ। सशस्त्रकै अवकाशप्राप्त कर्मचारीहरूलाई सहभागी गराएर स्थानीयहरूको २५ जनाको टोली बन्छ। समूहले विपदको घटना भइहाले तत्कालै नजिक रहेको टोलीलाई खबर गर्छ। त्यसो हँदा विपदका घटनामा उद्धारका लागि चाँडै पुग्न सकिन्छ,' उनले भने।
यसका लागि सबै बाहिनी मुख्यालयले जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै वडाहरुमा २५ जनाको दरले विपद् सूचक समूह गठन गर्नेछ। जस अनुसार देशभरीका ६ हजार ७४५ वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५७५ जना विपद् सूचक तयार गरिने डिएसपी थापाले जानकारी दिए।
यसबाट विपद् सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोही अनुसार आफ्ना सुरक्षाकर्मी परिचालन र उद्वारमा सहजता हुने विश्वास मुख्यालयको छ। विपद् सूचक समूह तयार भएपछि उनीहरुलाई विपद् सचेतनामूलक प्रशिक्षण प्रदान गर्ने विपद् सिमुलेशन अभ्यासमा सहभागी गराउने योजना समेत रहेको डिएसपी थापाले जानकारी दिए।
'उहाँहरूलाई प्रशिक्षण पनि दिन्छौं। विपदका घटना भए तत्काल जानकारी गराउने र प्रहरी नपुग्दासम्म के-के गर्ने भनेर सिकाउँछौं,' डिएसपी थापाले भने।
यसैबीच सशस्त्र प्रहरी बलले समुदायमा विपद् उद्वारक पनि तयार गर्न लागेको उनले बताए। गत जेठ ७ गते सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित गोताखोर तालिम समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसैवर्ष सातवटै प्रदेशमा करिब १ हजार समुदाय विपद् उद्वारक तयार गर्ने योजना बताएका थिए।
सोअनुसार मुख्यालयले यसको तयारीस्वरुप मातहत कार्यालयमा विपद् उद्वारक स्वयंसेवक तालिम पनि शुरुवात गरेको डिएसपी थापाले जानकारी दिए। समुदाय विपद् स्वयंसेवक उत्पादनका लागि १८ दिनको तालिम दिइनेछ। त्यसमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले तालिम प्रदान गर्नेछन्।
प्रदेशस्थित सशस्त्र प्रहरी बलका मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी तत्काल १८ वटा तालिम संचालन गर्नेछ भने अन्य १ सय ४७ वटा तालिम आर्थिक वर्ष २०८२/०८३ मा संचालन गरिने जनाएको छ।
यस प्रकारका तालिमले समुदायस्तरमा विपद्बाट बच्न पूर्वतयारीका साथै विपद्का समयमा उद्वार तथा राहतको कार्यमा सहजता समेत हुने डिएसपी थापाले बताए।
सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँबाट समुदाय विपद् स्वयंसेवक तालिम शुरुवात भएको पनि डिएसपी थापाले जानकारी दिए। स्थानीय सरकार तथा सरोकारवाला निकायहरु सँगको समन्वयमा गणले ५८ जनाको लागि तालिम संचालन गरेको छ।
तालिमको क्रममा स्थानीय पालिकामा रहेका र अपुग भएमा सशस्त्र प्रहरी बलको सम्बन्धित कार्यालयमा रहेका विपद् उद्वारका सामाग्री प्रयोग गरिनेछ।
तालिमका लागि दक्ष प्रशिक्षकको व्यवस्था प्रशिक्षण प्रतिष्ठान तथा बाहिनी मुख्यालयहरुले गर्नेछन् भने प्राकृतिक विपद् जोखिम रहेका पालिकाहरुमा यसप्रकारको तालिम दोहोर्यार समेत गरिने सशस्त्र प्रहरी बलको योजना छ।