खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।
विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको छ।
खानेपानी मन्त्री प्रदीप यादवको स्पष्ट निर्देशन, नीतिगत मार्गदर्शन र विभागीय टोलीको समर्पित प्रयासले यो सफलता सम्भव भएको विभागले जनाएको छ।
विभागले मुलुकभरका खानेपानी तथा ढल व्यवस्थापन परियोजनाहरूमा देखाएको तीव्रता र परिणाममुखी कार्यप्रगति यो उपलब्धिको मुख्य कारण भएको मन्त्री यादवले जानकारी दिए।
उनले भने, ‘जनताको आधारभूत आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हो। हामी परिणाम देखिने गरी काम गर्छौं, प्रगति अङ्कमा मात्र होइन, जनताको जीवनस्तरमा देखिनुपर्छ। आज जुन कुरा विभागले दोखाएको छ।’
खानेपानीका क्षेत्रमा विशेषगरी ग्रामीण भेगमा पहुँच नपुगेका क्षेत्रहरूमा सेवा विस्तारमा गरिएको प्रयास र काम पनि प्रशंसनीय रहेका उनको भनाइ छ।
यो उपलब्धिले अबको आर्थिक वर्षमा अझ बढी प्रतिबद्धता र पारदर्शिताका साथ विकास निर्माण कार्य अघि बढाउने उनले विश्वास व्यक्त गरे।
अघिल्लो आर्थिक वर्षमा विभागको वित्तिय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा चालु आर्थिक वर्षमा विभागले कुल ९० दशमलव १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘विभागको वित्तीय प्रगति ९० प्रतिशत पुगेको छ। यो विभागसहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो। रकमान्तरमा सहयोग गर्ने खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायत सबैमा विभाग अनुग्रहित छ।’
विगतका वर्षहरूमा तुलनात्मक रूपमा कम प्रगति हुँदै आएकोमा यस वर्ष विभागको वित्तीय प्रगतिमा उल्लेखनीय सुधार देखिएपछि सिङ्गो मन्त्रालय नै खुसी भएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्यले बताइन्।