नेपाली सेनाले बर्खास्त गरेकोविरूद्ध सर्वोच्च अदालत पुगेका पूर्वउपरथी प्रेम शाहीले निवेदन फिर्ता लिएका छन्।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले शाहीको माग बमोजिम नै निवेदन फिर्ता गरेको हो।
शैक्षिक प्रमाणपत्रमा उमेर फरक परेपछि उनी अवकाशमा जान लागेका थिए। शाहीले सेनामा आफ्नो जन्म मिति २०२२ पुस २० र २०२३ पुस २० गते भएका दुइटा प्रमाणपत्र पेस गरेका थिए। अघिल्लो जन्ममिति अनुसार अवकाश पाउने भएपछि पछिल्लो जन्ममिति कायम गरिदिन उनले सर्वोच्चमा मुद्दा हालेका थिए। सर्वोच्चले उनको पछिल्लो जन्ममितिलाई कायम गर्दै थप एक वर्ष सेनामा काम गर्न अन्तरिम आदेश दियो।
त्यही आदेशको आधारमा उनी जंगी अड्डा हाजिर हुन गएका थिए। तर उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यतिबेला आर्थिक अनियमितताको आरोप लगाउँदै सेनाले उनीमाथि छुट्टै अनुसन्धान अघि बढाएको थियो।
उनीविरूद्ध जंगी अड्डाले कोर्ट अफ इन्क्वाइरी गठन गरी सैनिक अदालतमा पेस गरेको थियो। उक्त अदालतले उनलाई बर्खास्त गरेपछि उनी सर्वोच्च पुगेका थिए।