जातीय विभेद गरेको भन्दै वडा सदस्यविरूद्ध प्रहरीमा जाहेरी परेको छ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १० का २६ वर्षीय रामबहादुर बिसुन्केले सोही वडाका वडा सदस्य ४२ वर्षीय हिमप्रसाद पाठकविरूद्ध जाहेरी दिएका हुन्।
वडा सदस्यले आफूमाथि जातीय विभेद गरेको, गाली गरेको भन्दै उनले जातीय विभेद तथा छुवाछुत कसूरमा बुधबार जाहेरी दिएका छन्।
बिसुन्केको जाहेरी दर्ता भएको छ। अब कानुनी प्रक्रियामा अगाडि बढ्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए।
'उजुरी दर्ता भएर कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौं। जातीय गालीहरू गरेको रेकर्डहरू पनि प्राप्त भएको छ। हामी अनुसन्धान गर्दैछौं,' उनले भने।
घटना साउन १९ गतेको हो।
रामबहादुर त्यो दिन दिउँसो खेतमा रोपाइँ गर्ने तयारीमा थिए। त्यसैले कुलोको एक भाग पानी आफ्नो खेतमा तेर्स्राएर आली लगाइरहेका थिए।
त्यही बेला पाठक आएर पानी कसलाई सोधेर लगाएको भन्दै आफूमाथि गाली गर्न सुरू गरेको जाहेरीमा उल्लेख गरिएको छ।
'रोपाइँ गर्न लागेकाले एक पाइप पानी लगाएको हुँ। बाँकी पानी तपाईंकै खेतमा गइरहेको छ भनेर भनेको थिएँ,' रामबहादुरले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ, 'त्यति भन्न नपाउँदै मुखमुखै लाग्छस् भनेर विभेद गर्दै गाली गर्नुभयो।'
आफूमाथि कुटपिट भएको पनि उनले बताए।
'विवाद हुँदै जाँदा नजिकैको घरमा गई खुँडासम्म बोकेर ल्याएर मार्ने धम्की दिनुभयो,' रामबहादुरले भने, 'पाठकको श्रीमतीले खुँडा खोस्नु भएकाले मलाई केही भएन।'
त्यसभन्दा अघि पनि सामन्य विवाद हुँदा पनि पाठकले आफूमाथि विभेद गर्ने गरेको उनको भनाइ छ।
वडा सदस्य भएर पनि सार्वजनिक स्थान, वडा कार्यालयमा, खानेपानी छुन नदिने, अपमानजनक व्यवहार गर्ने गरेको उनको भनाइ छ।
पटक पटक जातका आधारमा विभेद र अपमानजनक व्यवहार गर्ने भएकाले पाठकविरूद्ध जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ) ऐन २०६८ को दफा ३ र ४ बमोजिमको कसूर गरेकाले सोही ऐनको दफा ७ अनुसार सजाय र क्षतिपूर्ति माग गरेको उनले बताए।
'प्रहरीमा उजुरी दिएपछि धम्की दिएका थिए। त्यसको रेकर्डसमेत बुझाएको छु, न्यायको आस गरेको छु,' उनले भने, 'यस अघि साउन २६ गते प्रहरीमा उजुरी दिएको दिए। त्यसलाई पुन सच्चाएर आज दिएको हो।'
वडाध्यक्ष सरोज पाण्डेका अनुसार विवाद भएको ६ दिनपछि मात्र यसबारे थाहा भएको थियो। दुई पक्षलाई बोलाएर छलफल पनि गरेको उनले बताए।
'रामबहादुरले कानुनी रूपमा अगाडि बढ्ने अठोट लिएपछि जानुहोस् भनेर पठाइदिएको हुँ,' वडाध्यक्ष पाण्डेले भने, 'पाठकले पनि श्रीमतीलाई जोडेर गाली गरेपछि आफूले पनि रिसको झोकमा बोलेको बताएका छन्।'
आपसी समझदारी अगाडि नबढ्ने र कानुनी प्रक्रियामा जाने भनेपछि आफूले अवरोध नगरी सहयोग गरेको वडाध्यक्ष पाण्डेले बताए।