दाङको तुलसीपुरमा भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
आइतबार बिहान पौने ११ बजे तुलसीपुर-१३ बखरियामा भएको बस दुर्घटनामा परी दंगीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र ३७ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ३० जनामध्ये अधिकांसको अवस्था सामान्य छ। ६ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ।
स्कुल बसलाई ठक्कर दिएपछि अनियन्त्रित भई यात्रुबाहक बस पल्टिएको थियो।
दंगीशरण गाउँपालिका-२ कौवाघारीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको यात्रुबहाक बसले राप्ती राजमार्ग अन्तरगत तुलसीपुर-१३ बखरियामा आइपुगेपछि स्कुल बसलाई ठक्कर दिएको थियो।
तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति माविको विद्यार्थी छोडेर फर्किँदै गरेको रा १ ख ८७० नम्बरको बसलाई ठक्कर दिएपछि यात्रुबहाक बस दुर्घटनामा परेको प्रहरी निरीक्षक मगरले बताए।
बसको ब्रेक फेल भएपछि ओरालोमा अनियन्त्रित भएको हुनसक्ने प्रहरीको आंशका छ। दुबै बस प्रहरीको नियन्त्रणमा छन्।