सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता गणेश लामालाई सफाइ दिएको छ।
विशेष अदालतले दोषी ठहर गरेको मुद्दा उल्ट्याउँदै सोमबार न्यायाधीशहरू कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले गणेश लामालाई सफाइ दिएको हो।
२०७५ साउन २४ गते विशेष अदालतका न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्दै लामालाई एक वर्ष कैदको फैसला गरेको थियो।
एक करोड ४० लाख ५० हजार रुपैयाँ बिगोअनुसारको जरिवाना र सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो।
उक्त सजायविरूद्ध लामाले २०७५ कात्तिक ९ गते लामाले सर्वोच्चमा नेपाल सरकारलाई विपक्षी बनाएर पुनरावेदन दिएका थिए। सरकारले पनि लामाविरूद्ध पुस ९ मा पुनरावेदन दिएको थियो।
सर्वोच्चको वेबसाइटमा लामा पक्ष रहेको मुद्दामा ‘उल्टी’ उल्लेख गरेको छ भने सरकार पक्ष रहेको मुद्दामा ‘पुनरावेदन जिकिर नपुग्ने’ उल्लेख छ।
सम्पत्ति शुद्धीकरण विभागले लामाविरूद्ध २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
लामा हाल नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य हुन्।