नेपाल प्रहरीले तीन वटा तालिम प्राप्त कुकुर नि:शुल्क वितरण गर्ने भएको छ।
नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख डा. रामचन्द्र सत्यालले एक सूचना जारी गर्दै तीन वटा तालिम प्राप्त कुकुर वितरण गर्न लागेको बताएका छन्।
बिजुली नाम गरेको जर्मन शेफर्ड कुकुर, मोती नाम गरेको गोल्डेन रिट्रिभर र म्याक नाम गरेको जर्मन शेफर्ड कुकुर नि:शुल्क वितरण गर्न लागेको हो।
बिजुली ८ वर्ष, मोती ११ वर्ष र म्याक ९ वर्षको छ।
बिजुलीलाई खोजी तथा उद्धारको तालिम दिइएको छ।
मोतीलाई लागुऔषध खोजी एवं पहिचानको तालिम र म्याकलाई विस्फोटक पदार्थ खोजी एवं पहिचान गर्ने तालिम दिइएको छ।
यसअघि प्रहरीले न्यूनतम मूल्य निर्धारण गरेर इच्छुक दाता, बहालवाला एवं पूर्व प्रहरी कर्मचारी र अन्य सर्वसाधरण व्यक्तिहरूलाई वितरण व्यवस्थापन गर्न साउन २१ गते सूचना प्रकाशन गरेको थियो।
तर उक्त सूचना अनुसार कुकुर लिन आउने कोही नभएपछि नि:शुल्क वितरण गर्न लागेको हो।
यसमा बहालवाला प्रहरी कर्मचारीहरूलाई प्राथमिकतामा राखिएको छ। त्यसपछि पूर्व प्रहरी कर्मचारी र अन्य सर्वसाधरणलाई प्राथमिकतामा राखिएको छ।
प्रहरीले साउन २९ गते सूचना सार्वजनिक गरेको थियो। त्यसमा आवेदनहरू परेका छन्। एक हप्ताको सूचनाको समय पनि सकिसकेको छ। अब केही दिनमा परेका आवेदनहरूलाई केलाएर तीन जनालाई दिने वितरण गर्ने तयारी छ।