काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि फरार रहेका तीन जना अदालतमा उपस्थित भएका छन्।
बुधबार काठमाडौं जिल्ला अदालतमा तीन जना प्रतिवादी हाजिर भएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले एक जनालाई पुर्पक्षको लागि थुनामा र दुई जनासँग १५/१५ हजार रुपैयाँ धरौटी माग गरेको उनले बताए।
सतीश न्यौपानेलाई इजलासले पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको छ।
विनञ्जय थापा र राजेन्द्र जिसीसँग भने १५/१५ हजार रुपैयाँ धरौटी माग भएको हो।
उनीहरूविरूद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो।
चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग गरी नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका कमाण्डर दुर्गा प्रसाईंले आन्दोलन गरेका थिए।
उक्त आन्दोलन भड्किएपछि निजी तथा सार्वजनिक संरचनामा समेत क्षति पुगेको थियो। आगजनी, तोडफोड र प्रहरीसँग झडप समेत भएको थियो।
पत्रकार सुरेश रजकको आगलागीमा परी मृत्यु भएको थियो। अर्का प्रदर्शनकारी सबिन महर्जनको गोली लागेर मृत्यु भएको थियो।
उक्त घटनामा सरकारी वकिलको कार्यालय काठमाडौंले ६५ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।
त्यसमध्ये ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाइएको थियो। जसमा दुर्गा प्रसाईं पनि एक हुन्।
उनी हाल कारागारमा छन्। यस्तै यस प्रदर्शनपछि मुद्दा लागेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशम्शेर राणा पनि अदालतमा हाजिर भई धरौटीमा रिहा भएका थिए।