युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्ले ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन गरेको छ।
देशभरका युवा उद्यमीहरूलाई एउटै संरचनामा आबद्ध गर्दै सुशील पराजुलीको नेतृत्वमा सञ्जाल गठन गरेको हो।
पराजुली विगत लामो समयदेखि ई–कमर्स क्षेत्रमा संलग्न व्यवसायी हुन्। उनले भिडियो निर्माण कम्पनीको स्थापना गरेका छन् र डिजिटल मार्केटिङ अभियानमार्फत युवाहरूमा स्टार्ट अपको क्षेत्रमा आकर्षण गर्दै आएका छन्।
युवा सञ्जालको उद्धेश्य पनि युवा उद्यमी हरुलाइ एकताबद्ध गरी उनीहरुको हकहित, अनुभव आदानप्रदान, उद्यमशीलता प्रवर्धन तथा नीति निर्माण प्रक्रियामा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नु र व्यावसायिक गतिविधिमा संलग्न युवाहरूबिच सहकार्यको वातावरण तयार गर्नु रहेको परिषदले जनाएको छ ।
अध्यक्ष चयनपछि पराजुलीले युवाहरु रोजगारीको लागि भौतारिने र पलायन हुने भन्दा पनि देशमै अवसरहरु खोजेर उद्यमशीलता, नवप्रवर्तन, व्यापार व्यवसायको क्षेत्रमा सक्रिय भएर लाग्नु पर्ने बताएका छन् ।
'व्यवसाय केवल पैसा कमाउने माध्यम मात्र होइन, यो राष्ट्र निर्माणको एउटा बलियो खम्बा हो। अब समय आएको छ, हरेक युवा उद्यमी, हरेक युवा व्यवसायी बनेर देशलाइ आर्थिक रुपान्तरण गर्ने,' उनले भने।
सञ्जालमा तीन उपाध्यक्ष चयन भएका छन्। ई–कमर्स क्षेत्रमा सक्रिय युवा व्यवसायी राजकुमार अधिकारी, होटल तथा होस्टल व्यवसायमा क्रियाशील उद्यमी मनिषजंग शाही, र भाषा तालिम तथा ट्राभल कम्पनी सञ्चालन गर्दै आएका सुदीपराज पुरी उपाध्यक्ष पदमा चयन भएका हुन् ।
सचिवमा डिजिटल व्यवसाय क्षेत्रमा संलग्न आदर्श दाहाल चयन भएका छन्। सह–सचिवमा अनुज धिताल, कोषाध्यक्षमा सर्मीला खनाल र सह–कोषाध्यक्षमा सुरेन्द्र अधिकारी चयन भएका छन् ।
सञ्जालको कार्यसमितिमा सदस्यका रूपमा संकर खनाल, राज तामाङ, सन्दिप केसी, इन्दिरा लोहनी, सुरेन्द्र गुरुङ, रबिन शाह, रेसम कट्वाल र कल्पना बराल चयन भएका छन् ।
सञ्जालको कार्यकाल दुई वर्षको रहनेछ।
सञ्जाल गठन तथा पदाधिकारी चयनको अवसरमा आयोजित समारोहमा राष्ट्रिय युवा परिषदका बोर्ड सदस्य विनोद कुमार शाही, प्रमुख प्रशासनिक अधिकृत गेहनाथ गौतम, उपसचिव चन्दा थापा, शाखा अधिकृत रमेश भट्टराई लगायतको उपस्थिति थियो।