काठमाडौंको प्रहरी वृत्त महाराजगन्जको हिरासतमा थुनुवाहरूबीच झडप भएको छ।
मंगलबार अपराह्न ४ बजेतिर महाराजगन्ज वृत्तमा थुनुवाहरूबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार एक पुरूषको टाउकोमा चोट लागेको छ। उनको ग्रिन सिटी अस्पतालमा उपचार समेत भएको थियो।
जिल्ला प्रशासन कार्यालयमा चितवन रत्ननगर नगरपालिका-९ घर भई बूढानीलकण्ठ पासिकोट बस्ने ती पुरूषले भदौ २ गते शान्ति सुरक्षाको माग गरेका थिए।
उक्त निवेदन परेपछि महाराजगञ्ज प्रहरी कार्यालयमा ती पुरूष र अर्को पक्षका व्यक्तिलाई छलफल गर्न बोलाइएको थियो।
छलफलकै क्रममा प्रहरीलाई निवेदक फरार प्रतिवादी रहेको भनेर सूचना प्राप्त भएको थियो।
प्रहरीको आपराधिक पृष्ठभूमिमा हेर्दा पनि ती व्यक्तिमाथि २०७९ वैशाख १५ गते इलाका प्रहरी कार्यालय खैरहनीमा मुद्दा दर्ता भएर जिल्ला अदालत चितवनबाट ४७ लाख ५१ हजार ३५४ रुपैयाँ बराबरको जरिवाना देखाएको थियो।
त्यसपछि प्रहरीले उनी भाग्न सक्ने भन्दै नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको एसपी बोहराले बताए।
हिरासतमा राखेपछि भने ती पुरूष र अन्य थुनुवाहरूबीच विवाद भएको थियो। एकाएक उनीहरूबीच झगडा भएको एसपी बोहराले बताए।
गार्डका कमाण्डरले उनीहरूलाई छुट्याएका थिए। ती पुरूषको टाउकोमा सामान्य चोट समेत लागेको थियो।
महाराजगन्ज प्रहरीले पछि चितवन प्रहरीको अपराध अनुसन्धान शाखामा ती व्यक्तिको सजाय भुक्तानको अवस्था बुझेको थियो। जसक्रममा ती व्यक्तिले सजाय भुक्तान गरिसकेको खुलेपछि प्रहरीले आमाको जिम्मामा छाडेको थियो।
यस घटनापछि ती पुरूषले आवश्यक छानबिन गर्न माग गर्दै प्रहरी वृत्त महाराजगन्जमा निवेदन दिएका छन्। वृत्तले यस घटनाको पनि अनुसन्धान गरिरहेको छ।