कृष्णा थापा र डिफेन्डिङ च्याम्पियन भावना सुनवार दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
सातदोबाटोमा भएको सेमिफाइनलमा कृष्णाले विपना ब्लोनलाई ११–८, १२–१०, ७–११ र १२–१० तथा भावनाले स्वस्थानी श्रेष्ठलाई ११–३, ११–४ र ११–१ को सेटमा पराजित गरे।
पुरुष सिंगल्समा ज्ञानु चौधरीले सुदिपबहादुर सिंहलाई ९–११, ७–११, १३–११, ११–९ र १३–११, साविक उपविजेता अमृत थापा मगरले उमिद शाक्यलाई ११–४, ११–४ र ११–६ तथा साविक विजेता अरहान्तकेशर सिंहले सुगम तुल्सानलाई ११–४, ११–२ र ११–२ ले हराउदै सेमिफाइनलमा पुगे। प्रवीणवीरसिंह कंशाकार २–१ ले अगाडि रहेको स्थितिमा प्रतिद्वन्द्वी राजेन्द्र शाक्यले खेल त्यागेपछि विजयी घोषित हुँदै सेमिफाइनलमा पुग्न सफल भए।
जुनियर यु–१५ ब्वाइज सिंगल्समा गोपाल थापाले सञ्जय तामाङलाई ११–३, ११–४ र ११–९ तथा सलिन थापा मगरले विक्रम मगरलाई ५–११, ११–८, ५–११, ११–६ र ११–८ ले पाखा लगाउदै फाइनलमा स्थान बनाउन सफल रहे। सोही स्पर्धाको यु–१९ उमेरसमूहमा अमिर ब्लोन र दीपक थापा उपाधिका लागि भिड्ने भएका छन्। अमिरले आकाश सुनवारलाई ११–७, ११–७ र ११–७ तथा दीपकले विजय मगरलाई १३–११, ११–७ र ११–५ ले पन्छाए।
मास्टर्स खुला ४५ देखि ५४ वर्षको पुरुष सिंगल्समा श्रीबहादुर सिंहले मनोजबहादुर श्रेष्ठलाई ११–६, ११–२ र ११–५ ले निराश पार्दै फाइनलमा स्थान सुरक्षित गरे।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा स्क्वास संघका केन्द्रीय अध्यक्ष किशोर महर्जन, इन्द्रबहादुर कार्की र प्रेम सिंह सेमिफाइनलमा प्रवेश गरेका छन्।